भरतपुरमा शनिबार बृहत् रक्तदान महोत्सव हुँदै

चितवन – रगतको अभावलाई मध्यनजर गर्दै भरतपुरमा शनिबार बृहत् रक्तदान महोत्सव हुने भएको छ । आयोजक संस्था ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाले बिहीबार चितवन उद्योग संघमा पत्रकार सम्मेलनको आयोजना गरी रक्तदान महोत्सवबारे जानकारी गराएको हो ।

आयोजक संस्थाका अध्यक्ष एकराज बुर्लाकोटीले अन्तर्राष्ट्रिय रक्तदाता दिवस (जुन १४) मा भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले एक हजार पाँच सय पिन्ट रगत संकलन गर्ने उद्देश्य लिइएको बताए । ब्लड डोनर्स सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारीले महोत्सवमा नि:शुल्क स्वास्थ्य शिविरका साथै रक्तदातालाई प्रोत्साहन गर्न पुरस्कार र सम्मान कार्यक्रम राखिएको जानकारी दिए ।

आयोजक संस्थाका सल्लाहकार डा. भोजराज अधिकारीले १८ देखि ६५ वर्षसम्मका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने बताए । उनले रगतमा प्लाज्मा, रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेट्स हुने जानकारी दिँदै संसारमा अहिलेसम्म रगतको विकल्प नभएको बताए । सुगर, प्रेसर, कोलेस्ट्रोल, थाइराइडलगायत नसर्ने रोगहरु रगतबाट नसर्ने उनको भनाइ थियो । रक्तसञ्चार सेवा केन्द्र, भरतपुरका रमेशकान्त पौडेलले मासिक दुई हजार पिन्ट रगतको माग रहेको बताए ।

रक्तदान महोत्सव अन्तर्गत शनिबार बिहान ६ बजे प्रभातफेरि कार्यक्रम, ७ बजेबाट रक्त संकलन एवं स्वास्थ्य शिविर र ९ बजेबाट औपचारिक उद्घाटन कार्यक्रम हुने आयोजक संस्थाका सचिव विपिन पाठकले जानकारी दिए । महोत्सवको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालबाट हुनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु