अस्तायो होटेल रोयल सेन्चुरी, उदायो ल्यान्डमार्क नारायणी

चितवन – अढाई दशकअघि भरतपुर हाइटमा सञ्चालनमा आएको होटेल रोयल सेन्चुरीलाई ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले लिजमा लिएर नयाँ व्यवस्थापनसहित ल्यान्डमार्क नारायणीको नामबाट सन्चालनमा ल्याएको छ । ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले सोमबार ल्यान्डमार्क नारायणीमा पत्रकार सम्मेलनको आयोजना गरी नयाँ व्यवस्थापनबारे जानकारी गराएको हो ।

ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका महाप्रबन्धक बोधराज लम्सालले ल्याण्डमार्क नारायणीबाट चारतारे स्तरको सेवा, सुविधा प्रदान गरिने बताए । उनले चितवनको भरतपुरमा र तनहुँको भुवनटार, देवघाटमा सेवा विस्तार गरिएको जानकारी दिए । ‘भरतपुर हाइटमा ७० वटा कोठा भएको होटेल र देवघाट–५, भुवनटारमा रुम, कटेज, ट्री हाउस, स्विमिङ पुल सहितको फार्म हाउसको व्यवस्थापन ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले व्यवस्थापन सम्हालेको छ’ उनले भने ।

‘भरतपुर र देवघाट क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ’ ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेसन निर्देशक सम्राट पाण्डेले भने । होटल र फार्म हाउसको व्यवस्थापन सम्हालेसँगै ल्यान्डमार्कले नेपालको पर्यटन क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाएको उनको भनाइ थियो ।

ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट नेपालकै प्रतिष्ठित हस्पिटालिटी समूह हो । यस समूहले लामो समयदेखि काठमाडौँ, पोखरा, चितवन र भैरहवामा लक्जरी होटल र रिसोर्टहरूको व्यवस्थापन गर्दै आएको छ । ‘आफ्नो विशेष सेवा, पारिवारिक वातावरण र नेपाली आतिथ्य संस्कृतिमा आधारित उत्कृष्ट अनुभव प्रदान गर्ने र अतिथिलाई सन्तुष्ट पार्ने हाम्रो उद्देश्य हो’ पाण्डेले भने ।

‘हाम्रो यस प्रयासले पर्यटकहरूलाई शहरी र प्राकृतिक सुन्दरताको अद्वितीय मिश्रणको अनुभव दिलाउने विश्वास लिएका छौँ । भरतपुरको शहरी सौन्दर्य र देवघाटको प्राकृतिक शान्तिको संयोजनले अतिथिहरूलाई आराम, मनोरञ्जन र प्राकृतिक आनन्दको सम्पूर्ण अनुभव प्राप्त हुने हामी विश्वास दिलाउन चाहन्छौँ’ पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Forbes

भरतपुरमा रहेको ल्यान्डमार्क नारायणीमा विभिन्न आकारका ६ वटा ब्याङ्क्वेट तथा व्यावसायिक बैठक र गोष्ठीका लागि कन्फ्रेन्स हल छन् । रमाइलो वातावरणमा खाना खानका लागि रेस्टुरेन्ट, पेय पदार्थको विविधता सहितको बार, कफी हाउस, खुला आकाशमुनि आरामदायी ढंगले समय बिताउनका लागि ओपन टेरेस ल्यान्डमार्क नारायणीका विशेषता हुन् । थप मनोरञ्जनको अनुभवका लागि आगामी दिनमा स्विमिङ पुल थपिने ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले जनाएको छ ।

‘होटेल तथा रिसोर्ट स्थापनाको पाँचदेखि सात वर्षमा सानातिना र दसदेखि पन्ध्र वर्षमा ठुलाखाले परिमार्जन गरिरहनु पछ’ ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका कर्पोरेट अपरेसन निर्देशक सम्राट पाण्डेले भने, ‘सन् २००१ मा सुरु भएको यस होटेलमा ठुलै परिमार्जन गरी स्पा, जिम र स्विमिङ पुल थप्दैछौँ ।’

पत्रकार सम्मेलनमा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टका निर्देशकहरु राजु पाण्डे र रमेश पाण्डेको पनि उपस्थिति रहेको थियो । ल्यान्डमार्क नारायणी विगतमा भन्दा राम्रो सेवा दिन प्रतिबद्ध रहेको उनीहरुको भनाइ थियो ।

ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट समूहले यसअघि सन् २००७ नोभेम्बरदेखि ल्यान्डमार्क पोखरा, सन् २०१४ फेब्रुअरीदेखि फरेस्ट पार्क (सौराहा), सन् २०१९ मार्चदेखि ल्यान्डमार्क काठमाडौँ र सन् २०२४ फेब्रुअरीदेखि ल्यान्डमार्क भैरहवा सन्चालनमा ल्याएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु