धनुषा – धनुषाको इलाका प्रहरी कार्यालय ढल्केबरले आफूलाई डीएसपी भन्दै ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा, लाहान नगरपालिका-२० का २० वर्षीय दीपक साह उर्फ धनिकलाल साह रहेका छन्।
उनले आफूलाई नेपाल प्रहरीको डीएसपी हुँ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने गरेको खुल्न आएको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका-४ का रमेश श्रेष्ठलाई प्रहरीको पावरको हवाला दिँदै विश्वासमा पारेर रु ५०,००० ठगी गरेपछि घटना बाहिर आएको हो।
साह पैसा लिएर फरार भएपछि श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि प्रहरीले अनुसन्धान तीव्र पारेको थियो, जसको आधारमा साहलाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन्। कहिले घुमुवा, कहिले आर्मी, कहिले डिएसपी भनेर हिडेको खुलेको छ ।
सप्तरी, सिराहा तथा अन्य जिल्लामा पनि साहविरुद्ध उजुरी परेको प्रहरी निरीक्षक यादवले बताए । साहलाई धनुषाको अन्तिम नाका पोर्थाहाबाट पक्राउ गरिएको र उनले १० जना लाई ठगी गरेर भागेको स्विकारेको प्रहरी निरीक्षक यादवले बताए ।
प्रहरीका अनुसार, पक्राउ परेका धनिकलाल साह विभिन्न समयमा आफ्नो परिचय परिवर्तन गर्दै ठगी गर्ने गर्थे। कहिले नेपाली सेना भएको त कहिले प्रहरी अधिकारी भएको भन्दै मानिसहरूलाई झुक्याएर ठगी गर्ने गरेको खुलेको छ। हाल उनलाई ठगी कसुरमा धनुषा जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


