बिश्वास-बिश्वासघात, धोका र धोकेबाज !

धोकेबाज हौ तिमी धोकेबाज !

गायिका एलिना चौहानको यो गित नेपालका युवायुवती बिच अतिनै लोकप्रीय छ । हुन त अहिले उनको बैबाहिक जिवनमा खटपट परेको समाचारपनी मिडियामा आइरहेका छन । श्रीमान श्रीमतीबिच जिवनमा सामान्य मनमुटाब र तितामिठा क्षणहरु आउनुलाई दुबैपक्षले सामान्यरुपमै लिनुपर्छ । गितमै गाइएजस्तो एउटाले अर्कोलाइ धोकेबाजको रुपमा धारेहात लगाउनुपर्ने अबस्था नआओस भन्न चाहान्छु । आजको लेखमा मैले बिश्वास – बिश्वासघात, धोका र धोकेबाजको बारेमा केही प्रष्ट पार्ने जमर्को गर्नेछु । आउनुहोस अब यी शब्दहरुको साबधिक परिभाषाबाटै यसको अन्तरभाब बुझ्नेतिर लागौ !

विश्वास (Trust) के हो ?

विश्वास भन्नाले कुनै व्यक्तिको वा परिस्थितिको सापेक्षमा एउटा यस्तो मनोभाव हो, जसले आपसी सम्बन्धलाई मजबुत बनाउँछ । यो भावना आत्मीयता, इमानदारीता र आपसी समझदारीबाट निर्माण हुन्छ । जब कसैले अर्को व्यक्तिप्रति विश्वास प्रकट गर्दछ, त्यसले ती दुईबीच पारस्परिक सहयोग र सकारात्मक सम्बन्धको जग बसाउँछ । विश्वास एउटा पबित्र सम्बन्धको आधारशिला हो, चाहे त्यो पारिवारिक, साथिभाई बिचको मित्रता, शुभचिन्तकको आशिर्वाद, व्यवसायिक वा सामाजिक सम्बन्ध नै किन नहोस् ।

विश्वासघात (Betrayal) के लाई भन्ने ?

Forbes

विश्वासघात भनेको कसैको विश्वासलाई तोड्नु, गोपनियता भंङ्ग गर्नु, झुटो बोल्नु, बाचाकसम तोडनु, अन्तर्घात गर्नु, धोखाधडी गर्नु वा धोका दिनु हो । यो एक प्रकारको मानसिक र भावनात्मक आघात हो, जसले सम्बन्धलाई कमजोर वा पूर्ण रूपमा समाप्त गर्नसक्छ । विश्वासघातले मानवीय सम्बन्धमा गहिरो चोट पुर्‍याउँछ र यसले व्यक्तिमा बदलाभाब, निराशा, क्रोध र दुःखको भावना जन्माउन सक्छ । बिश्वास दिलाएर घात गर्नुनै बिश्वासघात हो भने त्यस्तो गर्ने ब्याक्ती बिश्वासघाती हो भनेर बुझ्नुपर्ने हुन्छ ।

धोका (Deception) के हो ?

धोका भन्नाले कसैले कसैलाई जानिजानि झुटो जानकारी, गलत सल्लाह, झुटो आश्वासन दिनु वा छलकपटपूर्ण व्यवहारद्वारा भ्रममा पार्ने कार्यलाई जनाउँछ । यो एक प्रकारको व्यवहार हो, जसमा सत्यता लुकाइन्छ, गलत तथ्य प्रस्तुत गरिन्छ वा कसैलाई कसैले व्यक्तिगत फाइदाका लागि ठगिन्छ वा प्रयोग गरिन्छ । हाम्रो गाउघरतिरको ठेट नेपाली भाषामा भन्नुपर्दा बलिकोबोका बनाउने भनेरपनि भन्नेगरिन्छ । हिन्दिमा यसलाइ धोखा भनिन्छ भने नेपालीमा धोका ।

धोकेबाज (Deceiver) कसलाइ भन्ने ?

धोकेबाज भन्नाले अर्काको विश्वास तोड्नका लागि योजना बनाएर काम गर्ने वा षडयन्त्र गर्ने व्यक्ति हो । यस्ता व्यक्तिहरू आफ्ना स्वार्थको लागि अरूलाई झुटो आश्वासन दिन्छन् र विश्वासघात गर्दछन् । धोकेबाजको स्वभावले इमानदारीता र विश्वासको महत्वलाई नकार्छ र यसले उनीहरूलाई अरू मानिसहरूबाट अलग गराउन सक्छ। आफ्नो स्वार्थपुर्तिका लागि यस्ता मानिसहरु जुनसुकै मूल्य चुकाएर भएपनी जस्तोसुकै पनि कामगर्न अग्रसर हुनसक्छन । त्यसरी धोका दिने ब्याक्तीलाइ नै धोकेबाज भनिन्छ । बिश्वास र विश्वासघात को कथा मानव जीवनको अपरिहार्य हिस्सा बनिसकेको छ । विश्वासघात गर्ने व्यक्तिले एक दिन आफ्नो कर्मको फल अबश्य भोग्नेछ त्यसैले विश्वासघातलाई आत्म-परिवर्तन र नयाँ सुरुवातको मौका मान्नुनै नयाजिवनको सफलताको सुत्र हुनसक्छ ।

विश्वासघात र धोकेबाजको पीडा र परिणाम लामो समयसम्म रहन्छ । पिडितले बिर्सन चाहेरपनी तुरुन्तै बिर्सिन सक्दैन, मनमा बसिरहन्छ । यसले पीडितमा डर, ग्लानी, असुरक्षा, आत्मविश्वासको कमी र नकारात्मक सोचको विकास गराउदै लैजानसक्छ । धोकेबाजीहरुबाट प्रभावित व्यक्तिहरुले नयाँ सम्बन्धहरूमा छिटो विश्वास गर्न गाह्रो महसुस गर्न सक्छन् । समाजमा विश्वासघातले मानिसहरूबीचको आपसी सम्बन्धलाई कमजोर बनाउँदै सामूहिक रूपले सामाजिक एकतामा ह्रास ल्याउछ ।

विश्वासघाती र धोकेबाजीबाट जोगिनको लागि सम्बन्ध गास्न खोजिएका ब्याक्तिहरुसंग साबधानीपुर्बक सम्बन्ध निर्माण गर्नुपर्छ । सासानो घटना वा कुरालाइ निग्रानिमा राखेर विश्लेषण गर्नु बुद्धिमानी हुनसक्छ । कसैले कसैलाई आखा चिम्लेर विश्वास गर्नुअघि उनीहरूको स्वभाव र व्यवहारबारे बुझ्ने प्रयास गरिरहनुपर्छ । हेर्दा राम्रो, खाइलाग्दो चिटिक्कको रुप, सरल ब्याबहार छ भन्दैमा वा देखिदैमा उसको मनभित्र लुकेको अपराधिक भावना बुझिदैन ।

आफूले सोचिरहेको र महसुस गरिरहेको बिषयमा उ कति सहमत छ र कति असहमत छ भन्ने कुरालेपनि धेरै अर्थ राख्दछ । उ प्रष्ट बक्ता हो वा चिप्लो घसेर बिस्तारै भ्रम छर्दै बोल्ने ब्याक्ती हो भन्नेमा साबधानिपुर्बक विश्लेषण गरेर बुझ्ने प्रयास गर्नुपर्छ । हरेक सम्बन्धमा ब्याक्तिगत सिमाहरु तोक्नुपर्छ र कसैले ती सिमारेखाहरुलाइ पार गर्नखोज्छ वा त्यस्ता सिमारेखालाइ हल्का ढङ्गले लिन्छ, हासीमजाकमा उडाउछ भने तपाईं सतर्क रहनैपर्छ । कहिलेकाही सामान्य गल्ती वा परिबेशलाइ हामिले सहजै माफपनि गरिदिन्छौ । माफी दिनु स्वास्थ र महानता हो तर दिइएको माफिबाट पाठ सिक्नुपनि अति जरुरी हुन्छ । यदि बारम्बार विश्वासघात हुन्छ भने यस्तोमा पटक पटक माफिदिनु बेबकुफी हो, भविष्यमा यस्तो गल्तीगर्ने ब्याक्तीबाट बच्न अझै साबधानी अपनाउनुपर्छ ।

विश्वास भनेकै व्यक्ति-ब्याक्तीबीचको सम्बन्धलाई बलियो बनाउने र शान्तिपूर्ण समाजको निर्माण गर्ने आधारशिला हो । यसको अभावले व्यक्तिगत सम्बन्धमा समस्या ल्याउँछ भने संस्थागत तहमा अव्यवस्था र विवाद निम्त्याउँछ । आर्थिक, सामाजिक र सांस्कृतिक प्रगतिलाई पनि कमजोर बनाउँछ । विश्वासघात एक गहिरो र जटिल मनोवैज्ञानिक प्रक्रिया हो, यसको प्रकृति नै स्वार्थप्रधान हुन्छ । आफ्नो फाइदाका लागि अरूलाई धोका दिनु नै यसको प्रमुख बिशेषता हो, चाहे ब्याबहारमा होस वा भावनामा । अहिलेको स्वार्थी र लोभी समाजमा वा प्रेमको रंगिन दुनियामा प्रेमी वा प्रेमिकासँग झुटो बोल्नु वा अरूसँग संलग्न हुनु वा प्रेममा धोका खानु, कार्यस्थल वा सामाजिक ब्याबहार वा राजनितिमा बिश्वासघातका कुराहरु सुनिनु सामान्य जस्तै लाग्नथाले पनि यसको असर भने दिर्घकालिनरुपमा पर्दैजाने हुन्छ ।

