भारतीय संगीत जगतकी अनुपम र बहुआयामिक स्वरकी धनी आशा भोसले बिरामी परेकी छन्। ९२ वर्षीया भोसलेलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ।
प्राप्त जानकारीअनुसार शनिबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालको इमर्जेन्सी वार्डमा लगिएको थियो। प्रारम्भिक रूपमा हृदय र फोक्सोसँग सम्बन्धित समस्या देखिएको आशंका गरिएको भए पनि परिवारले यसबारे स्पष्टिकरण दिँदै अत्यधिक थकान र छातीको संक्रमणका कारण उपचारका लागि भर्ना गरिएको जनाएको छ।
उनकी नातिनी जनाइ भोसलेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उपचार जारी रहेको र स्वास्थ्य अवस्थामा सुधार आउने अपेक्षा गरिएको बताएकी छन्। साथै, उनले यस संवेदनशील समयमा परिवारको गोपनीयताको सम्मान गरिदिन अनुरोध गरेकी छन्।
भारतीय संगीत क्षेत्रमा अतुलनीय योगदान दिएकी आशा भोसलेले नेपालका पनि थुप्रै गीतहरूमा स्वर भरेकी छन्, जसले नेपाली संगीत श्रोतामाझ पनि उनलाई उत्तिकै लोकप्रिय बनाएको छ।
आशा भोसलेको स्वास्थ्य अवस्थाबारे खबर सार्वजनिक भएसँगै उनका प्रशंसक तथा शुभेच्छुकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। दशकौँदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै लाखौँ दर्शक–श्रोताको मन जितेकी आशा भोसलेप्रति सबैको चासो र चिन्ता देखिएको छ।


