चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफूहरु विकासका लागि अहोरात्र खटिएको बताएकी छन् । मंगलबार कृष्णपुरमा भरतपुर महानगरपालिका वडा नम्बर ७ को कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले यस्तो बताएकी हुन् ।
‘विकासको पहिलो आधार नै सडक पूर्वाधार हो भनेर पूर्वपश्चिम राजमार्गको पुलचोक–गोन्द्राङ खण्ड ६ लेनमा स्तरोन्नति गरियो’ मेयर दाहालले भनिन्, ‘रिङ रोड बनिसक्यो । लिङ्क रोड पूरा हुने क्रममा छ ।’ वडा कार्यालय भवन निर्माणस्थल कृष्णपुर आवास क्षेत्रभित्रका ८ वटा सडकको ठेक्का १ करोड ७८ लाख रुपैयाँमा भइसकेको उनले जानकारी दिइन् ।
प्रस्तावित रेललाइनको कुरा कृष्णपुर आवास क्षेत्रका बासिन्दाहरुको चिन्ताको विषय अब नरहने बताउँदै मेयर दाहालले भनिन्, ‘जनताको भावनाभन्दा दायाँबायाँ हामी जाँदैनौँ । रेललाइन हामीले रोकिसकेका छौँ । कि आँपटारी जंगल क्षेत्रहुँदै कि मेघौलीहुँदै रेललाइन लैजान सकिने भनेर हामीले विकल्प दिएका छौँ ।’
जनताले सेवा लिने कार्यालयहरु सुविधासम्पन्न होस् भनी महानगरभित्रका विभिन्न वडा कार्यालय भवन निर्माणमा जोड दिइएको उनले बताइन् । महानगरभित्रका २४ वटा वडा कार्यालय सुविधासम्पन्न बनाइसकिएको र बाँँकी ५ वटा वडालाई पनि सुविधासम्पन्न बनाइने मेयर दाहालको भनाइ थियो ।
भरतपुर–७ वडा कार्यालय भवन दुई करोड रुपैयाँको लागतमा निर्माणका लागि उत्तरगया–बिएस–कौनानी जेभीसँग सम्झौता भइसकेको छ । सम्झौताअनुसार २०८२ साल भदौ १ गतेभित्र निर्माण कार्य सम्पन्न भइसक्नु पर्नेछ । तीनतले भवनमा ११ वटा कोठा र सय जना अट्ने एउटा हल रहने छ ।
भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


