चितवन – तिहार सकिएलगत्तै चितवनमा पनि छठ पूजाको तयारी सुरु भएको छ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नारायणी नदी किनारमा पूजास्थल निर्माण कार्य तीब्र गतिमा भइरहेको छ ।
नारायणी किनारमा व्रतालुहरु बस्न मिल्ने गरी घाट सम्याउने, मूर्ति राख्ने, सरसफाइ गर्ने र टेन्ट निर्माणको काम भइरहेको तराई सामुदायिक सेवा समिति नारायणगढले जनाएको छ ।
नारायणी किनारको बालुवा बाढीले बगाएर खाल्टाखुल्टी बनाएको हुँदा यसपालि नदी किनार सम्याउने र सरसफाइको काम एक हप्तादेखि नै सुरु गरिएको तराई सामुदयिक सेवा समितिका अध्यक्ष जयकिशोर पाण्डेले बताए । बाढीले किनारको संरचना बिगारेको हुँदा व्यवस्थापनका लागि लामो समय लागेको उनले बताए ।
माटो सम्याउने फोहोर व्यवस्थापनलगायत कार्यका लागि महानगरले सहयोग गर्दै आएको उनले बताए । बुधबारसम्ममा गेट प्रवेशद्वार निर्माण गर्ने, बिजुली बत्ती राख्नेलगायत काम गरिने उनको भनाइ थियो । छठ पूजाको व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगर, वडा कार्यलयसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
‘नारायणी नदी किनारमा चितवनसहित नवलपुर, तनहुँ, धादिङबाट समेत व्रतालुहरु छठको पूजा गर्न आउने गर्दछन्’ उनले भने, ’नारायणी नदी किनारमा छठ मनाउन आउने भक्तजनको हरेक वर्ष उल्लेख्य उपस्थिति भइरहेकाले यस वर्ष पनि गत वर्षको तुलनामा बढी भक्तजन आउने अनुमान गरेका छौं ।’ पहिलेपहिले तराईवासीले मात्रै मनाउने छठपर्व पछिल्लो समय पहाडी समुदायका सबै मानिस, युवा वर्गहरुले समेत पूजा गर्न र हेर्न आउने गरेको उनको भनाइ छ ।
सरकारले छठ पूजाको दिन सार्वजनिक बिदा दिएसँगै छठलाई राष्ट्रिय पर्वको रुपमा हेरिँदै आएको उनी बताउँछन् । दुई दिनसम्म निराहार व्रत बस्नु पर्ने भएकाले सरकारले छठ पर्वमा दुई दिन बिदा दिनुपर्ने उनको माग छ ।
समितिका सल्हाकार एवम् पूर्वअध्यक्ष सुकेसकुमार गुप्ताका अनुसार औपचारिकरुपमा मंगलबारदेखि सुरु भएको पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि गरिन्छ । चार दिनसम्म मनाइने छठ पर्वको दोस्रो दिन बुधबार अरबा–अरबाइन गरिन्छ ।
व्रतालुले षष्ठी तिथिका दिन बिहीबार निराहार व्रत बसेर साँझपख जलाशयमा पुगी कम्मरसम्म पानीमा चोबलिएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर प्रसाद राखिएको डाली हातमा उठाइ सूर्यलाई देखाइन्छ । व्रतालुहरु करिब ४० घण्टा निराहार व्रत बस्ने गर्दछन् ।
यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ सम्पन्न हुने परम्परा छ । यसपालि छठको समापन शुक्रबार बिहान सूर्योदयसँगै हुनेछ ।
चोखोपना, संयम र पूर्ण ब्रह्मचर्यसाथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुने जनविश्वास रहेको पाइन्छ । नारायणी नदी किनारमा करिब ३५ वर्षदेखि छठपूजा हुँदै आएको छ ।
श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, बेसार, अदुवा, कागती, मूला, नरिवल, पान, सुपारी, फलफूल, माटोको हात्ती, ढकनी, घैला र व्रतालुका लागि नयाँ कपडा प्रयोग गरिन्छ ।




