चितवनमा एक वर्षमा ४७३ जना मानिस हराए, ३८ अझै सम्पर्कबिहिन

चितवन – चितवनमा एक वर्षको अवधिमा चार सय ७३ जना मानिस हराएका छन् । गत आर्थिक वर्ष २०७८ – ७९ मा जिल्लाभरबाट चार सय ७३ जना हराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार हराउनेहरुमा सबै भन्दा धेरै महिला रहेका छन् । सो अवधिमा एक सय ९२ जना महिला हराएको प्रहरीको तथ्याङ्कमा छ । यस्तै हराउने मध्ये एक सय ५२ जना पुरुष, २७ बालक, ७९ बालिका र २३ जेष्ठ नागरिक रहेका छन् ।

हराएका मध्ये चार सय ३५ जना भने फेला परेका छन् । जसमा महिला एक सय ७३, पुरुष एक सय ३६, बालक २७, बालिका ७७ र २२ जेष्ठ नागरिक छन् । हराएका मध्ये ३८ जना भने बेपत्ता भएका छन् ।

वेपत्ता भएकाहरु अझै सम्पर्कमा आउन नसकेको चितवनका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । बेपत्ता भएकाहरुमा १९ महिला, १६ पुरुष, दुई बालिका र एक जेष्ठ नागरिक रहेका छन् ।

सम्पर्कमा नआएका ति व्यक्तीहरुको खोजीकार्य भइरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। उनीहरुको खोजीका लागि विभिन्न माध्यम प्रयोग गर्नुका साथै देशका अन्य प्रहरी कार्यालयहरुसँग समन्वय भइरहेको पनि उनले बताए ।

Forbes

यस अघि अघिल्लो आर्थिक वर्ष ०७७ – ७८ मा दुई सय ४ महिला, एक सय ५८ पुरुष, २६ बालक, ७९ बालिका र १६ जना जेष्ठ नागरिक गरी चार सय ८३ जना हराएको प्रहरीको तथ्याङ्कमा छ ।

उनीहरु मध्ये एक सय ९२ महिला, एक सय ३२ पुरुष, २६ बालक, ७७ बालिका र १३ जना जेष्ठ नागरिक गरी चार सय ४० जना फेला परेका थिए । १२ महिला, २६ पुरुष, दुई बालिका र तीन जेष्ठ नागरिक गरी ४३ जना अझै फेला परेका छैनन् ।

त्यस्तै गत आर्थिक बर्ष २०७६-७७ मा पाँच सय २७ जना हराएकोमा पाँच सय १६ जना फेला परेका थिए । ११ जना अझै फेला परेका छैन् ।

आर्थिक, पारिवारिक, घर झगडा, प्रलोभन, घरेलु हिंसा, उमेर नपुग्दै प्रेम र भागी विवाह , मानसिक रोगजस्ता कारणले मानिस घर छोडेर हिंड्ने गरेको प्रहरी नायव उपरीक्षक अधिकारिले बताए ।

कोही साथीको घर जान्छु त कोही बजार गएर आउँछु भनी बहाना बनाएर घरबाट निस्किने गरेको उनले बताए । यस्तै कोही स्कुलबाट घर नफर्किएको भनेर समेत निवेदन परेको उनले जानकारी दिए ।

स्थानीय स्तरमै रोजगारीको अवसर, पारिवारिक मेलमिलाप, परिवारमा एक अर्काको भावनाको कदर र महिलाहरुलाई आत्मनिर्भर बनाउन सके यस्ता घटना सामान्य न्युनिकरण गर्न सकिने उनको भनाइ छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु