जन्मदिनमा विद्यार्थीलाई पत्रिका, शिक्षकलाई किताब

चितवन – नारायणगढका युवा व्यवसायी गुणराज दाहालले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई पुस्तक उपलब्ध गराउनु भएको छ । श्री पृथ्वी माध्यमिक विद्यालय कालिका नगरपालिका- ७ भटेनी, चितवनमा कक्षा ५ देखि ९ सम्म अध्ययनरत सबै विद्यार्थीलाई मुना, युवामञ्च, मधुपर्क र नारी पत्रिका उपलब्ध गराउनुभएको हो । दाहाल सोही विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ । उहाँले २०५४ सालमा उक्त विद्यालयबाट एसएलसी पास गर्नुभएको हो ।

व्यवसायसँगै सामाजिक सेवामा अनवरत सेवारत दाहालले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीलाई पठनीय सामग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले विद्यार्थीलाई मुनालगायतका पत्रिकासँगै शिक्षकका लागि ६ थान श्रीमद्भागवतगीता र १२ थान शिक्षक मासिक पनि उपलब्ध गराउनुभएको छ । जन्मदिनमा सेवामुलक र सिर्जनात्मक काम गर्दै आउनुभएका उहाँले आफूले दिएका यी पुस्तक तथा पत्रिकाको सहयोगमा शिक्षक, विद्यार्थी सबैमा ज्ञानको विस्तार हुने अपेक्षा लिनुभएको छ ।
पुस्तक वितरण कार्यक्रममा विद्यालयका सह प्रधानाध्यापक भवानी सिग्देल, प्राथमिक तह प्रमुख विष्णुलाल श्रेष्ठ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमृत लामिछाने पनि सहभागी हुनुहुन्थ्यो ।

शिक्षक श्रेष्ठले मुनालगायतका यी पत्रपत्रिका विद्यार्थीका लागि अत्यन्तै उपयोगी भएकोले नियमितरूपमा पढ्न र सिर्जनात्मक क्रियाकलापमा अग्रसर हुन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुली र पठन संस्कृतिका अभियन्ता तथा सम्पूर्ण किताबका सञ्चालक लेखराम सापकोटाले विद्यार्थीले पाठ्यक्रमका किताब सँगसँगै अतिरिक्त किताब पनि पढ्न जरुरी रहेको बताउनु भयो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु