चितवन – चितवनमा यस वर्ष धानको उत्पादन बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लाभर यस आर्थिक वर्ष २०८०–८१ मा बर्खे र चैते गरी ३६ हजार २ सय १८ हेक्टर क्षेत्रफलमा १ लाख ६७ हजार ७ सय ६३ मेट्रिक टन धान उत्पादन भएको हो ।
आर्थिक वर्ष २०७९–२०८० मा २८ हजार ४ सय १० हेक्टर क्षेत्रफलमा १ लाख ३१ हजार ६ सय ५२ मेट्रिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ३६ हजार १ सय ११ मेट्रिक टन धान बढी उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइकाका सूचना अधिकारी तथा कृषि अधिकृत ईन्द्र शर्मा ढुंगानाले बताए ।
उनका अनुसार गत वर्ष प्रतिहेक्टर ४ दशमलव ६३ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष पनि प्रतिहेक्टर ४ दशमलव ६३ मेट्रिक टन धान उत्पादन भएको हो । यसवर्ष धानको खेतिको क्षेत्रफल र उत्पादन बढे पनि पूर्वी चितवनमा लगाइएको धानमा कटी पेनिकल रोगका कारण उत्पादकत्व भने बढ्न नसकेको ढुंगानाले बताए ।
चितवनमा यस वर्ष समग्रमा धानको उत्पादन राम्रो भएपनी पुर्वी चितवनका केही स्थानमा सावा मन्सुली, साबित्री जस्ता धानमा कटी पेनिकल रोग लागेका कारण उत्पादकत्व बढन नसकेको उनको भनाई छ ।
चितवनमा यस वर्ष धान रोपाईको समयमा, समयमै पानी परेकाले कृषकहरुले चाडो धान रोप्न पाए, कृषि मेसिनहरुको प्रयोगले पनि उत्पादन वृद्धिमा सहयोग पुगेको उनको भनाइ छ । पछिल्लो समय कृषि आधुनिकरणसहित किसानहरुले मेसिनहरुको प्रयोगमा जोड दिएका छन्। त्यस्तै चितवनमा सिँचाईको राम्रो सुविधा भएको हुँदा धानको क्षेत्रफल पनि बढेको छ ।
उनले भने, ’यसवर्ष किसानहरुलाई मल, बीउको खासै अभाव भएन, समयमै पानी प¥यो जसकारण बाजो रहेको जग्गामा पनि किसानहरुले रोपाई गरे । त्यसैले यसवर्ष क्षेत्रफलसँगै धान उत्पादन बढेको हो’ ।
पछिल्लो समय कृषिमा प्रविधि भित्रिएपछि धानको उत्पादकत्व पनि बढ्दै गएको छ । कृषकहरुले विभिन्न अनुदानका कार्यक्रम पाउने भएकाले धान खेतीमा युवापुस्ताहरुको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।
चितवनमा सबै स्थानमा धान खेती हुने भए पनि पुर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट एरियाको रुपमा लिइने गरिन्छ । सिचाईको राम्रो सुविधा भएको हुँदा चैते धान पुर्वी चितवनमा बढी लगाइन्छ भने पश्चिम चितवनमा बर्खे धान धेरै लगाइन्छ ।
चितवनमा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ३, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरा मसिना जस्ता प्रजातिका धान लगाइने गरिन्छ । यस वर्ष कृषकहरुले बर्खे धानको रुपमा चैते ५ धान बढी लगाएका थिए ।
चितवनको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० रहेको छ । जसमा ३३ हजार ८३६ हेक्टर खेती योग्य जमिन छ ।


