चितवन – ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ, पञ्चै/नौमती बाजाको प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ नारायणी एक्स्पो स्थलमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ ८ गते बिहान १० बजेदेखि नारायणी एक्स्पो स्थलमा सञ्चालन हुनेछ ।
आज आयोजित पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सागर कुमालले नेपाली संस्कार र संस्कृति झल्काउने उद्देश्यसहित पञ्चै/नौमती बाजा प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । स्थानीय कला, संस्कृति तथा परम्परागत बाजाको संरक्षण र जगेर्नामा प्रतियोगिता फलदायी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा नारायणी एक्स्पोका आयोजक संस्था रेड रक इभेन्टका अध्यक्ष विकल क्षेत्रीले प्रतियोगिता माघ ८ गते आयोजना गरिने जानकारी दिनुहुँदै प्रतियोगिताको संयोजन नारायणी एक्स्पोका सहआयोजक नेपाल आदिवासी जनजाति महासंघ चितवनले गरेको बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने समूहले नगद रु २० हजार, द्वितीय हुने समूहले रु १५ हजार, तृतीय हुने समूहले रु १० हजार तथा सान्त्वना हुने समूहले रु ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन सबै पञ्चै तथा नौमती बाजा समूहलाई उहाँले आग्रह गर्नुभएको छ ।
पञ्चै तथा नौमती बाजा बहुजातिको संस्कृति र पहिचानसँग जोडिएको उल्लेख गर्दै अध्यक्ष क्षेत्रीले बाद्यवाधकहरूको प्रतिभालाई प्रवर्द्धन तथा मूल्यांकन गर्दै नेपाली मौलिक बाजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने उद्देश्य प्रतियोगिताको रहेको बताउनुभयो ।
नारायणी एक्स्पो अन्तर्गत आयोजना हुने यस प्रतियोगिताले मौलिक संस्कृतिको संरक्षण, नयाँ पुस्तामा परम्परागत बाजाप्रति रुचि बढाउने तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा आयोजकले गरेका छन् ।


