काठमाडौँ – नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा सुनचाँदी व्यवसाय गम्भीर संकटमा पुगेको भन्दै व्यवसायीहरूले सरकारलाई ज्ञापनपत्र बुझाउँदै दबाब दिएका छन् ।
महासंघले देशव्यापी रूपमा जनप्रतिनिधि दबाब तथा अन्तरक्रिया कार्यक्रमको सुरुवात गरेको जनाएको छ । कार्यक्रममा व्यवसायसँग सम्बन्धित विविध विषयमा गहन छलफल गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि माननीय खगेन्द्र सुनारले हालको अवस्थामा सुनचाँदी व्यवसाय अत्यन्त कठिन परिस्थितिमा पुगेको उल्लेख गर्दै सरकारसँगको यो अन्तिम संघर्ष भएको बताएका छन् । उनले व्यवसायीहरूलाई एकताबद्ध भएर आफ्ना हकअधिकारका लागि अघि बढ्न आग्रह गरेका छन् । साथै, व्यवसायमा देखिएका कानुनी जटिलता समाधानका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष किसान सुनारले सुनचाँदीको मूल्य दिनप्रतिदिन बढ्दै गएको र सरकारले लगाएको २ प्रतिशत बिलासिता करका कारण व्यवसाय धरापमा परेको गुनासो गरेका छन् । उनले उक्त कर तत्काल खारेज गर्न सरकारसँग माग गर्दै व्यवसायीहरूको समस्या समाधानतर्फ गम्भीर बन्न आग्रह गरेका छन् ।
उनका अनुसार, व्यवसायीहरूले विभिन्न चरणमा सरकार तथा सरोकारवालासँग भेटघाट र छलफल गर्दै आएका छन् । समस्या समाधानका लागि कार्यविधि र मस्यौदासमेत तयार पारेर सरकारलाई बुझाउँदा पनि अपेक्षित सुनुवाइ नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । साथै, गत सरकारले व्यवसायी महासंघहरूसँग गरेको आन्दोलनपछि भएको बाह्रबुँदे सहमति कार्यान्वयन गर्न वर्तमान सरकारलाई दबाब दिन महासंघले देशव्यापी कार्यक्रम सुरु गरेको जानकारी दिए ।
महासंघले ७७ वटै जिल्लाका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग अन्तरक्रिया गर्ने, ध्यानाकर्षण गराउने तथा सुनचाँदी व्यवसायका समस्याबारे सदनमा आवाज उठाउन दबाब दिने योजना बनाएको जनाएको छ । साथै, सबै जिल्लाका सांसदहरूलाई जिल्ला संघमार्फत ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाउने तयारी गरिएको छ ।
महासंघले अन्तर्राष्ट्रिय विभाग, अर्थ मन्त्रालय तथा अर्थमन्त्रीसँग समेत शिष्टाचार भेट गरी ती सहमति कार्यान्वयन गर्न दबाब दिएको जनाएको छ । यसैबीच, व्यवसायीहरूले आफ्ना मागहरू समेटिएको ज्ञापनपत्र सरकारसमक्ष पेश गर्दै शीघ्र समाधानको माग गरेका छन् ।
कार्यक्रमको समापन वरिष्ठ उपाध्यक्ष द्वारिका शंकर विश्वकर्माले गर्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले यस्ता कार्यक्रमले व्यवसायीहरूबीच एकता मजबुत बनाउने र आगामी दिनमा समस्याको समाधानतर्फ सकारात्मक पहल हुने विश्वास व्यक्त गरे ।
महासचिव नीर बहादुर धमला (बिमल) ले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष गणेश प्रसाद लोकान्द्रीसहित विभिन्न व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


