गलत नम्बरबाट सुरु भएको विवादले लियो दुई दाजुभाइको ज्यान

एटुजेड समाचार

काठमाडौं – ललितपुरको कृष्ण मन्दिर परिसरमा एक सामान्य विवादले भयावह रूप लिँदा दुई दाजुभाइको ज्यान गएको छ। झापा कमल गाउँपालिका–६ घर भई हाल इमाडोलमा बसोबास गर्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङमाथि छुरा प्रहार हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धान अनुसार, घटनाको जरो एउटा ‘गलत नम्बर’ बाट सुरु भएको थियो। दाजु सुमितले साथीलाई फोन गर्ने क्रममा गलत नम्बर डायल भएपछि उक्त कल सञ्जीव नेपाली ‘सञ्जु’ मा पुगेको थियो। अपरिचित व्यक्तिबीच भएको यो फोन संवाद सुरुमा सामान्य भनाभनमै सीमित थियो, तर पछि पटक–पटक फोनमा गालीगलौज हुँदै विवाद चर्किँदै गयो।

घटनाको दिन चैत २५ मा दिउँसो करिब १२ बजेतिर नेम्बाङ दाजुभाइ आफ्ना आफन्तसहित पाटन र मङ्गलबजार क्षेत्रमा घुम्न गएका थिए। उनीहरूसँग काका नाता पर्ने एक जना पनि थिए। घुम्ने क्रममा नै भएको फोन विवाद साँझसम्म आइपुग्दा थप चर्किएको थियो।

साँझ करिब ७ बजेपछि सञ्जीवले पुनः फोन गरेर सुमितलाई ‘तँ कहाँ छस् ?’ भनेर सोधेका थिए। सुमितले आफू मङ्गलबजारमा रहेको बताएपछि सञ्जीव उनीसँग भेट्न स्कुटरमा त्यतैतर्फ लागे। उनले नवलपरासी घर भई ललितपुर–८ सुन्हालमा बस्दै आएका २१ वर्षीय गगन सुनारलाई समेत साथमा लगेका थिए।

मङ्गलबजारस्थित पाटन दरबार स्क्वायर नजिकै भेट भएपछि उनीहरूबीच पहिलेको फोन विवादकै विषयमा फेरि भनाभन सुरु भयो। बाहिरको भीडभाडबाट अलग भएर कुरा मिलाउने भन्दै उनीहरू कृष्ण मन्दिरको सिँढीतर्फ उक्लिए। तर, ‘सम्झौता’ गर्ने प्रयास सफल हुन सकेन, उल्टै विवाद झन् उग्र बन्दै गयो।

Forbes

यही क्रममा सञ्जीवले आफूसँग रहेको मासु काट्ने छुरा निकालेर आक्रमण सुरु गरे। छुरा निकालेपछि सुमितले प्रतिकार गर्दै उनको हात समातेर मुक्का प्रहार गरेका थिए। झगडाकै क्रममा दुवै जना सिँढीबाट तल झरेका थिए।

तल झर्ने क्रममा सञ्जीवले सुमितको पेटमा छुरा प्रहार गरे। दाइलाई बचाउन अगाडि बढेका भाइ सृजन पनि आक्रमणबाट जोगिन सकेनन्। सञ्जीवले सृजनको घाँटी र पेटमा समेत छुरा प्रहार गरेपछि दुवै दाजुभाइ गम्भीर घाइते भई मन्दिर परिसरमै ढलेका थिए।

सँगै रहेका साथीहरूले तत्काल प्रहरीलाई खबर गरे। सूचना पाएको करिब ३ मिनेटमै प्रहरी घटनास्थलमा पुगेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। भागेर नजिकैको रेस्टुरेन्टमा लुक्न खोजिरहेका सञ्जीवलाई एक प्रहरी जवानले नियन्त्रणमा लिएका थिए।

घाइते दुवैलाई तत्काल उपचारका लागि B & B Hospital पठाइएको थियो। तर अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको थियो। प्रहरीका अनुसार घटना साँझ ७ बजेर ४० मिनेटतिर भएको हो।

प्रारम्भिक अनुसन्धानमा आवेग र उत्तेजनाले घटना भएको देखिएको प्रहरीले जनाएको छ। सञ्जीव भोलढोकास्थित मासु पसलमा काम गर्ने व्यक्ति रहेको खुलेको छ।

मृतक सुमित विदेश, विशेषगरी लन्डन जाने तयारीमा थिए। तर एक सामान्य गलत नम्बरबाट सुरु भएको विवादले उनको सपना सधैंका लागि अधुरै रह्यो। यो घटनाले सानो विषयमा सुरु भएको झगडाले पनि कति ठूलो क्षति पुर्‍याउन सक्छ भन्ने गम्भीर सन्देश दिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु