सानो विवादले उग्र रूप लिँदा वीरगञ्जको छपकैया क्षेत्र तनावग्रस्त

वीरगञ्ज – वीरगञ्जमा शनिवार हनुमान जन्मोत्सवको अवसरमा आयोजित शोभा यात्राका क्रममा दुई फरक समुदायबिच भएको हिंसात्मक झडपले सहर तनावग्रस्त बनेको छ ।

झडपमा प्रहरी र स्थानीय गरी कम्तीमा ४० जना घाइते भएका छन् भने ठूलो परिमाणमा सम्पत्ति नष्ट भएको छ । प्रहरीतर्फ पर्साका प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र सिंहसहित २५ जना घाइते भएको बुझिएको छ । प्रदर्शनकारीतर्फ १५ जना घाइते भएको पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले जानकारी दिए । घाइतेहरूको वीरगञ्जस्थित नारायणी अस्पताल, गण्डक अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको उनले बताए ।

छपकैया क्षेत्रमा शोभा यात्रा पुग्दा सानो विवादले उग्र रूप लिँदा व्यापक तोडफोड, आगजनी र झडप भएको छ । स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले शनिवार साँझ साढे ७ बजेदेखि आइतबार राति १२ बजेसम्म वीरगञ्ज सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकले परिस्थितिको गम्भीर मूल्याङ्कन गर्दै कर्फ्युको अवधि लम्ब्याउने निर्णय गरेको हो । शनिबारको घटनाले साम्प्रदायिक तनावको जोखिम बढाएपछि प्रशासनले धार्मिक सद्भाव कायम राख्न र थप हिंसा रोक्न कर्फ्यु निरन्तर राख्ने निर्णय गरेको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु