चितवनमा तोरीखेतीतर्फ किसानको आकर्षण बढ्दो

चितवन – चितवनमा तोरी खेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ । पछिल्लो बर्षहरुमा तोरीको तेलको माग बढ्दै गएको र तुलनात्मक रुपमा यस बालीमा खर्च कम र आम्दानी बढी हुने भएकाले किसानहरुको तोरीखेतीमा आकर्षण बढेको हो ।

करीब दुईदशक अघि तोरीको जिल्लाको रुपमा प्रख्यात चितवनमा बिचमा केही समय तोरी उत्पादन घटेको थियो । बीचका समयमा खासै यसतर्फ किसानले चासो दिएका थिएनन् तर पछिल्ला वर्षहरुमा विस्तारै उनीहरु यसतर्फ आकर्षित हुँदै गएका छन् । त्यसैले केही वर्षयता तोरी उत्पादन हुने क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि हुँदै गएको हो ।

तेलको मुल्य वृद्धि हुँदा अहिले बजारमा तोरीले राम्रो भाउ पाएको छ । “बजारमा एकातिर तेलको मुल्य बढेको छ, अर्कातिर तोरीले बजार भाउ पाएको छ, यही कारण तोरी खेतीप्रती कृषकहरु आकर्षित भएको पाईन्छ ।

पूर्वी चितवनका अधिकांश किसानले यसबर्ष तरकारीको सट्टा तोरी लगाएका छन् । रत्तनगर ७ का किसान छनु राम महतोले चितवनमा तोरीको उत्पादन राम्रो हुने भएकाले आफूले तोरीखेतीलाई निरन्तरता दिँदै आएको बताउंँछन् ।

उनले १५ बर्ष देखि १६ कठ्ठा क्षेत्रफलमा तोरी खेती गर्दै आएका छन् । मैले हरेक बर्ष तोरीखेती गर्दै आएको छु । उनले भने, “यसबर्ष मौसम अनुकुल छ । यस्तै मौसमले साथ दिएमा उत्पादनमा थप बृद्धि हुन्छ।”

Forbes

उनका अनुसार तोरीखेतीमा खर्च कम, रोग कम देखिने, फाइदा पनि बढी हुने भएकाले आफु तोरिखेतिमा आकर्षित भएको बताउँछन् । त्यस्तै अहिले तोरीको बजारिकरणको पनि राम्रो व्यवस्था रहेको उनको भनाई छ ।

उनी भन्छन्, कतिपय ग्राहकहरु घरमै आएर तोरी खरिद गर्नुहुन्छ, त्यस्तै तोरी मिलहरुले पनि डाईरेक्ट कन्ट्याक गरेर तोरी लिन आउनुहुन्छ, त्यसैले अहिले तोरी बिक्रीबितरणमा कुनै समस्या छैन ।

तोरीखेति गर्दा समयमै मल पाउन सकियो र मौसमले साथ दियो भने राम्रो आम्दानीसँगै तोरीमा आत्मनिर्भर बन्न सकिने उनको भनाई छ ।

चितवनमा कात्तिक देखिनै तोरीखेती गर्ने गरिन्छ र माघको अन्तिममा थन्क्याईन्छ ।अधिकांश किसानहरुले बर्खे धान थन्क्याएपछि तोरी लगाउने गर्छन् ।

त्यस्तै रत्ननगरनगरपालिका वडा नम्बर ७ मैनाहाकी बिक्रमे महतोले १३ बर्षदेखि ६ कठ्ठा क्षेत्रफलमा तोरीखेती गर्दै आएकी छन् । उनले थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले आफुले तोरीखेतीलाई निरन्तरता दिदै आएको बताउँछिन् । उनले तोरीखेती हरेक बर्ष गर्दै आएको बताउँदै यसबर्ष मौसमले साथ दिएमा राम्रो उत्पादन हुने अनुमान गरिएको उनको भनाई छ ।

‘अहिले तोरी पहेंलपुर भएर फुलेको छ, उनले भनिन्, “गत बर्ष पानी परेकाले तोरिलाईबालीलाई केही असर गरेको थियो । यसबर्ष अहिले सम्मको मौसम ठीक छ, अब तोरी थन्क्याउने बेला धेरै पानी परेन भने पोहोरको भन्दा यसबर्ष तोरिको उत्पादन बढ्छ ।”

कृषि ज्ञान केन्द्र चितवनका सुचना अधिकारी उमरज अर्यालले पछिल्लो समय चितवनका कृषकहरुमा तोरीखेतीमा आकर्षण बढ्दै गएको बताए । उनले चितवनमा बिगत ३ /४ बर्षदेखि तोरीखेतीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढ्दै गएको बताए ।

ज्ञान केन्द्रका अनुसार चितवनमा गत आर्थिकबर्ष २०७९-८० मा १४ हजार ७६५ क्षेत्रफलमा १९ हजार ४ सय ५ मेट्रिकटन तोरी उत्पादन भएको थियो । जसमा १ दशमलव ३ मेट्रिकटन परहेक्टर उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक बर्ष २०७८ – २७९ मा १२ हजार २ सय ६५ क्षेत्रफलमा १४ हजार ७१८ मेट्रिकटन तोरी उत्पादन भएको थियो । जसमा १ मेट्रिकटन परहेक्टर उत्पादन भएको थियो ।

उनले भने, “यसबर्ष तोरिको अन्तिम डाटा आईसकेको छैन । तर हामीले फिल्ड भिजिटमा गएअनुसार यो बर्ष पोहोर र परारको भन्दा तोरिको क्षेत्रफल सँगै उत्पादन र उत्पादकत्व बढ्ने अनुमान गरिएको छ ।”

तोरीबालिमा नगदआर्जन हुने, छोटो अबधिमा पाक्ने र निकुन्ज नजिकरहेका ठाउँहरुमा जङ्गली जनावरले अन्य बालिमा भन्दा तोरी बालिमा कम असर गर्ने भएकाले पनि किसानहरुको आकर्षण बढ्दै गएको उनको भनाई छ ।

‘पूर्वी चितवनका किसानले तरकारीको सट्टा तोरी लगाएका छन, उनले भने, तरकारी खेर गएको र साना बांँझो रहेका ठाउंँहरुमा अन्य किसानले पनि यसपटक तोरीखेती गरेकोले तोरिखेतीप्रती किसानको आकर्षण बढेको देखिन्छ ।

पूर्वी चितवनका खैरहनी, कालिका, रत्ननगरपालिका र पश्चिम चितवनमा शिवनगर, पार्वतीपुर शुक्रनगर मेघौली लगायतका क्षेत्रहरुमा तोरी खेती लगाउने किसानहरुको संख्या बढेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु