चितवन – नेपालीहरुको दोस्रो महान चार्ड तिहार शुरु भएसँगै नारायणगढका बजारमा चहलपहल बढेको छ। बिशेष गरी नारायणगढका मुख्य बजार क्षेत्र सहिद चोक, पुलचोक कमलनगर, पुतलिबाजारमा किनमेल गर्ने सर्वसाधरणको चहलपहल बढेको हो ।
यसपटक तिहार कात्तिक १ गतेदेखी शुरु भएको छ ।तिहारमा आवश्यक पर्ने सामग्री किन्न उपभोक्ताको बजारमा भिडभाड बढेको व्यापारीहरू बताउँछन् ।
बिशेषगरी तिहारमा आवश्यक पर्ने माटोका पाला (दियो), झिलीमिली बत्ती, सप्तरङ्गी टीका, मखमली फूलका माला, लक्ष्मी पूजामा प्रयोग हुने सामग्री, भाइमसला, ढाकाटोपी, भाँडावर्तन र लुगा कपडा किनमेलमा सर्बसाधारणको भिड देख्न सकिन्छ ।
विशेषगरी साँझपख र बिदाका दिनमा बजारमा सामान किन्नेको निकै चहलपहल देखिने गरेको व्यवसायी बताउछन् । “नयाँ लुगा किन्ने तथा झिलीमिली बत्ती र घर सजावटको सामान किन्नेहरू उल्लेख्य देखिने गरेका छन् । तिहारका कारण अहिले व्यापार पनि राम्रो भएको व्यवसायिको भनाई छ ।
यसवर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु भएको छ । आज कात्तिक २ गते आइतबार आज काग तिहार मनाईएको छ ।
कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।
औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ ।
शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।


