डिआईजी थपलियाको कडा निगरानीमा निर्वाचन बिफल गराउन लाग्ने प्रहरी को नियन्त्रणमा

मधेस प्रदेश – मधेस प्रदेशमा संगठित आपराधिक गतिविधि विस्तार गर्ने योजनासहित सक्रिय रहेको एक समूहको योजना समयमै विफल भएको छ।

नेपाल प्रहरी अन्तर्गत मधेस प्रदेश प्रहरी कार्यालयको विशेष सूचना संयन्त्रको सक्रियता र प्रभावकारी निगरानीका कारण सम्भावित ठूलो आपराधिक घटना टरेको हो।

प्रहरी स्रोतका अनुसार केही समयदेखि सीमावर्ती क्षेत्रमा अपराधिक गिरोहको गतिविधि बढेको सूचनाहरू प्राप्त भइरहेका थिए। विशेषगरी फिरौती असुली, हतियार ओसारपसार, अवैध कारोवार तथा व्यवसायीलाई लक्षित गरी आक्रमणको योजना बनाइरहेको संकेतहरू देखिएपछि प्रदेश प्रहरी नेतृत्वले गोप्य रूपमा विशेष निगरानी टोली परिचालन गरेको थियो। डिआईजी गोबिन्द थपलिया को प्रत्यक्ष निर्देशनमा सूचना संकलन, विश्लेषण र समन्वय कार्यलाई तीव्रता दिइएको बताइएको छ।

सूचना संयन्त्रले विभिन्न स्रोतमार्फत प्राप्त विवरणलाई विश्लेषण गर्दै सम्भावित लक्षित क्षेत्र, संलग्न व्यक्तिहरू र उनीहरूको गतिविधिको निगरानी गरेको थियो। त्यसक्रममा शंकास्पद भेटघाट, बारम्बारको आवतजावत र आर्थिक कारोबारमा देखिएको अस्वाभाविक गतिविधिका आधारमा प्रहरीले निगरानी झनै कडा बनाएको थियो।

फागुन २१ को निर्वाचनको संघारमा मधेस प्रदेशको शान्ति सुरक्षालाई चुनौती दिने गरी बुनिएका भयानक षड्यन्त्रलाई मधेस प्रहरीले असफल गराएको छ।

Forbes

मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको सक्रिय नेतृत्व र सुरक्षा रणनीतिले पर्सामा धार्मिक सद्भाव भड्काउने र हिंसा फैलाउने उद्देश्यले सक्रिय समूहलाई पक्राउ गर्न सफल भएको हो।

फागुन १९ गते राति पसागढीमा चेकजाँचका क्रममा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज कुमार चौधरी सवार बा.१० च १२५० नम्बरको गाडीबाट विस्फोटक पदार्थसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ। लगत्तै २० गते राति वीरगञ्जको इनर्वागाउँबाट ९ थान सुतली बम, तार र सुँगुरको टाउकोसहित थप ३ जना पक्राउ परेका छन्।

उनीहरूको साथबाट केही हतियार, सञ्चार उपकरण र योजनासम्बन्धी कागजातसमेत बरामद गरिएको बताइएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको छ र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

मधेस प्रहरी प्रमुख थपलियाले भने “हामीले प्राप्त सूचनालाई गम्भीरतापूर्वक लिँदै चरणबद्ध रूपमा अनुसन्धान अघि बढायौँ। सम्भावित घटना हुनुअघि नै नियन्त्रणमा लिन सफल भयौँ,” उनले भने।

मधेस प्रदेश जस्तो संवेदनशील र सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण चुनौतीपूर्ण मानिन्छ। त्यसैले प्रहरी नेतृत्वले आधुनिक प्रविधिको प्रयोग, समुदाय–प्रहरी साझेदारी कार्यक्रम र अन्तर–जिल्ला समन्वयलाई प्राथमिकता दिँदै आएको छ। पछिल्लो सफल कारबाहीले प्रदेशमा शान्ति सुरक्षा सुदृढ बनाउन सकारात्मक सन्देश दिएको प्रहरीको दाबी छ।

यस घटनापछि प्रदेशभर सुरक्षा सतर्कता थप कडा पारिएको छ। सीमावर्ती नाकाहरूमा जाँच बढाइएको छ भने शंकास्पद गतिविधिमाथि निगरानी निरन्तर जारी रहने प्रहरीले जनाएको छ। नागरिकलाई पनि कुनै शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।

प्रहरीका अनुसार संगठित अपराध नियन्त्रणका लागि सूचना संयन्त्रलाई अझ सुदृढ बनाउँदै भविष्यमा यस्ता गतिविधि हुन नदिन दीर्घकालीन रणनीति लागू गरिनेछ। मधेस प्रदेशमा पछिल्लो कारबाहीलाई सुरक्षातर्फ महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु