बुद्ध जयन्तीका अवसरमा गरियो शान्ति पदयात्रा

चितवन – शान्तिका अग्रदूत गौतम बुद्धको २५६९औँ जयन्तीका अवसरमा चितवनमा सोमबार शान्ति पदयात्रा गरिएको छ । बौद्ध धर्म सेवा समिति चितवनले बुद्ध जयन्ती मनाउने क्रममा शान्ति पदयात्राको आयोजना गरेको हो ।

महाबौद्ध गुम्बा तीनखोलबाट सुरु भएको पदयात्रा प्रहरी शिक्षालय, विशालचोक, दीपेन्द्रचोक, वीरेन्द्र क्याम्पसगेट, लायन्सचोक, सहिदचोक, मिलनरोड, लीलाचोक, रामेश्वर मन्दिर, सब्जीमण्डी र बुद्धटोलहुँदै पुन: महाबौद्ध गुम्बामा पुगेर समापन भएको छ । गुम्बामा मध्याह्नदेखि दुई बजेसम्म आचार्य साङ्गेगुञ्जा बरामबाट धर्मदेशना (प्रवचन) हुने कार्यक्रम रहेको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा आराधना गर्ने गरिन्छ। बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु