एजेन्सी – उज्बेकिस्तानले पहिलोपटक २०२६ फिफा विश्वकपमा स्थान बनाएपछि राष्ट्रिय टोलीका सबै खेलाडी र प्रशिक्षकलाई ४० वटा बीवाईडी कार उपहार दिएको छ।
तास्केन्टमा भएको अन्तिम छनोट खेलमा उज्बेकिस्तानले कतारलाई ३–० ले हराएको थियो । यसअघि युएईसँग बराबरी खेल्दै उज्बेक टोलीले विश्वकप यात्रा सुनिश्चित गरिसकेको थियो। प्रशिक्षक टिमुर कपाडेजेको नेतृत्वमा इतिहास रचेको टोलीलाई राष्ट्रपति शव्कत मिर्जियोयेभले पदक तथा सम्मान दिने घोषणा गरेका छन्।
खेलपछि मैदानमै ४० वटा बीवाईडी कार ल्याएर खेलाडी र स्टाफलाई साँचो हस्तान्तरण गरिएको थियो। उज्बेकिस्तान समूहको दोस्रो स्थानमा रहँदै विश्वकप पुगेको हो, जबकि इरानले पनि सोही समूहबाट विश्वकप यात्रा पक्का गर्यो। युएई र कतार भने अन्तिम चरणको छनोटमा प्रतिस्पर्धा गर्नेछन्।
अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने २०२६ विश्वकपमा पहिलोपटक ४८ टोली सहभागी हुनेछन्।