धोकेबाज र बिश्वासघातीहरु आफ्नो फाइदाका लागि प्रायजसो अरूलाई प्रयोग गर्ने सोच बनाइरहेका हुन्छन । उनिहरुमा आत्मविश्वासको कमि भने सधै रहन्छ, आफ्नै क्षमतामाथि भरोसा हुदैन त्यसैले अनेक बहानाबाजी र आलटाल गरिरहन्छन । यस्ता ब्याक्तिहरुले आफ्नोबारेमा अरु कसैले केहि थाहा नपाउन भनेर सधै गोप्य रहन्छन, खुलेर बोल्दैनन तर अर्काको बारेमा चियो चासो गरिरहेका हुन्छन । समाज वा परिवारबाट धोकेबाजीलाई सामान्य ठान्ने संस्कारले पनि आजकल यो नया फेसन जस्तै देखिदैछ अनि यसको कुसंस्कारको खेती मौलाइरहेको छ । यस्ता ब्याक्तिमा ईर्ष्या, द्वेष र अरूको प्रगति देख्नै नसक्ने प्रवृत्ति हाबी हुन्छ । विश्वासघातको असर व्यक्ति, सम्बन्ध र समाजमा फरक-फरक तहमा देखिन्छ जस्तै तनाब, डिप्रेसन, आत्मग्लानी, ब्याक्तिगत अबमुल्यांकन, सम्बन्धको अन्त्य, पारस्पारिक रिस-ईर्ष्या आदि । जसको प्रभाबले सामाजिक असमानता, अबिश्वास, सामुहिक असहयोग र नेतृत्वप्रती नकरात्मक सोच एबं दृष्टिकोणको अबस्था सृजना हुनजान्छ ।

कस्ता व्यक्ति धोकेबाज हुन्छन ?

सबै जना धोकेबाज वा बिश्वसधाती हुदैनन तर केही हामिले अत्यान्तै बिश्वास र भरोसा गरेका ब्याक्तिहरु भित्रै यस्ताहरु पनि लुकेका हुन्छन । कहिलेकाही जो व्यक्ति हामीसँग बढी नजिक भएको देखिन्छ, प्रायः त्यही व्यक्तिले धोका दिन्छन । यिनीहरू नै हुन्, जो हरेक कुरामा हामीलाई महसुस गराउन सफल हुन्छन् कि उनीहरूबाहेक यो दुनियाँमा हाम्रो कोही छैन मानौ कि उनिहरुको अघाडी आमा बाबू, दाजुभाइ, दिदि बहिनि, इष्टमित्र, साथिभाइ, आफन्तहरु सबै सत्रुहुन र उ मात्रै एक्लो बृहस्पति मित्र हो । यिनीहरू शब्दहरूको माध्यमबाट हाम्रो मनमा यसरी बस्छन् कि मानौ उनीहरू नै हाम्रो लागि सबैथोक हुन् । उनीहरूले हाम्रा गल्तीहरू देखेर पनि हामीलाई नदेखेजस्तो गर्छन् र हामीलाइ सधैं तिमिनै सही छौं भन्नेजस्तो महसुस गराउँछन् । यसरी उनीहरू हामीलाई बुझाउन र भुलाउन सफल हुन्छन् । यिनीहरूले हामीलाई त्यस्ता व्यक्तिहरूसँग टाढा गराउँछन्, जो वास्तवमै हाम्रो लागि सही र हाम्रा लागि चिन्तित थिए । यदि कसैले तपाईंलाई धोका दिइरहेको छ भने, यसलाई चिन्ने केही संकेतहरू निम्न हुन सक्छन् :

