काठमाडौं। धनुषा–१ को निर्वाचन विवादबारे सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहले दायर गरेका दुई छुट्टाछुट्टै रिटलाई एउटै मुद्दाका रूपमा राखेर अदालतले सुनुवाइ गर्न लागेको हो।
निर्वाचन आयोगले साह कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै मतदान हुनुभन्दा दुई दिनअघि उनको उम्मेदवारी रद्द गरेको थियो । सो निर्णयविरुद्ध साह सर्वोच्च अदालत पुगेका थिए। तर समय अभावका कारण मतपत्रबाट उनको चुनाव चिह्न हटाउन नसकिएकोले सोही चिह्नसहित मतदान सम्पन्न गराइएको थियो।
मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले नेकपाका उम्मेदवार मातृका यादवलाई विजयी घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्यो। यस निर्णयविरुद्ध पनि साहले सर्वोच्च अदालतमा अर्को रिट दायर गरेका छन्।
उम्मेदवारी रद्द गर्ने निर्णय आयोगले नै गरिसकेको आधारमा दोस्रो स्थानमा रहेका उम्मेदवार यादवलाई विजयी घोषणा गरिएको हो। यद्यपि, मतदानमा भने साहले नै सबैभन्दा बढी मत प्राप्त गरेका थिए।
यदि सुनुवाइ स्थगित नभएमा, सर्वोच्च अदालतले आइतबार नै यस विवादबारे निर्णय दिने सम्भावना रहेको छ।


