चितवन उद्योग संघ भित्र मतगणना हुँदै, बाहिर व्यापारमा भ्याई नभ्याई

चितवन – चितवन उद्योग संघ परिसरमा स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ। मतगणनास्थल भित्र गणकहरु मत गन्न व्यस्त छन् ।

मतगणनास्थल बाहिर अप्सरा नेपाली पनि उत्तिकै व्यस्त छिन् । मतगणनास्थल बाहिर नतिजाको प्रतिक्षामा बसेका दलका कार्यकर्ता तथा शुभचिन्तकहरुलाई पानीपुरी र चटपट खुवाउन उनलाई भ्याईनभ्याइ छ ।

तनहुँँ घर भई हाल भरतपुर १० मा बस्दै आएकी ३२ वर्षीया अप्सरा मतगणनाको अवसर छोपेर उद्योग संघ परिसर बाहिर व्यापार गर्न आएकी हुन् । अप्सरा ठेलामा चटपट पानी पुरी बेच्दै हिंड्ने गर्थिन् ।

बेला बेला नगर प्रहरीबाट सास्ती पाउँथिन् । अहिले मतगणना सुरु भएदेखि उनलाई घाममा ठेला धकेल्दै हिंड्नुपरेको छैन । न त नगर प्रहरीदेखि डराउँदै व्यापार गर्नु नै परेको छ । गणनास्थल बाहिर एकै ठाउँमा बसेर उनी महानगरकै जनप्रतिनिधिका उम्मेदवारका समर्थकहरुलाई चटपट पानी पुरी खुवाएर राम्रो आम्दानी गरिरहेकी छन् ।

गणनास्थल बाहिरको माहोलले रमाइलो पनि लागिरहेको उनी बताउँछिन् । उनी गणना सुरु भएको दोस्रो दिनदेखि नै निरन्तर सोही स्थानमा व्यापार गरिरहेकी छन् । अहिले दिनमै चारदेखि पाँच हजारको व्यापार हुने गरेको उनी सुनाउँछिन् ।

Forbes

गणना दिन रात हुने भएकोले व्यापार पनि दिन रात उस्तै हुने गरेको उनी बताउँछिन् । ‘पहिला दिनको त्यस्तै १५ सय दुई हजार जतिको व्यापार हुन्थ्यो अहिले चार-पाँच हजार पुग्छ, उनी भन्छिन्, ‘सुरुको दिन यहाँ व्यापार गर्न पाईन्छ कि पाईदैन थाहा नभएर आईन । दोस्रो दिनदेखि बल्ल आएकी हुँ । यहाँ व्यापार नि राम्रो भएको छ । राति पनि बसेर चटपट पानीपुरी बेच्ने गर्छु ।’

भरतपुर १० कै २३ वर्षीय कुमार विक पनि पानी, जुस र काँक्रो बेच्न गणनास्थल बाहिर बस्छन् । पाँच वर्षदेखि फलफुल तरकारी बेच्दै आएका उनी होटल सञ्चालक पनि हुन् । तर मतगणना मौका छोपेर उनी पनि गणनास्थल बाहिर व्यापारमा व्यस्त छन् ।

बिहान ९ बजे नै उनी पानी, जुस र काँक्रो बोकेर गणनास्थल बाहिर आइपुग्छन् । मध्यरातको १२ बजेसम्म त्यही बसेर व्यापार गर्छन् । गणनाको रमाइलो माहोलसँगै राम्रै व्यापार भइरहदा उनी खुशी छन् । उनलाई सधैं यसरी नै व्यापार गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ।

अहिले पानी, जुस र काँक्रो बेचेर दैनिक पाँच हजारसम्मको व्यवपार हुने उनी सुनाउँछन् । अब आउने नयाँ जनप्रतिनिधिले व्यापार गर्ने राम्रो वातावारण बनाइदिए हुन्थ्यो भन्ने पनि उनलाई लाग्छ ।

भरतपुर ११ कि फुलमाया कुमाल पनि गणनास्थल बाहिर मकै पोल्दै बेच्ने गर्छिन् । बाटोमा कहिले तरकारी त कहिले मकै बेच्दै हिंड्ने उनी अहिले भने गणनास्थल बाहिर नै व्यापारमा व्यस्त छिन् ।

उनी पहिलो दिनदेखि नै यहाँ आएकी हुन् । उनी आउँदा यहाँ अरु कोही पनि थिएनन् । उनलाई देखेर यसरी नै व्यापार गर्ने अरु पनि थपिए । ‘सुरुको दिन यहाँ निकै भिड थियो । मकै पोलेर बेच्यौं, धेरैले खानु भयो । व्यापार नि राम्रो भयो,’उनी सुनाउँछिन् ।

पहिलो दिन नै तीन सय घोगा मकै बेचेको उनी बताउँछिन् । उनलाई छोरी अजिता र बहिनी सुशीलाले साथ दिन्छन् । अहिले पनि व्यापार राम्रो भइरहेको भन्दै उनी खुशी व्यक्त गर्छिन् । अहिले दैनिक तीनदेखि चार हजारसम्म आम्दानी हुने गरेको उनी सुनाउँछिन् ।

उनी यसलाई व्यापारसँग मात्र दाज्दिनन् । भोकाएकाहरुलाई भन्ने वित्तिकै मकै खुवाउन पाउदा धर्म पनि कमाए झै लाग्ने उनको विश्वास छ । नगरप्रहरीबाट समय समय खेप्नु पर्ने सास्ती सम्झिदै उनी निर्वाचित भएर आउने जनप्रतिनिधिलाई यसरी नै व्यापार गर्ने वातावरण मिलाइदिन आग्रह पनि गर्छिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु