सौराहामा महोत्सवका नाममा हात्तीलाई सास्ती

चितवन – मानिसको मनोरञ्जनको लागि जनावरलाई प्रयोग गरिनु कति उचित छ ? विशालकाय स्तनधारी जनावर हात्तीलाई मनोरञ्जनको साधनका रुपमा प्रस्तुत गरिँदै आएको हात्ती महोत्सवले यो प्रश्न जन्माएको छ ।

‘कुनै पनि पशु र पक्षीलाई मान्छेको हितमा प्रयोग गरिनु उचित होइन’ एनिमल राइट्स क्लब चितवनका पूर्वअध्यक्ष सुराजन श्रेष्ठ भन्छन्, ‘हात्ती लोपोन्मुख जनावर हो । मनोरञ्जनात्मकरुपमा हात्तीलाई प्रयोग गरिनु राम्रो काम होइन । हात्तीलाई सास्ती हुने काम बन्द नभएसम्म विरोध गर्छौं ।’

क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा बर्सेनि सौराहामा हात्ती महोत्सव हुँदै आएको छ । यस वर्ष पुस ११ देखि १५ गतेसम्म रत्ननगर नगरपालिका–७, बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको छ ।

विगतका वर्षहरुमा हात्ती महोत्सव भनी हात्तीलाई दौडाउने, फुटबल र पोलो खेलाउने गरिन्थ्यो । पशु अधिकारवादीहरुले विरोध सुरु गरेपछि अहिले हात्ती महोत्सवको नाम फेरेर हात्ती तथा पर्यटन महोत्सव राखिएको छ । ‘पहिलेपहिले हात्तीको दौड नै गराउँथ्यौँ । पशु अधिकारको आवाज उठेपछि स्वरुप परिवर्तन गरिएको हो’ आयोजक संघका अध्यक्ष गंगा गिरीले बताए ।

महोत्सवका संयोजक रामकुमार अर्यालले महोत्सवमा हात्तीको वनभोज, हात्तीको शृङ्गार प्रतियोगिता, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, म्युजिकल इलेफेन्ट वाक, हात्तीको स्वास्थ्य परीक्षण, सांस्कृतिक कार्यक्रम, गोष्ठीलगायतका कार्यक्रम हुने जानकारी दिए ।

Forbes

महोत्सवको संरक्षकमा रत्ननगर नगरपालिका रहेको छ भने सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल, चितवन रहेका छन् । महोत्सवको प्रवर्धकमा संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेश, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, नेपाल पर्यटन बोर्ड र पर्यटन कार्यालय सौराहा छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु