चितवन राष्ट्रिय निकुञ्ज : ५ बर्षमा बन्यजन्तुको आक्रमणबाट ४७ को मृत्‍यु, १८५ घाईते

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। पछिल्लो समय मानिस र जनावर विभिन्न शिलशिलामा एक आपसका बासस्थानमा प्रवेश गर्दा त्यसले निम्त्याउने दुर्घटना र क्षति बढ्दो छ।

निकुञ्जको तथ्याङ्कले पछिल्लो ५ वर्षयता मात्रै वन्यजतुको आक्रमणबाट ४७ जनाको ज्यान गएको देखाउँछ । सोही अवधिमा बन्यजन्तुको आक्रमणबाट १ सय ८५ जना घाइते भएका छन् ।

चालु आर्थिक वर्ष २०७८ – ७९ को ६ महिनामा मात्रै बन्यजन्तुको आक्रमणबाट १०  जनाले ज्यान गुमाइसकेका छन् । यही अवधिमा ३६ जना घाईते भएका छन् ।

गत आव २०७७ – ७८ मा बन्यजन्तुको आक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । भने ४५ जना घाईते भएका थिए । यस्तै आव २०७६ – ७७ मा ९ जनाको मृत्यु तथा ३२ जना घाईते भएका थिए । बन्यजन्तुकै आक्रमणबाट आव २०७५ – ७६ मा ११ जनाको मृत्यु भएको छ भने ४० जना घाईते भएका थिए ।

आव २०७४ – ७५ मा बन्यजन्तुको आक्रमणबाट ५ जनाको मृत्यु तथा ३२ जना घाईते भएका थिए । ५ वर्षको तथ्याङ्कले चालु आवमा बन्यजन्तुको आक्रमणबाट हुने मानविय क्षति बढेको देखाउँछ ।

Forbes

निकुञ्जमा बन्यजन्तुको संख्या बढ्दै जानुका साथै वन जँगल वरपरका क्षेत्रमा मानिसहरुको वासस्थान बढ्दै जाँदा यस्ता घटना बढेको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन् । कतीपय अवस्थामा बन्यजन्तु आहाराको खोजीमा जंगलबाट निस्किदा मानिससँग जम्काभेट हुन गई आक्रमणमा पर्ने गरेको उनको भनाइ छ ।

“कतीपय अवस्थामा मानिसहरु घाँस दाउरा काट्न तथा माछा मार्न जंगल पस्दा बन्यजन्तुसँग जम्काभेट हुन्छ, उनी भन्छन्, कहिले काही बन्यजन्तु आहाराको खोजीमा निस्कदा पनि घटना घट्न सक्छ ।”

मानिसहरु अनेक बहानामा जंगल पस्दा यस्ता घटना घट्नुको सट्टा उल्टै बढ्दै गएको उनको भनाई छ । बन्यजन्तुको आनिबानीको बारेमा सचेत भएर अनावश्यक रुपमा जंगल प्रवेश नगर्ने हो भने यस्ता घटना कम गर्न सकिने उनी बताउँछन् ।

निकुञ्ज प्रशासनले पनि यस्ता घटना नियन्त्रणका लागि विभिन्न प्रयासहरु गरिरहेको उनको दाबी छ । घाँसे मैदान, पोखरी बनाएर बन्यजन्तुलाई जंगल बाहिर ननिस्कने वातावरण बनाउने प्रयास भइरहेको उनी बताउँछन् । यस्तै आसिसी वालहरु लगाउने काम पनि भएको उनी बताउँछन् ।

८ करोड भन्दा बढी राहात वितरण

निकुञ्जले बन्यजन्तुको आक्रमणबाट मानविय क्षति भएकाको परिवारलाई राहत उपलब्ध गराउँदै आएको छ । यस्तै निकुञ्जले बाली नालीमा पुगेको क्षतिको पनि राहत दिने गरेको छ ।

आव २०७४ – ७५ यता निकुञ्जले ८ करोड ३७ लाख ७९ हजार २१४ रुपैयाँ राहत वितरण गरेको छ । चालु आवमा बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएका तथा घाईते परिवार, पशुधन क्षति तथा अन्नबालीमा क्षति पुगेकालाई एक करोड ५५ लाख ७५ हजार २६४ रुपैयाँ राहात वितरण गरेको छ ।

यस्तै आव २०७७ – ७८ मा २ करोड ४ लाख ६१ हजार २९०, आव २०७६ – ७७ मा एक करोड ६९ लाख ५५ हजार ५९१ रुपैयाँ, आव २०७५ – ७६ मा १ करोड ५९ लाख ८२ हजार ५३० तथा आव २०७४ – ७५ मा १ करोड ४८ लाख ४ हजार ५३९ रुपैयाँ राहात वितरण गरेको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।

निकुञ्जले बन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई १० लाख, सामान्य घाइतेलाई २० हजार तथा गम्भीर घाईतेलाई २ लाखसम्म क्षतिपूर्ति उपलब्ध गराउदै आएको छ । शरिर अङ्गभङ्ग भएमा अथवा उपचारमा लाख भन्दा बढी लागेमा सम्पूर्ण खर्च सरकारले उपलब्ध गराउने व्यवस्था छ । यस्तै बन्यजन्तुले पशुचौपाया तथा अन्नबाली नष्ट गरेकाहरुको हकमा भने क्षति अनुसार राहात वितरण गरिने निकुञ्जले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु