चितवन – लायन्सका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले लायन्स क्लबमा आबद्ध सम्पूर्ण लायनहरुलाई आफनो होम क्लबलाई बलियो बनाउन आग्रह गरेका छन् । होटल सिराइचुली भरतपुरमा मंगलबार आयोजित लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ आर, नेपालको लायन्स वर्ष २०२५/२०२६ का लागि निर्वाचित डिष्ट्रिक्ट क्याबिनेट अधिकारीहरू घोषणा कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै बुर्लाकोटीले यस्तो आग्रह गरेका हुन् ।
‘जुन ३० सम्म नयाँ साथीहरूलाई लायन्समा ल्याउनुहोस्, होम क्लबलाई बलियो बनाउनुहोस्’ लायन्सका अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटीले भने, ‘डिष्ट्रिक्ट गभर्नर इलेक्टले महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ । सबै पोष्टको महत्व छ । लायन्समा यात्रा निरन्तर चलिरहन्छ । गभर्नरले सबैलाई समेटेर अगाडि बढ्नु पर्छ ।’
लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ आर, नेपालका गभर्नर दीनानाथ न्यौपानेले आफूपछिका डिष्ट्रिक्ट गभर्नर र उनको टिमले यस डिष्ट्रिक्टलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । सोही डिष्ट्रिक्टका पूर्वगभर्नर डा। जयहरिराज पाण्डेले सेवा गर्ने हातहरू जति बढी जम्मा गर्न सक्यो, त्यति राम्रो हुने बताए ।
लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ आर, नेपालको लायन्स वर्ष २०२५/२०२६ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर नवराज सापकोटाको अध्यक्षतामा डिष्ट्रिक्ट क्याबिनेट अधिकारीहरू घोषणा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै सापकोटाले एकताले नै समाजमा स्थिरता ल्याउने भएकाले आफ्नो कार्यकालका लागि नारा ‘टुगेदर वी मेक चेञ्ज’ तय गरिएको जानकारी दिए ।
डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी डा. गंगा सापकोटाले संचालन गरेको कार्यक्रममा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट प्रभाकर पण्डितले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट दीपेन्द्रप्रसाद खतिवडाले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा उपस्थित क्याबिनेट अधिकारीहरुलाई नियुक्तिपत्र वितरण गरिएको थियो । कार्यक्रममा पूर्वगभर्नरहरू सिद्धार्थलाल चुके, रामप्रसाद भट्ट, प्रभातकुमार जोशीलगायत अन्य विभिन्न लायन्स क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो ।



