चितवन – पत्रकार वसन्त पराजुलीको ऐतिहासिक उपन्यास `बखान´ प्रकाशन हुने भएको छ । शिखा बुक्सले बखान उपन्यास प्रकाशन गर्न लागेको हो ।
शिखा बुक्सले शुक्रबार बखान उपन्यासको आवरण (कभर) सार्वजनिक गरेको छ । शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले साउन अन्तिममा बखान बजारमा आउने जानकारी दिनुभयो ।
`हामी प्रकाशनको अन्तिम तयारीमा छौँ । साउन अन्तिम सम्ममा किताब बजारमा ल्याउने हाम्रो तयारी छ ।´, उहाँले भन्नुभयो । पराजुलीको यो चौथो कृति हो । उपन्यास भने पहिलो भएको पराजुलीले जानकारी दिनुभयो ।
उहाँले बखान उपन्यासमा राणाशासन र पञ्चायतविरुद्धको लडाइँमा आफ्ना दुई जवान छोरा गुमाएका, चितवनमा बस्ती विकास गर्नेदेखि नेपालकै पहिलो सहकारीका संस्थापक बखानसिंह गुरुङको दुःखदायी जीवनी, राजा महेन्द्रको रहस्यमय मृत्यु र निकुञ्जमा सिकारको इतिहाससम्मको नालीबेली रहेको बताउनुभयो ।
`इतिहास, संस्कृति र पर्यावरणको सुन्दर प्रस्तुति हो बखान उपन्यास ।´, पत्रकार पराजुलीले भन्नुभयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्षसमेत रहनु भएका पराजुलीका यसअघि कुमाता, मोम्चो र ड्रिमि आईज गरी ३ वटा कथासंग्रह प्रकाशन भैसकेका छन् ।


