इस्तानबुल – युक्रेनबीच दोस्रो चरणको शान्तिवार्ता इस्तानबुलमा सुरु भएको छ। युक्रेनले रसियाको सैन्य एयरबेसमा रातभरि आक्रमणपछि सुरु भएको वार्ताको वातावरण तनावपूर्ण रहेको बीबीसीले जनाएको छ।
दुवै देशका प्रतिनिधिमण्डलहरू र वार्ता आयोजक टर्कीका अधिकारीहरूबीच इस्तानबुलको ऐतिहासिक सिरागान दरबारमा केही समयअघि वार्ता सुरु भएको हो।
यसअघि यी दुई देशबीच गत महिना पहिलो वार्ता सम्पन्न भएको थियो। उक्त वार्ता दुई घण्टा पनि नपुगी सकिएको थियो र कुनै ठोस प्रगति हासिल भएको थिएन।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाटो सम्मेलनका लागि लिथुआनियामा रहेका छन्। उनले यदि यो वार्ताले केही पनि ठोस निर्णय लिन नसकेमा अमेरिका र युरोपेली संघहरुले रूसमाथि तत्काल थप कडा र नयाँ प्रतिबन्धहरु लगाउनु पर्ने बताएका छन्।
रसियाले भने वार्ताका बारेमा आफ्नो आधिकारिक धारणा सार्वजानिक गरेको छैन। तर आइतबार रातभरि भएको युक्रेनी ड्रोन हमलापछि यो वार्ता केवल औपचारिक मात्र हुने र कुनै निर्णयमा नपुग्ने आँकलन गरिएको छ।

