भरतपुर – जेनजी प्रदर्शनका क्रममा भरतपुर कारागारबाट भागेका १६२ कैदीबन्दी सम्पर्कमा आएका छैनन् । असोज २० गते अर्थात हिजो साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएपनी १६२ कैदीबन्दी अझै सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ ।
भरतपुर कारागारमा ४६ जना महिला, ५ जना बालबालिका गरी ७४२ कैदीबन्दी रहेका थिए । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भदौ २५ गते सबै कैदीबन्दी कारागारमा तोडफोड तथा आगजनी गर्दै सुरक्षा घेरा तोडेर र पर्खाल भत्काएर भागेका थिए ।
कैदीबन्दीहरू भागेको भोलिपल्टै देखी कारागारले सूचना जारी गरी फिर्ताको आह्वान गरेको थियो। त्यस पश्चात केही कैदीबन्दी आँफै फिर्ता आएका थिए भने केही कैदीबन्दीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाएको थियो ।
७४२ मध्ये हालसम्म ३७ जना महिला २ जना बालबालिका गरी ५७२ जना कैदीबन्दी भरतपुर कारागार र भरतपुर कारागारका ८ जना कैदीबन्दी अन्य कारागार गएको जानकारी समेत आएको हुँदा जम्मा ५८० कैदीबन्दी सम्पर्कमा आएको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाले जानकारी दिए ।
यस्तै भरतपुर कारागारमा २० जना अन्य जिल्लाका कैदीबन्दीहरु आएका छ्न्। जसमध्य नक्खु कारागार, पश्चिम नवलपरासी कारागार र मकवानपुर कारागारका कैदीबन्दीहरु आएको उनको भनाई छ ।
सम्पर्कमा नआएका अन्य कैदीबन्दीहरुको खोजी भइरहेको र उनीहरूलाई नियन्त्रणमा लिने प्रयास भईरहेको छ । त्यसका लागि कारागारले कैदीबन्दीको नाम, ठेगाना र फोटोसहित जिल्ला प्रहरी कार्यालय पठाएको र प्रहरी कार्यलयले अन्य जिल्लाहरुमा पठाएको ढुङ्गानाले बताए ।
उनका अनुसार यही असोज १० गते गृह मन्त्रालयले फरार कैदीबन्दीलाई खोजी गर्ने समिति नै गठन गरेर सम्पूर्ण कैदीबन्दीहरूलाई असोज २० गतेभित्र सम्पर्कमा आउन आह्वान गरेको थियो । सोही अनुसार भरतपुर कारागारले पनि फिर्ताको आह्वान गरेको थियो ।
उनले भने, निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही हुने छ । फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन अनुसार कारबाही हुने छ ।
भरतपुर कार्यालयमा महिला र पुरुष गरेर ५०० जनाको क्षमता रहेको छ। तर हाल भरतपुर कारागारमा ७ सय भन्दा बढी कैदीबन्दीहरू राख्दा व्यवस्थापनमा विभिन्न समस्याहरू हुँदै आएको उनको भनाई थियो ।


