चितवन – मह बिक्री नहुँदा चितवनका किसान चिन्तित भएका छन् । जिल्लामा उत्पादित महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका चितवनका किसान चिन्तित भएका हुन् ।
बिगत २८ बर्षदेखि मह उत्पादन गर्दै आएका पुर्वी चितवनको टाडीका सुरेन्द्र मानन्धर महले बजार नपाउदा चिन्तित भएका छन् । भारतबाट आयातित महका कारण स्वदेशी मह बिक्री नभएको उनको गुनासो छ।
‘आयातित महका कारण मह बिक्री हुन सकेन, उनले भने, ‘मह बिक्री नहुँदा कठिनाइ भोगिरहेका छौं।’ सस्तो भन्सार हुनुका साथै गैरकानुनी रूपमा मह आयात हुने भएकाले यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ । ‘मह बिक्री नभएर किसानको बिजोग भएको छ,’ उनले भने, ‘बिक्री नभएको मह थुपारेर राखेका छौं।
उनको फार्ममा अहिले १५० मौरीको घार छन् । उनले वार्षिक ३ देखी ४ टन मह उत्पादन गर्छन् । उनको गत बर्षको ७५ प्रतिशत र यसबर्षको सतप्रतिशत मह स्टक छ । बिदेशी महको आयातसँगै चरनको अभावका कारण पनि स्वदेशमा मौरीपालन गर्ने किसान समस्यामा पर्दै गएको उनको भनाई छ ।
त्यस्तै खैरहनी नगरपालिका वडा नम्बर ४ का श्याम गुरुङ्ग बिगत २६ बर्षदेखि मह उत्पादन गर्दै आएका किसान हुन् । उनकोमा अहिले १२५ घार छ । उनले वार्षिक ३ देखी ४ टन मह उत्पादन गर्छन् भने उनको घरमा अहिले ८ टन मह स्टक छ ।
महको बजार व्यवस्थापन राम्रो नहुँदा आफुले उत्पादन गरेका मह स्टक रहेको उनी बताउँछन् । उनले भने, “बजारमा विदेशी मह बिक्री भइरहेको छ । नेपाली मह घरमा थन्क्याउनुपर्ने बाध्यता छ ।”
यसैकारण कतीपय किसान पलायन भईसकेको पनि उनी बताउछन् । आयातित महले नेपाली बजार भरिएको भन्दै उनले “विभिन्न ब्राण्डका नाममा विदेशी मह बिक्री हुने गरेको बताए ।
नेपाल मौरीपालक महासंघ बाग्मती प्रदेशका महासचिव गंगाप्रसाद सापकोटाले बाग्मती प्रदेशमा उत्पादन हुने ४\५ हजार टन मह मध्ये ५० प्रतिशत चितवनमा उत्पादन हुने गरेको बताए । त्यतिमात्रै नभएर नेपालमा उत्पादिन हुने १०० प्रतिशत मध्ये ५० प्रतिशत चितवनमा उत्पादन हुने उनको भनाई छ ।
तर,पछील्ला बर्षहरुमा चक्लेटमा प्रयोग गरिने सिरफ अवैधरूपमा भित्रिँदा स्वदेशी मह बिक्री नभएको बताउँछन् । उनको कालिका नगरपालिका ६ मा १३५ मैरीका घार छन् । उनको बिगत २ बर्ष देखी मह स्टक छ ।
नेपाल मौरीपालक महासंघका अध्यक्ष शिव पौडेलले चितवन मह उत्पादनको राम्रो सम्भावना भएको ठाउँ भए पनि पछिल्लो समय यहाँको महले बजार नपाउँदा किसान मर्कामा परेको बताए ।
तथ्यांक अनुसार नेपालमा खपत भएको मह ९ हजार मेट्रिक टन देखाएको छ । यसरी नेपालमा खपत हुने महको ५० प्रतिशत मह नेपालमा उत्पादन नहुँदा पनि किसानको मह बिक्री नभएको उनको गुनासो हो। अहिले नेपालमा एक लाख ३० हजार भन्दाबढी मैरीपालक किसान छन् । उनले कालिका नगरपालिका ३ मा रहेर बिगत २० बर्षदेखी मौंरी पालन गर्दै आएका छन् । उनको पनि हाल ५ टन मह स्टक बसेको छ ।
नेपाल मौरीपालक महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष दुर्गाप्रसाद तामाङ्ले भारतीय मह आयात बढ्दा चितवनका २१८ किसानले उत्पादन गरेको मह स्टक बसेको बताए ।
सरकारले आयातित मह आउन रोकावट गर्ने, नेपाली मौरी किसानहरुलाई बजारिकरण, चरि चरणको व्यवस्था, सहज ढुवानी, अनुदान जस्ता कार्यक्रम ल्याउन सकेमा स्वदेशी महले राम्रो आम्दानी गर्न सफल हुने उनी बताउछन् ।
महको बजार व्यवस्थापन गर्न माग गर्दै सिडियोलाई बुझाए ज्ञापनपत्र
मह स्टक बसेपछि महकोे बजार व्यवस्थापन गर्न माग गर्दै मौरीपालक किसानले हिजो बुधबार जिल्ला प्रशासन कार्यालय चितवनमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
सरकारले स्वदेशी महको बजार व्यवस्थापन नगरे सिंहदरबार काठमाडौँमा मह पोख्ने र मैरी उडाउने चेतावनी दिँदै उनीहरुले जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनिहरुले बहुराष्ट्रिय कम्पनीलाई नेपालमा बजारीकरण गर्न, बिचौलियालाई लागत मूल्यको आधारमा किसानको मह खरिद गर्नुपर्ने, उत्पादन र उपभोगको सन्तुलन मिलाउदै भदौंदेखि चैतसम्म विदेशबाट आयतित महलाई प्रतिबन्ध लगाउनुपर्ने, चक्लेटको लागि आयातित कर्न र सुगर सिरफलाई महको नाममा प्रयोग हुन नदिन कडा अनुगमन गर्नुपर्ने, पौष्टिक आहारको रुपमा महलाई पनि समावेश गराउनुपर्ने, नेपाली किसानले उत्पादन गरेको नेपाली महको लोगो राख्नुपर्ने, नेपाली मह ब्राण्ड स्थापित गरी संकलनमा एकद्वार नीति र वितरण प्रणलीमा बिकेन्द्रित नीति अबलम्बन गर्नुपर्ने, चिउरीको महलाई विदेशमा चिनाउनुपर्ने साथै बौद्धिक अधिकार प्याटर्न राइट लिनुपर्ने, नेपाली मह जम्छ महको प्राकृतिक गुण जम्नु हो भन्ने चेतना बृद्धि गराउने, मौरी र महको एकीकृत कार्य एक्लेन्स सेन्टरको स्थापना गरी खोज र अनुसन्धान लाई तीव्रता दिनुपर्ने जस्ता माग राख्दै उनिहरुले ज्ञापनपत्र बुझाएका हुन् ।