क) सधै बहाना बनाउने –
यदि कसैले बारम्बार नयाँ नयाँ बहाना बनाउन थाल्छ ।
ख) दूरी कायम गर्ने –
ऊ तपाईंबाट टाढा टाढा बस्न थाल्छ, तपाईंलाई समय दिन छोड्छ ।
ग) व्यवहारमा परिवर्तन –
उसको व्यवहारमा अचानक परिवर्तन देखिन्छ, जुन अस्वाभाविक हुन्छ ।
घ) चिडचिडाहट र रिस –
कसैले सानातिना कुरामा चिडचिडा हुन्छ र अनावश्यक रिस देखाउन थाल्छ ।
ङ) प्यार हराउनु –
तपाईंलाई उसले पहिलेको तुलनामा माया गर्ने, सम्मान गर्ने, वा मिठो व्यवहार गर्ने कुरा बन्द गर्छ ।
च) आफ्नो गल्ती नमान्ने –
यदि कसैले आफ्ना गल्तीहरू लुकाउँछ, स्विकार गर्दैन र तपाईंलाईनै गलत साबित गर्न खोज्छ ।
छ) अन्य सम्बन्धको शंका –
यदि कसैसँग उसको सम्बन्ध अर्थात चक्कर छ भने त्यो कुरा सोध्दा उसको अनुहारमा भय देखिन्छ । ऊ स्पष्ट जवाफ दिनुको सट्टा गोलमटोल कुरा गर्न थाल्छ ।
ज) आँखा जुधाउन नसक्ने –
ऊ तपाईंको नजरमा नजर जुधाउनबाट जोगिन्छ ।
झ) चुपचाप हराउनु –
अन्तत, ऊ एक दिन कुनै जानकारी बिना नै तपाईंको जीवनबाट गायब हुन्छ वा तपाइको प्रमुख सत्रुको रुपमा अघाडी देखापर्छ । आदि इत्यादी ।

विश्वासघात र धोकाको निवारण र समाधान :

(क) व्यक्तिगत तहमा:
आफ्ना अनुभवबाट पाठ सिक्न प्रयास गर्नुहोस् । धैर्यता राख्दै विश्वासघातपछिको मानसिक शान्तिका लागि ध्यान र सकारात्मक सोच अपनाउनुहोस् । समस्या समाधानका लागि खुला संवाद गर्न कहिल्यै नहिचकिचाउनुहोस ।

(ख) सम्बन्धगत तहमा:
कुनै पनि सम्बन्धमा इमानदारीतालाई प्राथमिकता दिनुहोस् । अनि परस्पर सम्मानको महत्त्व बुझ्नुहोस र सम्बन्ध बलियो बनाउन एकले अर्कोलाइ आदर गर्न सिक्नुहोस ।

(ग) सामाजिक तहमा:
समाजमा नैतिक शिक्षा र सभ्य संस्कारयुक्त व्यवहारलाई प्रोत्साहन गर्नुपर्छ । आफ्नो ब्याक्तिगत जीवन, राजनीति, व्यापार र सार्वजनिक जीवन लगायतमा पारदर्शितालाई प्राथमिकता दिनु जरुरीछ । अन्तिम बिकल्पको रुपमा विश्वासघात र धोकेबाजीलाई कानूनी रूपमा दण्डनीय बनाउन आफ्नो कानुनी हक र उपचारको कदम चाल्नुपर्ने हुन्छ।

निष्कर्ष :

अन्त्यमा, विश्वास मानव सम्बन्धको मूल आधार हो । जब यो तोडिन्छ, त्यसले गहिरो मानसिक र भावनात्मक असर पुर्‍याउँछ । सचेत प्रयास, अनुभव र सिकाइका माध्यमबाट आफूलाई विश्वासघाति र धोकेबाजीको असरबाट जोगाउन सकिन्छ । जसले विश्वासघातको क्षणलाई बिर्सेर अर्थात भनिन्छ कि शोकलाइ शक्तिमा बदलेर व्यक्तिगत विकास र नयाँजीवन वा कामको नयासुरुवातको मौका बनाउछ उ नै भबिश्यमा सफल हुनसक्दछ । धोका एउटा यस्तो व्यवहार हो, जसले व्यक्ति, सम्बन्ध र समाजमा नकारात्मक प्रभाव पार्छ । यसलाई समयमै चिनेर त्यसबाट बच्न सचेत रहनु जरुरी छ । सत्य, इमानदारीता र पारदर्शिताको अभ्यासद्वारा हामी धोका र विश्वासघातलाई कम गराउदै जानसक्छौं ।

विश्वास-विश्वासघात, धोका र धोकेबाजी जटिल सामाजिक र मानसिक अवधारणाहरू हुन् । यद्यपि यी प्रक्रियाहरूलाई बुझ्न र प्रभावकारी रूपमा व्यवस्थापनगर्न सकियोभने सम्बन्ध र समाज दुवै बलियो बन्नसक्छ । विश्वासघातका घटनालाई सामना गर्दै, प्रत्येक व्यक्तिले जीवनमा आत्मविश्वास, सहनशीलता र इमानदारीताको महत्त्वलाई आत्मसात् गर्दै अस्पष्टता र गलतफेहमीलाई हटाउन एकापसमा खुल्ला छलफल र कुराकानी गर्नपनी उत्तिकै जरुरी हुन्छ । यसैमा हाम्रो व्यक्तिगत, सम्बन्धगत र सामाजिक सफलता निर्भर रहनेहुन्छ । धोकेबाज र बिश्वासघातीहरु समाजका धमिराहुन, यिनलाइ समयमै चिनौ र यिनिहरुबाट जोगियौ ।।।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु