चितवन – अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । चितवनमा पनि हाल लम्पीस्किन फैलिँदै गईरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ ।
यही जेठ २१ गतेसम्म चितवनमा ३ हजार ८६ गाई र २५२ भैंसी गरी ३ हजार ४ सय १८ गाईभैसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ भने जिल्लामा ८० गाईभैसी यस रोगको कारण मरेका छन् ।
जिल्लाका ७ वटै पालिकामा लम्पीस्किन फैलिएको अस्पतालका बरिष्ठ पशु विकास अधिकृत शुशिल केसीले जानकारी दिए । लम्पीस्किनको सङ्क्रमणबाट राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको उनले बताए ।
उनका अनुसार राप्ती नगरपालिकामा १ हजार ४०५, कालिका नगरपालिकामा २६५, खैरहनी नगरपालिकामा २०४, भरतपुर महानगरपालिकामा २२५, रत्ननगर नगरपालिकामा ११४, इच्छाकामना गाउपालिकमा ९५२, माडी नगरपालिकामा २५३ पशुलाई लम्पीस्किनको सङ्क्रमण देखिएको हो ।
अन्य पालिका भन्दा खैरहनी नगरपालिकामा भने कम सङ्ख्या पशुमा सङ्क्रमण देखिएको छ । त्यस्तै सङ्क्रमण भएका पशुमध्ये ८० गाईभैसी मरेका छन् ।
जस अनुसार इच्छाकामना गाउपालिकामा ४९, भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा ४/४ गाईभैसी लम्पीस्किनको सङ्क्रमणबाट मरेका हुन् ।
लम्पीस्किन भाइरल रोग हो । झिँगा, भुसुना, लामखुट्टे विभिन्न किराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाठाँगुठी आउने, पशुवस्तुलाई कमजोर बनाउने अस्पतालका अधिकृत डा. रशिन पाण्डेले जानकारी दिए । यस रोग लागेको गाइभैंसीको समयमै उपचार र जैविक सुरक्षामा ध्यान दिएन भने गाईबस्तुमा गर्भपतनको समस्या पनि देखिन सक्ने उनले जानाकारी दिए ।
सङ्क्रमण फैलिन नदिन गोठ वरीपरी सफा गर्ने, जैबिक सुरक्षामा ध्यान दिने, अन्यपशुसँग नराख्ने, चरनमा नलैजाने, पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाउने जस्ता काम गर्नुपर्ने उनको भनाई छ ।
यस रोगको रोकथामा र न्युनिकरणको लागि पशु सेवा विज्ञ केन्द्र चितवनले ७ वटै पालिकामा जैविक सुरक्षा समबन्धी कार्यक्रम, औषधी वितरण, खोप वितरण गरिरहेको उनले जानाकारी दिए ।
चितवनमा यो रोग २०७७ साल असारको पहिलो हप्ता खैरहनी नगरपालिकामा पहिलो पटक देखा परेको थियो अहिले भने यस रोग चितवन लगाएत देशैभर फैलिदै गएको छ ।
फाईल तस्विर


