धनुषा – धनुषामा सडकमा हुने दुर्घटनामा कमी आएको छ । आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक तुलनामा सडक दुर्घटनामा कमी आएको हो ।
धनुषा जिल्लाभर चालु आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म ६ महिना ५०६ दुर्घटना भएको छ । जसमा २६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा यो अवधिमा ५९८ सडक दुर्घटना भएको थियो । जसमा ३९ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
विगत आर्थिक वर्षमा तुलनामा यो चालु आर्थिक वर्षमा ९२ सवारी दुर्घटना कम र १३ जना कम मानवीय क्षति भएको देखिन्छ ।दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

‘न्यून जनशक्तिका बाबजुद पनि जनकपुरधाम बजार क्षेत्रमा जडान भएको ट्राफिक लाइट कार्यान्वयन गरिराखेका छौं,’ ट्राफिक प्रमुख हरि वलीले भने, ‘अहिले नयाँ छ । बिस्तारै जनशक्ति व्यवस्थापन पनि होला ।’ ट्राफिक सचेतनाका लागि विभिन्न अभियानहरु जारी राखेकाले दुर्घटना न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी निरीक्षक वलीले बताए ।
जनकपुरधाम प्रदेशको राजधानी भएसँगै सवारी साधनको चाप बढेकाले ट्राफिक व्यवस्थापन मुख्य चुनौती बताउँदै उनले यसलाई आफ्नो कार्यकालभर सुधार गर्ने अहिले सम्म सफल भए । नागरिकहरुलाई ट्राफिक सम्बन्धी थप जनचेतना जगाउने, अव्यवस्थित पार्किङ्गलाई व्यवस्थित गराउने, यातायात र यात्रुको निश्चित मापदण्ड बनाई कार्यान्वयन गर्ने र सवारी आवगमनलाई चुस्त र दुरुस्त बनाउने उनले बताएका छन् ।

केही सातादेखि मौसममा आएको परिवर्तनले नेपालको तराई भागमा चिसो बढेको छ। चिसोको कारण तराई क्षेत्र लगायतका जनजीवन प्रभावित बनेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा द्धारा जाडो मौसमलाई मध्य नजर गर्दै बाटोमा दाउरा बालेर जनतालाई तथा सम्पूर्ण चालकहरुलाई सहजता पनि दिदै गरेको छ ।

धनुषा जिल्ला ट्राफिक कार्यालयले समय समयमा दुई पाङ्ग्रे सवारी साधनको संख्यामा भएको वृद्धिले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै विभिन्न प्रकारको सचेतना कार्यक्रमको आवश्यकतालाई पहिचान गरेर नियमित कार्यक्रमहरु गर्दै गरेको उनले बताए । वलीले भने, ‘दुई पाङ्ग्रे सवारी साधनका चालकहरूमा ट्राफिक नियमहरूको पालनाका बारेमा सचेतना अभिवृद्धि गर्ने हो भने दुर्घटनाको दर घटाउन सकिन्छ । यस कार्यक्रमले स्थानीय सवारी चालकहरूमाझ सुरक्षित सवारीको महत्त्वबारे सन्देश पुर्याउने अपेक्षा गरिएको छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सवारी चालकलाई सवारीसाधन सञ्चालन गर्दा गति सीमित गर्न र बत्ती बालेर मात्रै सञ्चालन गर्न सचेत गराइरहेको छ ।


