चितवन – अरु बेलाभन्दा चाडपर्वका बेला सवारी दुर्घटना बढी हुने गरेको पाइन्छ । चितवनमा चाडपर्वका बेला करिब तीन हजार चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दसैँ, तिहार र छठ पर्वको समयमा सवारी नियम उल्लंघन गर्ने २ हजार ९ सय ३० सवारीसाधनका चालकलाई कारबाही गरेको हो ।
कारबाही परेका सवारीसाधनहरुमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । कार्यालयको तथ्याङ्क अनुसार चाडपर्वमा ९ सय ८५ जना मोटरसाइकल चालक कारबाहीमा परेका हुन् । यसैगरी, ट्रक/टिपर चालक ४ सय ७८, बस तथा माइक्रो चालक ४ सय २७, जिप तथा कार चालक ६ सय २२, ट्याक्टर चालक ७५, टेम्पो तथा अन्य सवारीसाधन चालक ३ सय ५३ जना कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कारबाहीमा परेका चालकहरुबाट २२ लाख ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसमध्ये सबैभन्दा बढी मोटरसाइकल चालकहरुबाट ७ लाख ४६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।
ट्रक/टिपर चालकबाट ४ लाख १० हजार ५ सय रुपैयाँ, बस तथा माइक्रो चालकबाट ३ लाख २२ हजार ५ सय रुपैयाँ, जिप तथा कार चालकबाट ४ लाख ८१ हजार ५ सय रुपैयाँ, ट्याक्टर चालकबाट ७५ हजार रुपैयाँ र टेम्पो तथा अन्य सवारीसाधनका चालकबाट २ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
मादकपदार्थ सेवन, सवारी इजाजतपत्र नभएको, सिट क्षमताभन्दा बढी यात्रु ओसारपोसार, सिट बेल्ट नलगाएको, सवारीचालक अनुमतिपत्र नभएको, तीब्र गतिमा सवारीसाधन चलाउनेलगायत विभिन्न कसुरमा चालकहरुलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले बताए ।
ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई विशेष मध्यनजर गरेर नागरिकलाई प्रहरीको हटलाइन सम्पर्क नम्बर, यात्रु सहायता कक्ष, चेक प्वाइन्ट, मुख्यमुख्य सडकमा साधारण पोसाकमा समेत खटिएर नागरिकको गुनासो सम्बोधन गर्ने प्रयास गरिएको प्रहरी निरीक्षक शर्माको भनाइ छ ।
चाडपर्वमा बढी दुर्घटना हुने भएकाले दुर्घटना न्यूनीकरणका लागि चालकहरुलाई प्रतिबद्धता कार्यक्रम असोज ३ गतेबाट लागू गरिएको उनले बताए । उक्त प्रतिबद्धता कार्यक्रममा ‘म जिम्मेवार चालक हुँ, म आफू पनि बाँच्छु र अरुलाई पनि बचाउँछु’ भन्ने सचेतनामुलक कार्यक्रमलाई पनि जोड दिँदै चाडपर्वलक्षित कार्यक्रम सम्पन्न गरिएको उनको भनाइ छ ।
उनका अनुसार दसैँ, तिहार र छठ पर्वका अवसरमा चितवन जिल्लाभर १ सय ६ वटा सवारीसाधन दुर्घटना भएका छन् । ती दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ जना पुरुष र २ जना महिला रहेको उनले बताए ।
पछिल्लो समय सडक दुर्घटनाहरु बढ्दै गएका छन् । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिकले मात्रै नभएर चालक, यात्रु, नागरिक समाज, सूचनाकर्मी सबै सचेत बन्न आवश्यक रहेको उनको भनाइ छ ।


