काठमाडौँ – शिक्षक आन्दोलनलाई ‘रमिता’ भनी टिप्पणी गरेकी नेतृ रामकुमारी झाँक्रीलाई आन्दोलनरत शिक्षक बिश्वर सिंह मेवाहाङले फेसबुकमार्फत् कडा जवाफ दिएका छन् । ती जवाफमा उनले झाँक्रीलाई केही महत्त्वपूर्ण सवाल पनि गरेका छन् ।
आदरणीय रामकुमारी झाँक्री दिदी
सादर नमस्कार
शिक्षकहरुले बढी नै रमिता देखाए भन्ने तपाईंको टिप्पणी सुनेर “रमिता” भन्ने शब्दको परिभाषा नै के हो भन्नेमा म कन्फ्युज्ड भएको छु । मेरा केही कन्फ्युजन निम्न बमोजिम छन् ।
१. तपाईले २०६० को दशकमा टाउकोमा फेटा बाँधेर सडक पेटीको रेलिङ भाँच्दै राज्यसत्ता विरुद्ध ढुंगा हानिरहदा त्यो बेलाको शासकहरुले पनि तपाईंलाई ” के रमिता देखाएको” भन्थे । त्यो साच्चै रमिता थियो कि आन्दोलन ?
२. २०७७ सालमा आफ्नै पार्टीको अध्यक्षको विरुद्धमा मुखमा टेप बाँधेर हिन्दी फिल्मी शैलीमा मञ्चमा इन्ट्री गर्दा तपाईलाई तपाईकै अध्यक्षले “रमिता देखाउने केटी” भनेका थिए । त्यो साच्चै रमिता थियो कि बिद्रोह ?
३. २०७८ सालमा मन्त्री पदबाट चिप्लिदाँ पत्रकार सम्मेलन मै क्वाक्वा रुनुभएको थियो । धेरैले “के रमिता देखाएको होला” भनेर टिप्पणी गरेका थिए । त्यो साच्चै रमिता थियो कि देशप्रतिको जिम्मेवारीबोध ?
अब हाम्रो आन्दोलनको रमिताको बारेमा केही बोलौ है त । हामीले १८ औ दिनसम्म निरन्तर आन्दोलन गरिरहेका छौँ । आन्दोलनमा कोहि गीत गाइरहेका छन् , कोहि नाचिरहेका छन् , कोहि जादु देखाइरहेका छन्, कोहि टिकटक बनाइरहेका छन् । यी साना तिना क्रियाकलापलाई रमिता भन्नुहुन्छ भने त्यो पनि स्वीकार छ । तर हामीले त जम्मा १८ दिन भो रमिता देखाएको , तपाईंहरुले कति वर्ष भो रमिता देखाएको यो देशमा ? तपाईंहरुको रमिता हेर्न नसकेर प्रत्येक दिन ३ हजार बढी युवाले देश छाड्ने गरेको देख्नु भएको छ ?
हाम्रो रमिता के को लागि हो भनेर तपाई जत्तिको राजनीतिज्ञले बुझ्न सक्नु भएन भने अरु नेताले के बुझ्लान । तपाईंहरु आफैले लेखेको संबिधानमा तीन वर्ष भित्र आवस्यक सम्पुर्ण कानुन निर्माण गरिसक्ने भन्ने बाध्यकारी प्रावधान उल्लेख गरिएको छ । दस वर्ष बितिसक्दा पनि एउटा शिक्षा ऐन बनाउन नसक्नुमा आत्मग्लानी हुदैन ? तपाई आफू एक चोटी सांसद हुँदा र एक चोटि मन्त्री हुँदा शिक्षा ऐन निर्माणको लागि के के भुमिका खेल्नु भयो भन्ने हेक्का छ ?
मलाई लाग्थ्यो तपाईं विद्यार्थी राजनीतिबाट आएको हुनाले नेपाली शिक्षा क्षेत्रको सम्पूर्ण समस्या, विकृती, बिसंगती राम्ररी बुझ्नु हुन्छ । यसको निराकरणको लागि कस्तो कानुन बनाउने भन्ने बारे तपाईंबाट गम्भीर सुझाबहरु आउनु पर्थ्यो । तर तपाईं पनि शासक भइसक्नु भएछ । आदेश दिन थाल्नु भयो । आदेश दिनु शासकहरुको विश्वव्यापी विषेशता हो । शासकहरुले समस्या सुल्झाउदैन, बल्झाउछ मात्र ।
र अन्त्यमा दिदी,
आफूले गरेका हरेक आन्दोलन आफ्नो लागि गौरवपुर्ण हुन्छ । तपाई आफूले २०५० सालदेखी अहिलेसम्म गरेका आन्दोलनहरु सम्झेर ल्याउनुस त, के ती आन्दोलनहरु तपाईंको लागि गौरवपुर्ण छैनन् ? कि तपाईंलाई आफुले गरेको आन्दोलनप्रती घृणा र पश्चताप छ ? हामी शिक्षकहरुले २०३६ सालदेखी निरन्तर आन्दोलन गरिरहेका छौ । आन्दोलनबाटै प्राप्त उपलब्धिको कारण हामी नेपाली शिक्षलहरु यतिको हैसियमा छौँ । हाम्रो आन्दोलनलाई तपाईं रमिता भन्नुस या तमासा, हाम्रो आन्दोलन हाम्रो लागि गौरवपुर्ण छ । आन्दोलनबाट उदाएको तपाईं जस्तो नेताले हाम्रो आन्दोलनलाई रमिता भन्नू मानसिक स्खलन बाहेक केही होइन । आगे उप्रान्त तपाईंको जय होस ।
नेतृ रामकुमारी झाँक्रीले फेसबुकमा यस्तो स्टाटस पोष्ट गरेकी थिइन्,
अब चाहि शिक्षकहरूको रमिता बढी भयो।
मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने भएको छ। के शिक्षकलाई कसैले पनि सुनेन त भनेर चासो राखें। मध्यस्तकर्ता जस्तो भए पनि केही न केही काम गरौ भन्ने लाग्यो। शिक्षक, सरकार र संसदको बिचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसंग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरें। तर उहाँहरू त संवाद नै नगर्ने रे? शिक्षा ऐन ऐले पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौ भन्नुहुन्छ। के ऐन सडकबाट पास हुने हो र?
विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुदैन? के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रम र नेताहरुले सडकबाटै ऐन पास गर्दिनुहुने रहेछ? समितिमा दफावार छलफलमा रहेको विधेयक पास नभई फर्कन्नौ भन्न मिल्छ? राज्यको तलव खाएका शिक्षक कर्मचारीले? भर्नाको बेला विधालय बन्द गरेर लाखौ विधार्थीको भविश्य अन्यौल बनाउन मिल्छ? निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेका छन।यहाँहरूले पढाएका कयौ विधालयको BLE को रिजल्ट सून्य छ। के यो विषयमा चिन्चित हुनहुन्छ? आगामी दिनमा सुधार्न के गर्नुपर्छ भनेर कतै छलफलमा रूचि देखाउनु भएको छ? ऐन आउँछ भनेर सरकारले प्रतिबद्धता जनाएको छ। सरोकारवाला सबैको चासो पनि छ ।शिक्षकहरूले यति सम्म ध्यानाकर्षण गराउनु ठिकै हो । किनभने ऐन पहिले नै आउनुपर्ने थियो, आउन सकेन। अब आउँछ। विधेयक समितीमा दफावार छलफलमा छ। विधेयक संसोधनसहित पास हुने भएकोले पनि छलफलले समय लिएको हो। अब भने विधेयक समितीबाट पास हुने प्रक्रिया छ। समितीले पास गरेपछि हाउसमा जान्छ। सरकारको प्रतिबद्धता छ, यो अधिवेशनमा ऐन आउँछ। सर/मेडमहरू अब विधालयमा फर्कनुस। आफ्नो जिम्मेवारी बहन गर्नुस। सरकार र संसदलाई विश्वास गर्नुस। जिम्मेवार नेता साथिहरू! ऐक्यवद्धताको रमिता तपाईहरू पनि नगर्नुस बल र कोर्ट दुबै तपाईकै खुट्टामा छ ।


