ठोरी – सामाजिक सञ्जालमा अहिले एउटा तस्विर भाईरल भइरहेको छ । भाईरल भइरहेको उक्त तस्विर पर्साको ठोरी गाउँपालिकाको हो।
ठोरी गाउँपालिका ५ स्थित बाघमोर्चा खोलामा बनाईएको उक्त पुलको तस्विरमाथि सामाजिक सञ्जामा व्यङ्ग्य पनि भइरहेको छ । बाघमोर्चा बजार र बाघमोर्चा माईको मन्दिर जोड्ने झोलुङ्गे पुल तल पक्की पुल बनाईएको छ ।
जुन पुल यस अघिको स्थानीय सरकारको पालोमा बनेको हो । निवर्तमान गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठको पालामा बाघमोर्चा बजारबाट बाघमोर्चा माईको मन्दिर जोड्ने झोलुङ्गे पुलको तल ५० लाखको लागतमा उक्त पुल निर्माण भएको हो । जुन पुल १६ मिटर लामो छ ।
पक्की पुलमाथि झोलुङ्गे पुल एक सय ७ मिटरको छ । खोलाको चौडाई मात्रै पनि ४० देखि ४५ मिटर छ । तर पुलको लम्बाई भने जम्मा १६ मिटर । पुलले न बाघमोर्चा बजारलाई छुन्छ न त बाघमोर्चा मन्दिर पट्टीको भागलाई नै । बर्खाको समयमा दुई गाउँलाई जोड्न भनेर बनाइएको पुलले दुबै गाउँको कुनै पनि भागलाई छुदैन ।
स्थानीय सरकारकै बजेटमा गत वैशाखमा सम्पन्न स्थानीय तह चुनाव नजिकैँदै गर्दा निर्माण भएको उक्त पुल प्रयोगविहिन छ । उक्त पुलको बिषयमा निवर्तमान गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठ र वर्तमान प्रमुख लालबहादुर श्रेष्ठ फरक फरक प्रतिक्रिया दिन्छन् ।
गाउँपालिका अध्यक्ष श्रेष्ठ उक्त पुल सञ्चालन गर्न लायककै नरहेको बताउँछन् । निर्वतमान अध्यक्षले चुनावलाई लक्षित गरेर उक्त पुल बनाएको तर्फ उनी संकेत गर्छन् । निवर्तमान अध्यक्ष नेकपा माओवादी केन्द्रका हुन् भने हालका अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।
पुल प्रयोग गर्न लायक नै नभएकोले चालु आर्थिक वर्षमा गाउँपालिकाले बजेट नछुट्टाएको भनिएको छ । माओवादी केन्द्रबाट निर्वाचित अध्यक्षको कार्यकालमा निर्माण सुरु भएकै कारण एमालेबाट निर्वाचित अहिलेका अध्यक्षले बजेट नपारेको भन्ने पनि गाँईगुँई सुनिन्छ ।
पुलको दुबै तर्फ माटो भर्न बाँकी रहेको भनिएको छ । तर गाउँपालिका अध्यक्ष श्रेष्ठ प्रयोगमा आउन लायक नै नरहेको पुलमा माटो भर्न पनि सम्भव नरहेको दाबी गर्छन् । ‘त्यो म भन्दा अगाडिको अध्यक्षको पालोमा बनेको हो । त्यो चुनावको बेला बनेको हो । चालु पनि छैन । चल्ने अवस्थामा पनि छैन । चुनावको बेलाले साथीले के के गरे’, उनले भने ।
उनले अघि भने, ‘झलुङ्गे पुल छ, गाडीहरु जान गाह्रो भयो भनेर बनाएको रे । मैले पछि इन्जिनियरहरुसँग बुझ्दा त्यो त्यती लायक होला जस्तो छैन भने । मैले नि यसपाली बजेट हालिन । वार्डमा दिए ८० लाख । वार्डले माटो भर्ने भनिरहेको छ । त्यो सम्भव नै छैन ।’
निवर्तमान अध्यक्ष श्रेष्ठ आफ्नो पालोमा पुल निर्माण भएकै कारण अहिले गाउँपालिकाले बजेट नदिएको आरोप लगाउँछन् । ‘पिएलको पालोमा बनेकोलाई किन बनाउने भनेर गाउँपालिकाले यसपाली बजेट हालेन’, उनी भन्छन् । बर्खायाममा एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन चलाउन सहज होस् भनेर पुल बनाईएको उनको भनाइ छ ।
खोलामा उक्त १६ मिटरको पुल भए पर्याप्त हुने उनी बताउँछन् । त्यतीको चौडाई भएको खोलामा १६ मिटरको पुलले हुन्छ त भन्ने प्रश्नमा उनी भन्छन्,’भन्नेले जे पनि भन्छन्, तर त्यतीले पुग्छ । अरु ठाउँमा १० मिटरको त छ । यस्तो पुल ६० वटा बनाएका छौं ।’उनी उक्त पुल चुनाव लक्षित गरेर बनाईएको अस्वीकार गर्छन् । गत स्थानीय तह चुनाव भन्दा करिब पाँच महिना अघि नै पुल निर्माण गरिएको उनी बताउँछन् ।
तर ठोरी ५ का वडाध्यक्ष भने खोलामा कम्तीमा ४५ मिटर लामो पुल चाहिने बताउँछन् । खोलाको लम्बाई ४०-४५ मिटर मिटर भएकोले सोही अनुसारको पुल निर्माण हुनुपर्ने उनी बताउँछन् । ‘खोलाको चौडाई ४०-४५ मिटरको छ । पुल पनि ४०-४५ मिटरकै चाहिन्छ’, उनी भन्छन् । उनी पनि माओवादी केन्द्रबाट नै निर्वाचित भएका हुन् ।
खोलामा वर्खामा पानी ठूलै आउने उनी बताउँछन् । उनका अनुसार यस पटक गाउँपालिकाले बजेट नछुट्टाएकोले वडाले माटो भर्नका लागि १३ लाख छुट्टाएको छ । दुई फरक पार्टीबाट गाउँपालिका अध्यक्ष बनेकाहरुको टकरावले न उक्तको लम्बाई बढ्ने देखिन्छ न त बर्खामा प्रयोग गर्न मिल्ने गरी सञ्चालन गर्न नै ।


