हनी ट्र्यापमा पारी लुटपाट गरेको आरोपमा २ जना पक्राउ

चितवन — हनी ट्र्याप प्रयोग गरी कुटपिट तथा लुटपाट गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–३ का ४८ वर्षीय एक पुरुषलाई सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान गरी भेट्न बोलाएर कुटपिट तथा लुटपाट गरिएको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार ‘ANEEY TMG’ नामको फेसबुक आइडी प्रयोग गर्ने व्यक्तिले पीडितसँग फेसबुकमार्फत चिनजान गरी फोनमा कुराकानी गर्दै आएका थिए। त्यसपछि गत २०८२ चैत ९ गते जुटपानीस्थित मिडचोकबाट गुम्बातर्फ जाने भित्री बाटोमा भेट्न बोलाइएको थियो।

पीडित उक्त स्थानमा पुगेपछि योजनाबद्ध रूपमा अन्य व्यक्तिहरूलाई समेत बोलाई कुटपिट गरिएको र उनीसँग रहेको बा.प्र.०४५ प ४५८९ नम्बरको स्कुटर लुटेर फरार भएको प्रहरीले जनाएको छ।

घटनापछि पीडितले स्कुटर फिर्ता माग्दा आरोपीहरूले रकम माग्ने तथा रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइदिने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो।

Forbes

सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कालिका नगरपालिका–७ नमुना टोल बस्ने १८ वर्षीय केपी तामाङ (फेसबुक आइडी ‘ANEEY TMG’) र २५ वर्षीय विजय सुनारलाई भरतपुर महानगरपालिका–१० स्थित वीरेन्द्र क्याम्पस चोकबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले उनीहरूविरुद्ध लुटपाट सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु