भ्रष्टाचारविरुद्ध नेतृत्व गरे वापत मलाई यो देशका दलालहरुले षडयन्त्रपूर्वक सत्ताबाट बाहिर निकाले : प्रचण्ड

चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध नेतृत्व गरे वापत आफूलाई यो देशका दलालहरुले षडयन्त्रपूर्वक सत्ताबाट बाहिर निकालेको बताएका छन् । माओवादी केन्द्र जिल्ला समन्वय समिति चितवनद्वारा शनिबार भरतपुर–२३, कसराचोकमा आयोजित ‘जनतासँग माओवादी : तराई–मधेश जागरण सभा’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामी साँच्चै रुपान्तरण भयौँ भने जनताले हामीलाई साथ दिनेछ । हिजो हामीलाई सरकार पु¥याएको पनि जनताले नै हो । कसैको आशीर्वादले हामी सत्तामा पुगेका थिएनौँ’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतिक्रियावादीले अब माओवादीलाई दबाएर सकिँदैन भनेर खेल खेले, षडयन्त्र गरे ।’

त्यो षडयन्त्रलाई चिर्न तराई मधेश जागरण अभियान सञ्चालन गरिएको अध्यक्ष प्रचण्डले बताए । ‘तराई मधेशको ११ जिल्लामा हामी जनताकै घरमा बस्यौँ । मधेशमा अभुतपूर्व जनलहर देखियो । हामीप्रति जनताको भरोसा देख्यौँ’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘बिचमा कहीँ चुक्यौँ हामी । जालीझेलीहरुले फेरि यो देशलाई ठुलो दुर्घटनामा पार्न सक्छन् । जनताका अधिकार खोसिन सक्छ भनेर जनतालाई सचेत पार्ने काम ग¥यौँ ।’

जागरण सभालाई सम्बोधन गर्दै माओवादी केद्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादीको अभियानले प्रतिगमनकारीको हावा खुस्किइसकेको बताए । उनले समाजवाद ल्याउने नेपाली जनताको सपना साकार भइछाड्ने विश्वास व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति चितवनका ईन्चार्ज घनश्याम दाहाल अविनाशको अध्यक्षतामा संयोजक आरसी अधिकारीले सञ्चालन गरेको जागरण सभामा कलाकारहरुको प्रस्तुति समेत रहेको थियो ।

Forbes

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु