हिन्दू र बौद्व धर्ममा पीपललाई देव वृक्ष अर्थात् देवताहरूको रुख मानिएको छ । स्कन्द पुराणमा भनिए अनुसार पीपलको बोटमा देवीदेवताहरूको वास हुन्छ । परापुर्व कालदेखि नै हिन्दू धर्ममा पिपललाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन् ।
मान्यताअनुसार पीपलको आराधना गर्नाले सम्पूर्ण देवीदेवताको आशीर्वाद प्राप्त हुन्छ । मानिसहरू निरोगी हुन्छन् भने पीपलको रुख रोप्नेहरूको कहिल्यै वंशनाश हुँदैन । योगी तथा ऋषिमुनिहरू पनि पीपलकै बोटमुनि तपस्यारत हुन रुचाउँछन् ।
पीपलको महत्व धार्मिक दृष्टिले मात्रै छ त ? होइन, यो रुखको ज्योतिष, आयुर्वेद एवं वैज्ञानिक दृष्टिले समेत उत्तिकै ठूलो महत्व छ । के छन् त ती कुरा ? हेरौँ,
बैसाख महिनामा दैनिक पिपलमा जल चढाउनाले राम्रो मानिन्छ । अरु महिनामा भने पीपलको पूजा शनिबार मात्र चढाउने गरिन्छ।
पौराणिक कथाअनुसार देवता र दानवहरू मिलेर समुद्र मन्थन गर्ने क्रममा लक्ष्मीभन्दा पहिले दरिद्रता उत्पत्ति भएकी थिइन् । लक्ष्मीले पआफू प्रकट भएपछि विष्णुलाई पतिका रूपमा वरण गरिन् । यसबाट दरिद्रता रिसाइन् । यो देखेर विष्णुले दरिद्रतालाई आफ्नो प्रिय वृक्ष पीपलको बोटमा बस्न अनुरोध गर्दै आफू समयसमयमा भेट्न आउने वाचा गरे । प्रत्येक शनिबार विष्णुसँगै लक्ष्मी पनि आफ्नी दिदीलाई भेट्न आउँछिन् । यसकारण शनिबारका दिन पीपलको पूजा एवं परिक्रमा गर्नु निकै शुभ मानिन्छ ।
पीपलको ज्योतिषीय महत्व
-चिनामा ग्रह बिग्रिएको देखिए आइतवार बाहेक अन्य दिन नियमित रूपले पीपललाई जल चढाउँदा ग्रहदोष शान्त हुन्छ ।
-शनिले दुःख दिइरहेको छ भने हरेक शनिवार पीपलको बोटमा सखर हालेको दूध चढाएर सातपटक परिक्रमा गर्नुपर्छ । यसो गर्दा शनिश्चर प्रसन्न हुन्छन् र उनको आशीर्वाद प्राप्त हुन्छ ।
-हरेक शनिवार पीपलको बोटछेउमा तोरीको तेलमा भिजाइएको बत्ती बाल्दा शनिदोष शान्त हुन्छ । यसका साथै हरेक शनिवार दुवै हातले पीपलको रुख छोएर १०८ पटक ॐ नमः शिवाय मन्त्र जप्दा लाभ प्राप्त हुन्छ ।
-पीपलको सेवा गर्नाले पितृदोष समेत शान्त हुन्छ ।
-पीपललाई पूजा एवं परिक्रमा गर्नाले कालसर्प दोष पनि शान्त हुन्छ ।
वैज्ञानिक दृष्टिमा पीपलको फाइदा
पीपलले अक्सिजनलाई शुद्ध पार्ने काम गर्छ । भनिन्छ, पीपलले २४ सै घन्टा अक्सिजन उत्सर्जन गर्छ, जब कि अरू रुखले रातको समयमा कार्बनडाइअक्साइड वा नाइट्रोजन ग्यास उत्सर्जन गर्छन् । यसका साथे पीपलको बोटले पर्यावरण शुद्ध पार्नमा पनि सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।


