जेनेभा – संयुक्त राज्य अमेरिकामा चट्याङ पर्दा फैलिएको ८२९ किलोमिटर लामो बिजुलीको चमकले नयाँ विश्व कीर्तिमान बनाएको छ, जसलाई हालसम्मकै सबैभन्दा लामो चट्याङका रूपमा घोषणा गरिएको छ।
विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्सासदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा उक्त चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो ।
संयुक्त राष्ट्रसङ्घको मौसममामिला निकाय (डब्लूएमओ)का अनुसार सन् २०१७ को अक्टोबर २२ को लामो विशाल चट्याङ (मेगाफ्ल्याश) ले महाकाय विद्युतीय शक्ति उत्पन्न गरेको थियो । यो चट्याङ प्रकाशको दू्री यति लामो थियो कि चट्याङ परेको क्षेत्रलाई पार गर्न सामान्यतया एउटा कारलाई करिब आठदेखि नौ घण्टा र हवाइजहाजलाई करिब ९० मिनेटको समय लाग्छ ।
यसअघि, सन् २०२० अप्रिल २९ मा मिसिसिपी र टेक्सासको बीचमा ७६८ किलोमिटर लामो चट्याङ प्रकाशलाई विश्वको सबैभन्दा लामो चट्याङको रेकर्डका रूपमा सन् २०२२ मा प्रमाणित गरिएको थियो ।
अघिल्लो र नयाँ दुवै रेकर्डमा आठ किलोमिटर बढी वा कमी त्रुटि रहेको हुनसक्ने बताइएको छ ।
सन् २०१७ को आँधीले थुप्रै ठूला चट्याङका लहर निम्त्याएको थियो तर तीमध्ये तीन वटालाई ठूला र लामा (मेगाफ्ल्यास) चट्याङको रूपमा विश्लेषण गरिएको छ ।


