चितवन – भरतपुर बिद्युत वितरण केन्द्रमा बिद्युत बक्यौता रकम बढेको छ । जिल्लामा रहेका ३ वटा वितरण केन्द्र मध्ये सबैभन्दा ठूलो वितरण केन्द्र भरतपुरमा गत बर्षको तुलनामा यस आर्थिक बर्षको ८ महिनामा बक्यौता रकम बढेको हो ।
कार्यालयका अनुसार अघिल्लो आर्थिक बर्ष २०७८ – ७९ मा २१ करोड ८१ लाख ८ हजार ४ सय ७३ रुपैयांँ रहेकोमा यस आर्थिक बर्षको ८ महिनासम्म आईपुग्दा बक्यौता रकम बढेर २२ करोड ५८ लाख ७२ हजार ८ सय ६ रुपैयाँ पुगेको हो ।
बक्यौता रकम हुनेमा विभिन्न संघ संस्था, होटल रेस्टुरेन्ट, कल कारखाना, मठ मन्दिर, घरेलु उद्योग, सडक बत्ती लगाएत छन् ।
लाइन काटिने बढे
भरतपुर विद्युत वितरण केन्द्रबाट अघिल्लो आर्थिक बर्षको तुलनमा यस आर्थिक बर्ष ८ महिनाको अवधिमा लाईन काटिने ग्राहकको सख्यामा पनि बृद्धि भएको छ । अघिल्लो आव २०७८-७९ मा केन्द्रले १ हजार ७ सय ४६ ग्राहकको लाइन काटेको थियो । भने यस आवको २०७९ – ८० मा २ हजार ३ ग्राहकको लाइन काटेको हो ।
कार्यालयले बक्यौता धेरै हुने, नियमित महसुल भुक्तान नगर्ने ग्राहकको लाइन काट्दै आएको छ । गत आवमा कार्यालय बिल भुत्तानी गरेपछि १ हजार ५ सय ४५ ग्राहकको पुर्न जडान गरेको थियो भने यस आवमा १ हजार ८ सय २२ ग्राहकको पुर्न जडान गरेको छ ।
लाइन काटिने ग्राहकबाट अघिल्लो आवमा ४ करोड ४३ लाख ६० हजार ४ सय ७३ रुपैयांँ रकम असुली भएको थियो भने यस आवमा यस्ता ग्राहकबाट कार्यालयले ४ करोड ६९ लाख ४६ हजार ६ सय ७२ रुपैयाँ रकम असुली गरेको छ ।
हाल लाइन काटिएका ग्राहकबाट १ करोड ९९ लाख ८९ हजार २ सय २ रुपैयांँ बक्यौता रकम रहेको छ । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रका इन्जिनियर राजेन्द्र प्रसाद पौडेलले ६० दिनभित्र महसुल भुत्तानी नगर्ने अधिकांश ग्राहकको लाइन काटिएकोले अघिल्लो आव भन्दा यस आवमा कारवाही संख्या बढेको बताए ।
कालोपाटी ग्राहक संख्यामा बृद्धि
अघिल्लो आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षको आवमा कालोपाटीको संख्यामा समेत बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षमा २७१ ग्राहक कालोपाटीमा परेका थिए भने यस आवमा यो संख्या २ सय ८१ मा पुगेको छ ।
कालोपाटी ग्राहकबाट कार्यालयले गत आवमा ३ लाख ५६ हजार ९ सय ७१ रुपैयांँ असुल गरेको थियो भने यस आवमा त्यस्ता ग्राहकबाट ३ लाख ९० हजार ८ सय ९ रुपैयांँ रकम असुली भएको छ । हाल कालोपाटी ग्राहकबाट ७९ लाख ३९ हजार ६ सय ९० रुपैयांँ असुल्न बांँकी रहेको छ ।
कार्यालयले ६ महिना भन्दा विद्युत बक्यौता नतिर्ने त्यस्ता ग्राहकलाई कालोपाटी ग्राहकमा राख्ने गरेको छ र सोही अनुसार सम्पर्क गरी बक्यौताको लागि ताकेता गर्ने गर्दछ । पु:न ताकेता गर्दा पनि ग्राहकहरुले अटेर गरेमा त्यस्ता ग्राहकहरुलाई सार्वजनिक सुचना निकाली कालोसुचिमा राख्ने गर्दछ ।भुक्तानी गरेपछी ग्राहको पुन लाइन जोडेर कालोसुचीबाट नाम हटाइने पौडेलले बताए ।
जिल्लामा ३ वटा वितरण केन्द्र छन । त्यसमध्ये भरतपुर वितरण केन्द्रले भरतपुर महानगरपालिका, इच्छाकामना गाउंँपालिका, आबुंँ खैरहनी, र तनहुंँ देवघाटका केही क्षेत्रहरुमा विद्युत विक्री गर्दै आएको छ । भरतपुर वितरण केन्द्रको हाल ६४ हजार ६ सय ८५ ग्राहक संख्या रहेको छ।


