प्राकृतिक चिकित्सालयलाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी

नवलपुर – देवचुली नगरपालिका–१६ रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान पढाउने गरी शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

२०६३ सालमा स्थापना भएको चिकित्सालयले २०६४ सालमा महायज्ञको आयोजना गरी आर्थिक स्रोत जुटाएर २०६७ सालबाट उपचार सेवा प्रारम्भ गरेको थियो । यसको औपचारिक उद्घाटन भने २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालबाट भयो । हाल यस चिकित्सालयमा देशका विभिन्न स्थानबाट र छिमेकी देशबाट मात्सर नभई युरोप, अमेरिकाबाट समेत उपचार सेवा लिन आउने गरेका छन् ।

५२ शैयाबाट संचालन सुरु गरिएको अस्पतालमा अहिले तीन सय शैया विस्तार गरिएको छ । अस्पतालका व्यवस्थापक हरि सापकोटाका अनुसार अहिले प्राकृतिक चिकित्सा विज्ञान शिक्षण अस्पताल सञ्चालनका लागि प्रक्रियाहरु अगाडि बढाइएको छ ।

चिकित्सालयले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षण अस्पतालको तयारी गरेको व्यवस्थापक सापकोटाले बताए । ‘हामीले पाठ्यक्रमसहित सम्पूर्ण तयारीको विवरण विश्वविद्यालयलाई बुझाइसकेका छौं, आवश्यक पूर्वाधार धमाधम निर्माण भएका छन् । केही हुने क्रममा छन्’, सापकोटाले भने ।

उनले पहिलो वर्ष चिकित्सालयमा ब्याचलर इन नेचुरोपेथी एन्ड योगा साइन्स (बीएनवाइएस) को कक्षा सञ्चालन गर्ने गरी प्रस्ताव नेपाल संस्कृत विश्वविद्यालयमा पेस गरिएको बताए । विश्वविद्यालयको आगामी सिनेटबाट यसलाई अनुमोदन गर्ने कुरामा आफूहरू विश्वस्त रहेको सापकोटाको भनाइ छ ।

Forbes

प्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणका लागि राष्ट्रिय योजना आयोगले विशेष अनुदानमार्फत १२ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘सम्बन्धन पाएमा यो वर्ष, नभए अर्को वर्षदेखि शिक्षण अस्पताल सञ्चालन गर्न सकिन्छ । हाम्रो तर्फबाट तयारीमा कुनै कमी छैन। निम्न, मध्यम र उच्च तहका जनशक्ति उत्पादन गरी चिकित्सालयलाई हामी देशकै गौरवका रूपमा विकास गर्न चाहन्छौं’, चिकित्सालय संचालक समिति अध्यक्ष सन्तबहादुर क्षेत्रीले भने ।

१० बिघा क्षेत्रफलमा फैलिएको यस अस्पतालमा आगामी असारदेखि आवासीय रूपमा तीन सय बिरामीलाई उपचार गर्ने गरी निर्माणको कामलाई तीव्रता दिइएको छ । अध्यक्ष क्षेत्री भन्छन्, ‘हामीले आवश्यक विभाग बनाएका छौं, छात्रावासलगायतको निर्माण अन्तिम चरणमा पुगेको छ । १० बिघा जमिन भोगाधिकार प्राप्त छ, अरू जमिन प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको छ ।’

आर्थिक र स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव

प्राकृतिक चिकित्सालयले शिक्षण अस्पताल संचालनका लागि आवश्यक गृहकार्यस्वरुप फागुनको पहिलो साता चिकित्सालयमा सरोकारवालाहरुबिच एकहप्ते कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सहभागी वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका सहप्राध्यापक डा. कृष्ण सापकोटा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरलाई प्राकृतिक चिकित्सक उत्पादन गर्ने कलेजका रुपमा अगाडि बढाउनु पर्ने बताउँछन् । यसो गर्न सकेमा नेपालको स्वास्थ्य र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ ।

नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष रमेशप्रसाद ढकालले चिकित्सालयलाई सम्बन्धन दिन ढिलाइ गर्न नहुने बताउँछन् । ‘यो त अत्यन्तै आवश्यक चिज हो, नेपालमा नै यो विषय पढाइ हुँदैन, आवश्यक सम्पूर्ण पूर्वाधार भएको रजहरको प्राकृतिक चिकित्सालय योग्य संस्था हो’, ढकालले भने ।

उनले तीनै तहका सरकारले अविलम्ब यो प्रक्रियालाई टुंगोमा पु¥याउन आवश्यक रहेको बताए । उनले भने, ‘पाठ्यक्रमहरू तयार छन्, यिनलाई समयसँगै परिमार्जन पनि गर्न सकिन्छ, आवश्यक पूर्वाधार पनि छ भने ढिलाइ गर्नु हुँदैन, यो देशका लागि आवश्यक विषय हो ।’ ढकालले अहिले नेपाल संस्कृत विश्वविद्यालयले सम्बन्धन बढाएर अघि बढ्दा राम्रो हुने र पछि आवश्यक परेमा विश्वविद्यालयका रूपमा विकास गर्न सजिलो हुने बताए ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालले चिकित्सालयको प्रस्तावलाई आफूहरूले निकै महत्त्वका साथ हेरेको बताए । उनले भने, ‘अहिले युनिभर्सिटीमा तालाबन्दी छ, सबै फाइललाई गम्भीरताका साथ अध्ययन गर्न पाएको छैन, तर यो निकै सकारात्मक कुरा हो । तालाबन्दी खुलेपछि प्रक्रिया अगाडि बढ्छ ।’ नेपालले चिकित्सालयको प्रस्ताव सकारात्मक रहेको बताए ।

विनाऔषधि र विनाशल्यक्रिया उपचार

रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका सेवाग्राही बालकृष्ण सिलवाल शर्मा यो ठाउँ स्वस्थ जीवनका लागि अनिवार्य गन्तव्य भएको बताउँछन् । उनी भन्छन्, ‘चिकित्सालयभित्र प्रवेश गर्नेबित्तिकै तपाईंलाई लाग्छ, म वास्तवमा सही ठाउँमा आइपुगेको छु । कर्मचारीहरूको शालीन र सरल व्यवहार, चिकित्सकहरूको अति नै बुझ्ने शैलीमा बिरामीहरूलाई दिइने सुझाव तथा सल्लाह आदिले तपाईंको केही रोग त यसै निराकरण भएको महसुस गर्न सक्नुहुन्छ ।’

रजहर सामुदायिक प्राकृतिक चिकित्सालय नेपालमा एक मात्र यस्तो चिकित्सालय हो, जहाँ विनाऔषधि र विनाशल्यक्रिया खानपान र प्राकृतिक पद्धतिबाट मानिसहरूका विभिन्न प्रकारका रोगहरूको निवारण गरिन्छ । रजहर सामुदायिक प्राकृतिक चिकित्सालय देश–विदेशमा बस्ने र लामो समयसम्म निरन्तर काम गरेर विश्राम चाहिरहेका या कुनै पनि रोगले सताएर दुःखपूर्ण जीवन बाँचिरहेका रोगीहरूकोे लागि महत्त्वपूर्ण गन्तव्य हुन सक्छ, जहाँबाट मानिसहरूले नयाँ जीवन पाएर आफ्नो ठाउँ फर्किन सक्छन् ।

यो चिकित्सालयको कारणले स्थानीय मानिसहरूले सेवा त पाएका छन् नै साथसाथै ५० जनाभन्दा बढी मानिसहरूले रोजगारी पनि पाएका छन् । विषयविज्ञ पाँच जना आवासीय चिकित्सकसहितको टोली बिरामीहरूको सेवामा सदा तत्पर रहेको चिकित्सालयका सहायक निर्देशक डा. आजाद पुरी बताउँछन् ।

चिकित्सालय संचालनपछि स्थानीयस्तरमा आर्थिक गतिविधिहरू बढेको छ । स्थानीयको साथ सहयोगमा सामाजिक सेवा र जनचेतनाका कामहरू यो चिकित्सालयले स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।

कस्ता मान्छे आउँछन् ?

यहाँ प्रायः तीन किसिमका मानिसहरू स्वास्थ्यलाभ गर्न आउने गरेको पाइन्छ । पहिलो खालका मानिसहरूमा किड्नीको डायलाइसिस गर्न आवश्यक ठानिएका रोगीहरू, प्रेसरको कारणले अंग नचल्ने अवस्थामा अर्थात् प्यारालाइसिस भएका बिरामीहरू, अप्रेसनबाहेक विकल्प छैन भनेर भनिएका नशा तथा हाडजोर्नीका बिरामीहरू साथै अन्य विविध गहिरो र जटिल प्रकृतिका रोग लागेका मानिसहरू ।

विराटनगरबाट उपचार गराउन आएका विज्ञान अधिकारीले आफ्नो अनुभव यसरी सुनाए, ‘यहाँको उपचार र खानपानले यो दुई महिनाको अवधिमा मेरो स्वास्थ धेरै राम्रो भएको छ । एक्सिडेन्टपछि मेरो पेटको आन्द्रा बटारिएको थियो र लामो समयपछि यसको अप्रेसन गरियो । तर, मलाई ठीक भएन । म झोल पदार्थबाहेक केही खान नसक्ने अवस्थामा थिएँ । हाल यहाँको उपचारपछि मेरो स्वास्थ्य राम्रो बन्दै आएको छ र यहाँ दिइएका ठोस खाने कुराहरू खान म सक्षम भएको छु । मलाई विश्वास छ यहाँको अनवरत उपचारले मेरो स्वास्थ्यमा धेरै सुधार आउनेछ ।’

दोस्रो प्रकृतिका मानिसहरू भन्नाले टन्सिल, पिनास, अल्सर, सुगर, प्रेसर, अनिन्द्रा, ढाडका रोगी, महिनाबारी गडबढी, निःसन्तानपन, दम, बाथ, कलेजोका रोगहरू, कब्जियत, पायल्स, माइग्रेन, मानसिक रोग आदिका रोगीहरू जो एकदेखि दुई महिनामा ठीक भएर जाने गर्छन् ।

राप्ती–१, गड्यौलीकी सुशीला राई भन्छिन्, ‘मेरो विगत २ वर्षदेखि खाना खाँदाखेरी अड्केजस्तो हुने, खाना खाएपछि गाँसैपिच्छे उल्टी हुने गथ्र्यो । हाल दुई महिनाको उपचारपछि पूर्ण रूपमा निको भएकी छु र यसका लागि चिकित्सालयको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

तेस्रो प्रकृतिका बिरामीहरू भन्नाले रुघा, खोकी, ज्वरो, अपच तथा शरीर शुद्धीकरणका लागि आउने बिरामीहरू अर्थात् शरीर सर्भिसिङका लागि आउने बिरामीहरू जो आफ्नो स्वास्थ्यप्रति सजग छन् । रोग लाग्नुभन्दा अघि नै निदानका उपायहरू खोज्ने र सानातिना रोगहरू लागिहालेका छन् भने पनि निको पार्न १० देखि १५ दिनसम्म यहाँ बसेर जानेहरू पनि छन् ।

महोत्तरी जिल्लाबाट उपचार गराउन आएकी रञ्जिता विश्वकर्मा भन्छिन्, ‘मेरो समस्या नशासम्बन्धी, पाइल्स र ग्यास्ट्रिक थियो, जुन १५ दिनको बसाइमा राम्रो भएको छ । मजस्ता बिरामीलाई आएर यहाँ उपचार लिनको निम्ति अनुरोध पनि गर्दछु, किनकि यहाँको सेवा अति नै विश्वसनीय र गुणस्तरीय रहेको पाएँ ।’

के–के छन् उपचारविधि ?

‘आहार नै औषधि, औषधि नै आहार’ यहाँको मूलमन्त्र रहेछ । फलाहार, रसाहार, उपवास र योग ध्यानसमेतमा अभ्यस्त गराउँदै नर्मल दुःखेका भागहरूको माटोपट्टी, आँखापट्टी, एनिमा, तातो तथा चिसो पानीमा खुट्टा डुबाउने, दुखेको भागमा तातो माटोले सेक्ने, हट हिप बाथ, लोकल स्टिम, स्टिम बाथ, सौना बाथ, पत्र पोटेली मसाज, भाइब्रो मसाज, शरीरको सम्पूर्ण अर्थात् तोकिएको भागको तेल वा पाउडर तथा सुक्खा मालिस, कम्मरपट्टी, छातीपट्टी, खुट्टा र हातपट्टी, जल नेती, रबरनेती, सूत्रनेती, कुन शरीरको सम्पूर्ण भागमा माटो लेपन, ठूलो आन्द्रा सफा गर्ने आदि केही महत्त्वपूर्ण विधिहरू हुन् ।

चिकित्सालयले बिरामीलाई आकाश, वायु, अग्नि (सूर्यको किरण), जल (पानी), पृथ्वी (माटो) आदि पञ्चतत्वको सहयोगको सहजता दिलाउन एवं खानपान र जीवनशैली परिवर्तनमा सहजीकरण गर्छन् ।

स्थापनाको पृष्ठभूमि

करिब १७ वर्षअगाडि यस ठाउँका स्थानीय युवा व्यवसायी हरि सापकोटा निकै बिरामी परे । विभिन्न अस्पतालहरू धाए । तर, स्वास्थ्यमा सुधार आएन र परिवारका सदस्य तथा गाउँलेहरूले अन्तिम उपायको लागि उनलाई भारतको गोरखपुरमा रहेको प्राकृतिक चिकित्सालय पठाए । एम्बुलेन्समा राखेर सारा गाउँले स्वास्थ्यलाभको कामना गर्दै बिदा गरे ।

जटिल प्रकृतिका धेरै रोग लागेकाले तीन महिनाको उपचारपछि पनि उनको समस्या निर्मुल हुन सकेन । निराश हुँदै उनी घर त फर्किए, तर बाँच्ने आशा मरेको थिएन । त्यसैले स्वदेशमा पनि त्यस प्रकारको उपचार केन्द्रको खोजी गरे । यसक्रममा पोखरामा पनि सोहीअनुसारको चिकित्सालय छ भन्ने सुनेकाले बाँच्ने आशा लिएर उनी पोखरा पुगे । पोखरामा डा. चन्द्रकान्त सुवेदीलगायत प्राकृतिक चिकित्साप्रेमी व्यक्तित्वहरूद्वारा संचालित चिकित्सालयमा सापकोटाको उपचार भयो ।

त्यहाँको तीन महिनाको उपचारपछि स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार भयो । नयाँ जीवन पाएको उमंगमा उनले तीन वर्षसम्म त्यही प्राकृतिक चिकित्सालयमा स्वयंसेवकको रूपमा सेवा दिए । त्यो अस्पताल विविध कारणले त्यहाँ चल्न नसक्ने अवस्था आयो । जीवन नै जान लागेका बिरामीको जीवन फर्काउन सक्ने यो उपचार पद्धतिलाई यसै मर्न दिन हुँदैन भन्ने अठोट उनको मनमा जाग्यो । तर, आफ्नो जन्म ठाउँमा आएर प्राकृतिक चिकित्सालयको स्थापना गर्ने महत्वाकांक्षी सपनासहित रात दिन बिरामीहरूको सेवामा जुटे ।

उनको अगुवाइ, स्थानीय मानिसहरू, संघसस्था, सम्पूर्ण राजनीतिक दल, भ्रातृ संगठनहरूको साथ सहयोगमा प्राकृतिक चिकित्सालय स्थापनाका लागि महायज्ञ लगाइयो । उक्त महायज्ञ वाचनशिरोमणि पण्डित दीनबन्धु पोखरेलले सञ्चालन गरेका थिए । सो महायज्ञबाट एक करोड ४३ लाख रुपैयाँ संकलन भयो ।

उठेको उक्त रकमले पोखरामा सञ्चालनमा रहेको चिकित्सालयलाई रजहरमा स्थानान्तरण गरियो । उपकरणलगायत अन्य भुक्तानीहरूसहितको स्थानान्तरणका लागि जम्मा १८ लाख रुपैयाँ लाग्यो । बाँकी रकमबाट बाउन्न शय्याको चिकित्सालयको भौतिक संरचना निर्माण गरी २०६७ सालबाट अस्पताल सञ्चालनमा आयो ।

सरकारी क्षेत्रको चासो र सहयोग

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले १० बिघा जग्गाको भोगाधिकार र नेपाल सरकारको पहिलो अनुदान २० लाख रुपैयाँबाट चिकित्सालय सुरु भयो । करिव ८ सय साधारण सदस्य तथा ५ सय आजीवन सदस्य रहेको यस चिकित्सालयमा २९ जनाको कार्यकारी समिति छ । कार्यसमितिमा देशका विभिन्न भागबाट ६ जना मनोनित गरिन्छ । प्रत्येक ४ वर्षमा साधारण भेलाले कार्यकारी समितिको चयन गर्छ ।

यहाँ सय जना बिरामीहरूलाई दैनिक रूपमा सेवा दिन सक्ने गरी शय्याहरूको व्यवस्था गरिएको छ । अन्य सहयोगीहरूसहित झन्डै तीन सय जति दैनिक रूपमा रहन सक्ने गरी व्यवस्था गरिएको छ । महिला तथा अशक्तहरूको लागि छुट्टै किसिमको उपचार युनिटहरूको व्यवस्था गरिएको छ । प्रत्येक दिन बिहान र बेलुका गरी दुई सिफ्टमा उपचार हुने गरेको छ ।

विभिन्न पेसा र व्यवसायमा आबद्ध राष्ट्रिय व्यक्तित्वहरूले यहाँ आएर सेवा लिने गरेका छन् । त्यसो त गणतन्त्रपछिका सबै प्रधानमन्त्री तथा उच्च ओहोदामा रहेका राष्ट्रिय व्यक्तित्वहरू पनि विभिन्न समयमा विभिन्न कार्यक्रमको अवसरमा तथा अनुगमन एवं अवलोकनको क्रममा यहाँ आएर सामुदायिक प्राकृतिक चिकित्सालयले दिइरहेको सेवाबारे जानकारी लिने गरेका छन् ।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पटक–पटकको अनुदानमा करिब आठ करोड रुपैयाँको लगानीमा ६२ कोठाको बिरामी आवास भवनको निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको पूर्ण अनुदानमा ३० लाख रुपैयाँको लगानीमा आधुनिक महिला उपचार भवन निर्माण भएको छ । यहाँ ज्याकुजी, अन्डरवाटर मसाजर, सर्कुलर जेठ तथा स्पाइनल स्प्रे, वाटरपुल थेरापी, डिलक्स हिपबाथ, कोलोन हाइड्रो थेरापी आदि सेवा दिने गरिएको छ ।

देवचुली नगरपालिकाको अनुदानमा बिरामीहरूको लागि भोजनालय भवन र नेपाल सरकारले अनुदानमा गार्ड घर, पार्किङ, दाता स्मारक भवन निर्मित छ । करिब ७५० मिटरको बिरामी परिभ्रमण ट्रयक जिल्ला विकास समिति तथा स्थानीय दाताको संयुक्त लगानीमा निर्माण गरिएको छ । गौपालन, गार्डेन र डिप बोरिङमा चौधरी ग्रुपको विशेष सहयोग रहेको छ । बिरामीहरूलाई अर्गानिक खानपान तथा मह–कागती पानी व्यवस्थापनका लागि ४० घार मौरी र अर्गानिक तरकारी खेती चिकित्सालयले नै व्यवस्था गरेको छ । करिब ४० हजार लिटरको ओभरहेड पानी ट्यांकीको व्यवस्था पनि चिकित्सालयले गरेको छ ।

यहाँ २३ कोठे सुविधा सम्पन्न आवासगृह पनि छ । श्यामकृष्ण स्मृति भवनले चिनिने यो आवासगृह क्षेत्रपुर निवासी गौरीदेवी प्रधानले आफ्ना स्वर्गीय श्रीमानको स्मृतिमा निर्माण गराएकी हुन् । स्किन सोराइसिसजस्तो जटिल रोग जुन अन्य विधाको उपचार पद्धतिबाट सन्चो हुँदैन भन्ने गरिन्छ, त्यस्तो रोग प्राकृतिक चिकित्सा उपचार रजहरको उपचारपछि निको भएपश्चात् गौरीदेवीले स्वर्गीय श्रीमानको स्मृतिमा यो भवन निर्माणमा सहयोग गरेकी हुन् ।

कोरोना महामारीमा उत्कृष्ट सेवा

चिकित्सालयले गर्दै आएका सामाजिक गतिविधिहरू पनि अनुकरणीय छन् । कोभिड १९ को महामारीका वेला यस चिकित्सालयमा आठ सयभन्दा बढी संक्रमितले सेवा पाएका थिए । जो यहाँ उपचारका लागि आइपुगे, उनीहरू सबैको जीवनरक्षा भयो । अर्थात्, सो समयमा बिरामीहरूको मृत्युदर शून्य प्रतिशत रह्यो ।

चिकित्सालयका स्टाफहरूले सात महिनासम्म पूर्ण रूपमा अनवरत सेवा प्रदान गरे । व्यवस्थापक सापकोटा भन्छन्, ‘कोभिड महामारीका वेला देशैभर त्रासको वातावरण थियो । संक्रमितहरूको मृत्युको संख्या बढ्दै गर्दा सबैमा त्रास थियो । घर बसे पनि मरिने, अस्पताल गए पनि नबाँचिनेजस्तो अवस्था आएको थियो । यस्तो त्रासको वेला सामुदायिक प्राकृतिक चिकित्सालयले आठ सयभन्दा बढी संक्रमितलाई सेवा दियो । यहाँ उपचारका लागि आइपुगेका कसैको पनि मृत्यु भएन् । सबै कोरोना जितेर घर फर्किनुभयो । हाम्रो लागि चुनौतीपूर्ण त्यो समयमा दिइएको सेवा निकै अर्थपूर्ण रह्यो ।’

प्रांगारिक खेतीतर्फ स्थानीय कृषकहरूलाई जागरण गर्ने र आयआर्जनका गतिविधिहरूमा विभिन्न हिसाबले उत्प्रेरणा जगाउने जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । स्वस्थ जीवनशैलीका लागि आवश्यक पर्ने खाद्यवस्तुहरूको उपार्जनको लागि सहयोग गर्दै आइएको छ । यसको अलावा देवचुली नगरपालिकाभित्रका बोटे, मुसहर, माझी, थारू र अन्य सीमान्तकृत वर्गका मानिसहरूको विशेष गरेर छोरीहरूले कृषि तथा भेटेरेनरी अर्थात् प्राविधिक शिक्षाका लागि हाललाई पाँच वर्षसम्म सहयोग गर्ने गरी १५ लाख रुपैयाँको कोषको स्थापना गरिएको छ । यसमा मातृसेवा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । जसका संस्थापक सफल उद्योगपति हरिप्रसाद पाण्डे हुन् ।

चिकित्सालयका निर्देशक डा. विनोद पौडेलका अनुसार चिकित्सालयले स्थानीय समूह, संघ, संस्था, स्कुल कलेज, सहकारीहरूसँग सहकार्य गर्दै योग र प्राकृतिक चिकित्साको महत्त्व, जीवनशैली सुधारसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ । देशव्यापी रूपमा ७७ वटै जिल्लामा त्यस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

‘भान्सा नै औषधालय साथै महिला स्वास्थ्य जागरण कार्यक्रम, नसर्ने रोगहरूमा खानपिन र जीवनशैली परिवर्तन आजको आवश्यकता, स्वास्थ्यका लागि खेलकुद, प्राकृतिक जीवनशैली साथै योगाभ्यास, प्राथमिक उपचार साथै इमर्जेन्सी म्यानेजमेन्ट आदि चिकित्सालयले सञ्चालन गर्दै आएका कार्यक्रमहरू हुन्,’ निर्देशक पौडेल भन्छन्, ‘निःशुल्क चिकित्सक परामर्श र योग कक्षा स्थानीयस्तर र देशव्यापी रूपमा सञ्चालन गरिरहेका छौँ । उपचार नपाए रजहर जानु भन्न सकिने अवस्था बनेको छ ।’

निर्देशक पौडेलका अनुसार रजहरको यस चिकित्सालय अस्पतालको पनि अस्पतालको रूपमा पहिचान बनाइसकेको कारणले गर्दा मानिसहरूले धेरै सेवाहरू प्राप्त गरेका छन् । चिकित्सालयले प्रदान गरेको एम्बुलेन्स सेवाको कारणले मानिसहरू ढुक्कसँग सुत्न पाएका छन् । चिकित्सालयले घरघरमा अक्सिजन सेवा, अशक्तहरूका लागि घरैमा ल्याब टेस्टको लागि रक्त संकलन कार्यदेखि लिएर चिकित्सक सेवा र अवस्था क्रिटिकल भएका बिमारीलाई घरमै उपचार सेवासमेत प्रदान गर्ने गरिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु