काठमाडौं — जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को संयुक्त टोलीले सञ्चालन गरेको ‘अपरेसन सेफ्टी काठमाडौं’ अन्तर्गत गुण्डागर्दीमा संलग्न १८ जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार गएराति विशेष अपरेसन सञ्चालन गरी विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
परिसरले गुण्डागर्दी गर्दै आफ्नै समूह बनाउने प्रयासमा रहेका ५ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा श्याम लामा समूहसँग आबद्ध ‘डिम्पल’ भनिने प्रवीण तामाङ रहेका छन्।
त्यसैगरी: कलंकी–बाफल क्षेत्रमा सक्रिय बिर्जु महर्जन
कलंकी बस टिकट काउन्टर–पेट्रोल पम्प क्षेत्रमा संलग्न सुजन कार्की स्युचाटार क्षेत्रमा समूह बनाउने प्रयासमा रहेका सरू हुमागाईं बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न बिकी लामा
पक्राउ परेका छन्।
उता, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट थप १३ जनालाई पक्राउ गरिएको छ।
प्रहरीले अपरेसनका क्रममा ठूलो संख्यामा शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिएर स्कृनिङसमेत गरेको जनाएको छ।
यसअघि पनि यस्ता अपरेसनमा १००–१२५ जनासम्मलाई नियन्त्रणमा लिएर आपराधिक पृष्ठभूमि जाँच गर्ने गरिएको थियो भने शुक्रबारको अपरेसनमा त्यसभन्दा बढी व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले काठमाडौं उपत्यकामा शान्ति सुरक्षा सुदृढ पार्न यस्ता अपरेसनलाई निरन्तरता दिने जनाएको छ।


