बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल’बले’

एटुजेड समाचार

काठमाण्डौ – हास्य कलाकार सागर लम्साल (बले)लाई फिल्म पाँच पाण्डवबाट हटाइएको छ। शुक्रबार अमेरिका बस्ने एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएपछि निर्माण पक्षले यस्तो निर्णय गरेको हो।

निर्माता कम्पनी कालीरानी फिल्म्सले जारी गरेको विज्ञप्तिअनुसार सागर लम्सालको करिब ९० प्रतिशत छायांकन सम्पन्न भइसकेको भए पनि अब उनका दृश्यहरू फिल्ममा समावेश नगरिनेछ। निर्माण टिमले उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि–सुट) गर्ने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “छायांकनकै क्रममा एक मुख्य कलाकारलाई हटाउनु पर्दा र पहिल्यै खिचिएका दृश्यहरू पुनः खिच्नुपर्दा आर्थिक क्षति हुनु स्वाभाविक हो । तर, पीडित युवतीको पीडाको अगाडि यो क्षतिको कुनै मूल्य हुँदैन।”

फिल्मको नाम र विषयवस्तुको संवेदनशीलतालाई ध्यानमा राख्दै आरोपितलाई निरन्तरता दिँदा न्याय प्रक्रियामा असर पर्न सक्ने भन्दै सागरसँगको सम्झौता रद्द गरिएको निर्माण पक्षले जनाएको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी पीडितलाई छिटो न्याय दिलाउन आग्रह गरिएको छ।

निर्देशक वसन्त निरौलाको निर्देशनमा निर्माण भइरहेको उक्त फिल्मको पछिल्ला तीन सातादेखि झापामा छायांकन भइरहेको थियो। अब सागरलाई हटाइएसँगै फिल्मको केही भाग पुनः खिच्नुपर्ने भएको छ।

Forbes

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला र महेश त्रिपाठीलगायत कलाकारहरूको अभिनय रहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु