चितवनमा ९९ प्रतिशत धान रोपाई सकियो

चितवन – चितवनमा हालसम्म ९९ प्रतिशत धान रोपाई सकिएको छ । यसवर्ष समयमै पानी परेकाले जिल्लाको सात स्थानीय तहमध्य राप्ती, खैरहनी, रत्ननगर, कालिका, माडी र इच्छाकामना गाउँपालिकामा सतप्रतिशत रोपाइँ सकिसकेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइका अनुसार भरतपुर महानगरपालिका वडा न. २० र २२ मा भने छिटपुट रुपमा धान रोप्न बाँकी रहेको छ ।

भरतपुरकोे अन्य स्थानमा रोपाइँ सकिए पनि २० र २२ वडाका केही ठाउँमा बिउका कारण रोपाइँमा ढिलाइ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइकाका सुचना अधिकारी तथा कृषि अधिकृत ईन्द्र शर्मा ढुंगानाले बताए ।

पूर्वी चितवनमा चैते धानपछि लगत्तै बर्खे धान लगाएर रोपाइँ शुरुआत गरिन्छ । धानपछि तरकारी लगाउने भएकाले चाँडै धान लगाउने चलन रहेको उनले जानकारी दिए ।

चितवनमा गतवर्ष बर्खे र चैते गरी २८ हजार ४१० हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो। । जसमा १ लाख ३१ हजार ६ सय ५२ मेट्रिक टन धान उत्पादन भएको थियो । यसबर्ष २८ हजार ४२० हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको उनले बताए । साथै गत बर्षको तुलनामा धान उत्पादन पनि १० प्रतिशतले बढ्ने अनुमान गरिएको ढुंगानाको भनाई छ ।

Forbes

उनले भने, यसबर्ष किसानहरुलाई मल, बीउको खासै अभाव भएन, समयमै पानी पर्‍यो जसकारण बाजो रहेको जग्गामा पनि किसानहरुले रोपाई गरेका छन् । त्यसैले यसबर्ष क्षेत्रफलसँगै धान उत्पादन बढ्ने अनुमान गरेका छौँ ।

पछिल्लो समय कृषिमा प्रविधि भित्रिएपछि धानको उत्पादकत्व बढ्दै गएको छ । कृषकहरुले विभिन्न अनुदानका कार्यक्रम पाउने भएकाले धान खेतीमा युवापुस्ताहरुको आकर्षण बढ्दै गएको उनको भनाई छ ।

चितवनमा सबै स्थानमा धान खेती हुने भए पनि पुर्वी चितवन, पश्चिम चितवन र माडीलाई पकेट एरियाको रुपमा लिईने गरिन्छ । सिचाईको राम्रो सुबिधा भएको हुँदा चैते धान पुर्वी चितवनमा बढी लगाइन्छ भने पश्चिम चितवनमा बर्खे धान धेरै लगाइन्छ ।

चितवनमा चैते ५, साबित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ३, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरा मसिना जस्ता प्रजातिका धान लगाइने गरिन्छ । यस बर्ष कृषकहरुले बर्खे धानको रुपमा चैते ५ धान बढी लगाएका छन्।

चितवनको कुल क्षेत्रफल दुई लाख २१ हजार ८०० रहेको छ । जसमा ३३ हजार ८३६ हेक्टर खेती योग्य जमिन छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु