वीरगञ्ज – पर्सा बहुदरमाई नगरपालिकाको सामुदायिक विद्यालयका शिक्षकहरुले पर्साका प्रमुख जिल्ला अधिकारीलाई विद्यालयको साँचो बुझाएका छन् । चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म पारिश्रमिक तथा सेवा सुविधा नपाएको भन्दै बहुदरमाई नगरपालिका मातहतका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विद्यालयको साँचो बुझाएका हुन् ।

सात महिनासम्मको तलब नपाएको र पटकपटक माग गर्दा पनि सुनुवाई नभएकाले बाध्य भएर ताला लगाउनु परेको श्री भंगी साह माद्यामिक विद्यालयका प्रधानाध्यापक मनोज श्रीवास्तव बताउनु हुन्छ ।
दशै, तिहार, छठ, माघे संक्रान्ति लगायतका पर्वहरुमा समेत तलब नपाएपछि शिक्षक कर्मचारीहरु आर्थिक रुपमा कमजोर भएका र मनोबल समेत कमजोर बनेको समेत उनले बताए ।
शिक्षकहरुको मागलाई सम्बोधन नगरेको भन्दै शिक्षक महासंघले संस्थागत निर्णय गरि माघ १ गते देखि चरणवद्ध आन्दोलनको घोषणा गरेको थियो । घोषित आन्दोलन अनुसार बुधवार, बिहिवार, शुक्रवार सम्म हाफ टाइमसम्म पढाएर सांकेतिक रुपमा विरोध जनाएका थिए ।

शिक्षकहरुले बुझाएको विद्यालयको साँचो लिएर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय सरकार हुँदाहुँदै यस्तो अवस्था आउनु अत्यन्तै दुखद भएको बताए । यो समस्या चाडो भन्दा चाडो टुङ्गो लाउनुपर्ने जोड दिदै बहुदरमाई नगरपालिकामा पटकपटक पहल गर्दा पनि मागको सम्बोधन नभएकाले यो अवस्थाको सृजना भएको उनको भनाई छ ।


