चितवनमा बुद्ध जयन्तीका दिन शान्ति पदयात्रा गरिने

चितवन – दक्षिण एसियाली मुलुकहरु भारत र पाकिस्तानबिच युद्ध भइरहेका बेला नेपालमा शान्तिका अग्रदूत गौतम बुद्धको २५६९औँ जयन्ती शान्तिको कामना गर्दै मनाइँदै छ । वैशाख २९ गते सोमबार परेको बुद्ध जयन्तीका अवसरमा चितवनमा शान्ति पदयात्रा गरिने भएको छ ।

बौद्ध धर्म सेवा समिति चितवनले शनिबार तीनखोले गुम्बा परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने विभिन्न कार्यक्रमबारे जानकारी दिएको हो । २५६९औँ बुद्ध जयन्ती समारोह मूल समितिका संयोजक विकास गुरुङले बुद्ध जयन्ती भव्यरुपमा सम्पन्न गर्न २७ सदस्यीय मूल समिति र विभिन्न १५ वटा उपसमिति बनाइएको बताए ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बुद्ध जयन्तीका अवसरमा शुक्रबार गुम्बा परिसर सरसफाई कार्यक्रम गरिएको थियो भने आइतबार गुम्बा सजावटको काम हुनेछ । बुद्ध जयन्तीका दिन सोमबार बिहान पूजाअर्चनापछि सात बजेदेखि १० बजेसम्म शान्ति पदयात्रा गरिने छ ।

महाबौद्ध गुम्बा तीनखोलबाट सुरु हुने पदयात्रा प्रहरी शिक्षालय, विशालचोक, दीपेन्द्रचोक, वीरेन्द्र क्याम्पसगेट, लायन्सचोक, सहिदचोक, मिलनरोड, लीलाचोक, रामेश्वर मन्दिर, सब्जीमण्डी र बुद्धटोलहुँदै पुन: महाबौद्ध गुम्बामा पुगेर समापन हुनेछ । गुम्बामा मध्याह्नदेखि दुई बजेसम्म आचार्य साङ्गेगुञ्जा बरामबाट धर्मदेशना (प्रवचन) हुनेछ ।

दुई बजेपछि बुद्ध जयन्ती मूल समारोह सुरु हुने संयोजक गुरुङले जानकारी दिए । मूल समारोहका प्रमुख अतिथि भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी रहने छन् । बुद्ध जयन्ती सम्पन्न गर्न भरतपुर महानगरपालिकाले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको आयोजकको भनाइ छ । थप रकम समिति आफैले खर्च गर्ने संयोजक गुरुङले बताए ।

Forbes

महाबौद्ध तीनखोले गुम्बाका लामा छविराम गुरुङले बुद्धको शान्तिको सन्देश विश्वभर फैलिएको बताए । उनले बुद्ध जन्मेको देश नेपालमै बुद्धका सन्देश र बौद्ध धर्मलाई उपेक्षा गरिएको धारणा सुनाए । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख पूर्णिमाकै दिन भएकोले यस दिनको विशेष महत्व रहेको उनको भनाइ थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु