डिग्री पास गरेकी सीता अष्ट्रेलियामा कपाल काट्छिन्

चितवन – नेपालमा रोजगारी पाउन कति गाह्रो छ भन्ने कुरा लोकगायक पशुपति शर्माको गीत ‘काम पाइएन डिग्री पास गरेर…’ ले प्रष्ट पारेकै छ । उनको गीतमा भनेझैँ काम नपाएपछि कृषि कर्ममा लागेकाहरु थुप्रै छन् । नवलपुरको अरुणखोलाकी सीतादेवी सापकोटाले भने डिग्री पास गरेर कृषि कर्ममा लाग्नु परेन । पढाईसँगै सिकेको ब्युटी पार्लरको सीपले उनी स्वरोजगार मात्र भइनन्, अरुलाई रोजगारी दिन समेत सफल भइन् । अहिले उनी अष्ट्रेलियाको डार्बिन सहरमा ब्युटी पार्लरमा हेयर ड्रेसिङको काम गर्छिन् ।

नेपालमा सौन्दर्य क्षेत्रमा अलराउण्डर काम गरे पनि विदेशमा भने विशिष्टीकृत सेवा नै दिनु पर्ने प्रावधान रहेको सीता बताउँछिन् । उनी भन्छिन्, ‘विदेशमा हामीले ब्युटी पार्लरमा काम गर्दा कि कपाल, कि नङ, कि छाला रोजेर एउटा विशिष्ट काम गर्नुपर्ने हुन्छ । नेपालमा जस्तो अलराउण्डर काम गर्न पाइँदैन ।’

बागलुङको दमेकमा जन्मिएर नवलपुरमा हुर्किएकी सीताले भानुदय मावि दुम्कीबासबाट एसएलसी पास गरिन् । जनता मावि अरुणखोलाबाट प्लस टुको शिक्षा सकाएपछि स्नातक र स्नातकोत्तर तहको पढाई पद्मकन्या कलेज काठमाडौँबाट पूरा गरिन् । पढाइ सकेपछि सीताले २०६७ सालमा नारायणगढको शहीदचोकमा काया ब्युटी शैलुन एण्ड एकेडेमी स्थापना गरिन्, जहाँ अहिले पनि दर्जनौँ महिलाले ब्युटी पार्लरको सीप सिकिरहेका छन् । सीता आफू भने छोरीको पढाईका लागि अष्ट्रलिया पुगेर रोजगारीमा रमाइरहेकी छन् । उनकी छोरी डार्बिन सहरको एक स्कुलमा कक्षा ११ मा पढ्छिन् ।

बुवाको चौरासी पूजामा सहभागी हुन केही दिनअघि नेपाल आएकी सीता अष्ट्रेलिया फर्कंदैछिन् । छोरीको भविष्यका लागि अष्ट्रेलियामा श्रम गरिरहेकी सीता केही वर्षपछि नेपाल फर्किएर थुप्रै छोरीहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने अभियानमा प्रत्यक्ष जुट्ने बताउँछिन् । उनको अनुपस्थितिमा पनि काया ब्युटी शैलुनमा चार जना प्रशिक्षकले तालिम दिने कामलाई निरन्तरता दिइरहेका छन् ।

सौन्दर्यकर्मीको पेशा भनेको कोठाभित्रै रहेर सेवा दिन सकिने सरल पेशा भएको सीताको भनाइ छ । सीप सिकेपछि स्वरोजगार बन्नको लागि सानो पुँजीले पनि काम गर्न सकिने उनी बताउँछिन् । आफ्नो पेशाबारे उनी भन्छिन्, ‘यो पेशा भनेको महिला दिदीबहिनीहरुलाई स्वाबलम्बी बनाउने पेशा हो । विदेशतिर सीपलाई प्राथमिकता दिन्छन् ।’

Forbes

पढाइ सँगसँगै सीपलाई पनि प्राथमिकता दिनु पर्ने सीताको भनाइ छ । सीपबिनाको डिग्री अर्थहीन हुने बताउँदै उनी भन्छिन्, ‘मानिससँग सीपै भएन भने शिक्षाले मात्रै केही पनि गर्दैन । मैले यो पेशा गर्दै गर्दा पढाईसँगै सीपलाई पनि अगाडि लिएर गएँ ।’ ब्युटिसियनहरुले राज्यका विभिन्न निकायमा कर तिरेर पनि सुविधा भने केही पनि पाउन नसकेको उनको गुनासो छ ।

ब्युटिसियनको पेशा अहिले नेपालमा इज्जतपूर्ण पेशा बनिसकेको उनी बताउँछिन् । विगतमा भने पढेलेखेको मान्छेले पनि हजाम काम गर्ने ? भनेर प्रश्नको सामना गर्नु परेको स्मरण गर्दै उनी भन्छिन्, ‘हाम्रो पेशाको इज्जत बढाउने काम विदेश गएकाहरुले गर्नुभयो । विदेश पुगेपछि उहाँहरुले थाहा पाउनु भयो कि जुन क्षेत्रमा गए पनि सीप त चाहिँदोरहेछ ।’

सीपबिनाको शिक्षाले अगाडि बढाउन नसक्ने सीता बताउँछिन् । शिक्षा सँगसँगै सीपलाई अगाडि बढाउनु पर्ने उनको धारणा छ । आफूसँग सीप भयो भने अन्तर्राष्ट्रिय बजारमा बिक्न सकिने उनको अनुभव छ । उनी भन्छिन्, ‘शिक्षाले बौद्धिक स्तर बढाइदिन्छ । यदि शिक्षामा सीप छैन भने त्यस्तो शिक्षाले कहीँ पनि पु¥याउँदैन ।’

अष्ट्रेलियामा काम गर्दा सीताले आफूसँग भएको सीपको कारण काम त पाइन तर उनलाई भाषाले समस्या पारेछ । डिग्री सकेको १५ वर्षभन्दा बढी भएको हुँदा अङ्ग्रेजी भाषामा समस्या भोग्नु परेको उनले बताइन् । आइएलटिएस परीक्षामा आवश्यक स्कोर प्राप्त गरेकी उनले कामकाजमा भने अङ्ग्रेजी भाषाको ज्ञान राम्रो हुनुपर्ने अनुभव गरिन् । भाषाको कारण भोग्नु परेको समस्या बताउँदै उनी भन्छिन्, ‘कुनै कुनै बेलामा मलाई गाह्रो भयो । प्रभावकारी ढंगले सेवाग्राहीसँग कुराकानी गर्न सकिन । पछि पछि बानी पर्दै गयो ।’

स्वदेशमा होस् वा विदेशमा, हातमा सीप भयो भने सीप सजिलै बिक्ने सीता बताउँछिन् । नेपाललाई समृद्ध बनाउनको लागि सीपलाई प्राथमिकता दिनै पर्ने उनको भनाइ छ । ब्युटिसियन बनेको १८ वर्ष भइसक्दा पनि सिक्ने क्रम जारी रहेको उनले बताइन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु