चितवन – पशुपालन र तरकरीखेतीको क्षेत्रमा काम गर्दै आइरहेको हेफर इन्टरनेशनल नेपालले अब दुग्ध उत्पादन क्षेत्रको रुपान्तरण गर्न मिल्कीवे कार्यक्रम अघि सारेको छ ।
हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा. केशव साहले मिल्कीवे कार्यक्रम देशकै दुग्ध उत्पादन क्षेत्रको रुपान्तरण गर्ने उद्देश्यका साथ पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड र हेफर इन्टरनेशनल नेपालले सामूहिकरुपमा कार्यान्वयनमा लैजाने जानकारी दिए । यो कार्यक्रम चितवनमा लागु गर्न हेफरले शनिबार चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघसँग एमओयु सम्झौता गरिसकेको छ ।
हेफर इन्टरनेसनल नेपालले आइतबार भरतपुरमा हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघबिच प्रारम्भिक बैठक सम्पन्न गरेको छ । सोही बैठकमा बोल्दै हेफर नेपालका डा. साहले भने, ‘हामीले केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ नेपालले मिल्कीवे कार्यक्रमबाट के सहयोग लिन सक्छ भनेर काम गर्नेछौँ ।’ दुग्ध उत्पादक किसानहरुले फाइदा लिन सकून् भनी मिल्कीवे कार्यक्रम ल्याइएको डा. साहको भनाइ छ ।
बैठकमा बोल्दै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले संघमा चितवनका १ सय १५ वटा दुग्ध सहकारी आबद्ध रहेको जानकारी दिए । ‘दैनिक ५ सयदेखि १५ हजार लिटर दूध संकलन गर्ने सहकारीहरु संघमा आबद्ध छन्’ अध्यक्ष बगालेले भने, ‘संघद्वारा संचलित दाना उद्योगबाट दैनिक १० टन दाना उत्पादन भइरहेको छ ।’
हेफर इन्टरनेशनलका भोला श्रेष्ठले मिल्कीवे कार्यक्रमबारे प्रस्तुति दिएका थिए । उनले उत्पादन लागत घटाउने र बजार व्यवस्थापन गर्नेमा यो कार्यक्रम केन्द्रित भएको बताए । हेफरका रुपी काफ्लेले सहजीकरण गरेको बैठकमा जिल्ला दुग्ध सहकारीका सचिव कल्याण अधिकारी लगायतले आफ्नो भनाइ राखेका थिए ।



