चितवन – मान्छेको जन्म र मृत्यु उसको हातमा हुँदैन । सामान्य अवस्थामा नौ महिना गर्भमा रहेपछि शिशुको जन्म हुन्छ तर कहिलेकाहीँ समयभन्दा अगाडि नै शिशुलाई जन्म दिनुपर्ने अवस्था आउँछ । हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीकी सजिना प्रजाले पनि नौ महिनामै बच्चालाई जन्म दिने सोचेकी थिइन् तर उनको गर्भमा रहेको शिशुलाई शल्यक्रिया गरेर साढे ६ महिनामै जन्माउनु परेको छ । यसरी जन्माइएको शिशुलाई थप ४२ दिनसम्म अस्पतालमा राखेर उपचार गरेपछि सोमबार साँझ घर पठाइएको छ ।
यसरी जन्माइएका शिशुकी आमा सजिना प्रजा गर्भवती अवस्थामा गत माघ २८ गते भरतपुर–१०, बालमन्दिररोडस्थित पुष्पाञ्जली हस्पिटल आइपुगिन् । उनको पेटमा साढे ६ महिनाको गर्भ थियो । गर्भवती अवस्थामा रक्तचाप बढेर दुई पटक बेहोस भएपछि बच्चालाई सकुशल जन्माउन भरतपुर आएको उनले बताइन् ।
‘बच्चा पेटमा छँदा प्रेसरले हानेर एक पटक घरमा र अर्को पटक हेटौँडाको अस्पतालमा म बेहोस भएँ’ पुष्पाञ्जलि अस्पतालबाट चैत ११ गते सोमबार डिस्चार्ज हुँदै गर्दाको अवस्थामा भेटिएकी सजिनाले भनिन्, ‘सुरुमा हेटौँडाकै अस्पतालमा गएका थियौँ । त्यहाँ उपचार सम्भव भएन । भरतपुर आएर मेडिकल कलेजमा र अन्य दुई वटा प्राइभेट अस्पतालमा लैजाँदा भेन्टिलेटरमा राख्नु पर्छ भने । अन्तिममा पुष्पाञ्जलि हस्पिटलमा आएर अप्रेसन गरी बच्चा निकालियो । अहिले बच्चाको अवस्था ठीक छ ।’
अस्पतालमा शल्यक्रिया गरेर जन्माइएका शिशु जन्मिँदा एक किलो एक सय ग्रामका थिए । ४२ दिनपछि अहिले शिशुको तौल एक किलो सात सय १० ग्राम पुगेको छ । जन्मपछि कृत्रिम श्वास दिइएको शिशुलाई ०५ दिनसम्म भेन्टिलेटरमा र २९ दिनसम्म एनआइसियुमा राखेर उपचार गरियो । अहिले ती शिशुले आफै सास फेर्छन्, हातगोडा फाल्छन्, रुन्छन् पनि ।
‘जन्मिँदा त यसको सास चलेकै थिएन’ शिशुलाई काखमा लिएकी सजिनाको आडैमा बसेकी मनिता प्रजाले भनिन्, ‘त्यस्तो बच्चा कहिल्यै देखेको पनि थिएनौँ, सुरुमा त डरायौँ । हेर्दै जाउँ, गर्दै जाउँ बच्चाको अवस्था गम्भीर नै छ, तपाइँहरुलाई ग्यारेन्टी नै दिन सकिँदैन भन्नुभएको थियो डाक्टरले । उपचार गर्दै जाँदा राम्रै भयो ।’
मनिता ती शिशुकी काकी हुन् । शिशु जन्मिँदाको क्षण र अहिलेको अवस्था देखेर दङ्ग परेकी उनी भन्छिन्, ‘आश त थिएन तर डाक्टरहरुले राम्रो उपचार गरेपछि अहिले बच्चा राम्रो अवस्थामा छ । बच्चा कम तौलको भएकोले अस्पतालको बसाइ लामै भयो ।’
पुष्पाञ्जलि अस्पतालका स्त्री तथा प्रसूति रोग विभागका डाक्टर रामप्रसाद सापकोटाको टिमले सजिनाको शल्यक्रिया गरेर शिशुलाई जन्माएको हो । जटिल केसलाई सफल बनाएका डाक्टर रामप्रसाद भन्छन्, ‘साढे ६ महिनाको गर्भवती सजिना बिहान ६ बजेतिर हामीकहाँ आउनु भएको थियो । प्रेसर १९०÷१२० थियो । गर्भवती भएको कारणले उहाँको प्रेसर बढेको थियो र उहाँ दुई पटकसम्म बेहोस भइसक्नु भएको थियो प्रेसरको झट्काले । यस्तो हुनुलाई गर्भवतीको मृत्युका कारणमध्ये प्रमुख मानिन्छ । यस्तो अवस्थामा जटिलता भयो भने गर्भवतीकै ज्यान जोगाउन पनि गाह्रो हुन्छ ।’
‘सर्जरी गर्नुबाहेक अरु विकल्प थिएन । शल्यक्रिया गरियो’ डाक्टर रामप्रसादले भने, ‘जन्मिँदा बच्चा एकदमै सानो थियो । तौल एक किलो एक सय ग्राम । एनआइसिइयुमा राखेपछि अहिले बच्चा राम्रो छ । हामीले समयमै शल्यक्रिया गरेर बच्चा निकाल्यौँ । यससँगै एनआइसियुमा बालरोग डाक्टरहरुको राम्रो प्रयासले बच्चाको स्वास्थ्यमा सुधार ल्याउन सम्भव भयो ।’
आफूले हेरेका केसहरुमा जन्मिँदा एक किलो तौल भएका बच्चाहरु पनि अस्पतालबाट राम्रो भएर गएको उदाहरण दिँदै उनले भने, ‘यो तेस्रो केस हो यस्तो खालको मैले हेरेको ।’
शिशुलाई जन्म त दिइयो तर शिशुको स्वास्थ्य अवस्था जटिल थियो । जन्मिएपछि सास नै नफेरेकोले नवजात शिशुलाई तत्काल भेन्टिलेटरमा राखियो । पछि एनआइसियुमा सारियो । पुष्पाञ्जलि अस्पतालका बालरोग विभागका डाक्टर योगराज शर्मा भन्छन्, ‘लगभग ११ हप्ता अझै आमाको पेटमा बस्ने समय बाँकी थियो बच्चाको । तौलको हिसाबले त्यति अप्ठेरो होइन । चाँडो जन्माउनु परेकोले एउटा समस्या त्यही नै भयो । अर्को कुरा, जन्मिने बेलामा आमाको स्वास्थ्यमा समस्या देखिएकोले बच्चालाई अप्ठेरो अवस्था थियो । उपचारबाट बच्चालाई सामान्य अवस्थामा फर्काइएको हो ।’
शिशुलाई सकुशल जन्म गराइयो । थप उपचारपछि स्वास्थ्य अवस्था पनि राम्रो भयो । यसरी समयअगावै जन्मिएका शिशुको भविष्यमा थप स्वास्थ्य समस्या आउला कि नआउला त ? डाक्टर योगराज भन्छन्, ‘बच्चाको अहिलेको उमेरमा हुनु पर्ने कृयाकलाप हेर्दा भविष्यमा कुनै समस्या आउने देखिँदैन । ४२ दिनमा ६ सय १० ग्राम तौल बढेको छ । बच्चाको आँखा परीक्षण गराउँदा अहिलेसम्म कुनै समस्या देखिएको छैन ।’


