ओमिक्रोनको जोखिमले चितवनमा कोरोना खोपप्रतिको आकर्षण बढ्यो

चितवन – नेपालमा ओमिक्रोन संक्रमण बढेसंगै चितवनमा कोरोनाविरुद्धको खोप प्रतिको आकर्षण पनि बढेको छ । केही साता अघिको तुलनामा अहिले कोरोना खोपप्रति आम नागरिकको आकर्षण बढेको हो ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभरका खोप केन्द्रमा अहिले खोप लगाउन आउनेको संख्या बढेको छ । पौष दोस्रो सातादेखि खोप लगाउन आउनेहरुको चाँप बढेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिईन् ।

जनस्वास्थ्य अधिकृत ढकालका अनुसार पौष पहिलो सातासम्म खोप लगाउन आउनेको संख्या न्युन थियो । तर कोरोना संक्रमण फेरि बढ्न थालेसँगै खोपप्रतिको आकर्षण पनि बढेको उनको भनाइ छ । “पछिल्लो तीन सातायता खोप लगाउन आउनेको चाँप बढेको छ, उनले भनिन्, ४ बजेसम्म खोप लगाउने समय भनिए पनि ५ बजेसम्मै खोप लगाउन आउनेको भिड हुन्छ ।”

भरतपुर महानगरपालिकामा पौषको पहिलो सातासम्म दैनिक पाँच सय जनाले खोप लगाउने गरेका थिए । अहिले खोप लगाउन आउनेको संख्या बढेर दैनिक दुई हजार पुग्ने गरेको छ ।अन्य पालिकामा पनि खोप लगाउनेको संख्या बढेको उनले बताइन् ।

अहिले सबै पालिकामा साताको एक दिन बिहीबार खोप अभियान सञ्चालन हुँदै आएको छ । खोप लगाउनेको संख्या बढेसंगै भोलिदेखि साताको दुई दिन सबै पालिकामा खोप कार्यक्रम चलाइने उनले बताइन् ।

Forbes

नेपालमा ओमिक्रोन देखा परेसँगै खोप लगाउने आउनेको संख्या बढेको स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले बताए । कोरोना संक्रमण बढेसंगै माघ ७ गतेदेखि सार्वजनिक स्थल, कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरिएकोले पनि खोपप्रतिको आकर्षण बढेको उनको बुझाई छ ।

यस्तै कार्यालयले १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिने तयारी गरिएको उनले बताए । केन्द्रबाट खोप आए लगत्तै १८ वर्ष भन्दा कम उमेरकालाई खोप कार्यक्रम सञ्चालन गरिने उनले बताए । “हामी तयारी भएर बसेका छौं, उनले भने, केन्द्रबाट खोप आउने बित्तिकै बालबालिकालाई खोप कार्यक्रम सञ्चालन गर्छौं ।”

चितवनमा हालसम्म १८ बर्ष भन्दा माथि उमेर समूहका ९० प्रतिशतले पहिलो मात्राको खोप लगाएका छन् । गत वर्षको माघ १४ गतेदेखि चितवनमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको हो ।

चितवनमा ६ लाख भन्दा बढीले लगाए कोरोनाबिरुद्दको खोप

चितवनमा हालसम्म ६ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्क अनुसार पुष २६ गतेसम्म जिल्लाभर ६ लाख ९० हजार ५५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

जसमध्य ३ लाख ७० हजार ५४४ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने ३ लाख २० हजार ९ जनाले पूर्णमात्रामा खोप लगाएका छन्। सबै भन्दा बढी भेरोसेल खोप लगाइएको छ ।

अहिलेसम्म २ लाख ३७ हजार ६०२ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने पूर्ण मात्रा १ लाख ९६ हजार ७२९ जनाले लगाएका छन् । त्यस्तै कोभिडसिल्ड/ एष्ट्राजेनिका पहिलो मात्रा ९२ हजार ४०५ जनाले लगाएका छन् भने कोभिडसिल्ड/ एष्ट्राजेनिका पूर्ण मात्रा ८२ हजार ८५३ जनाले लगाएका छ्न् ।

अमेरिकी सरकारले उपलब्ध गराउदै आएको जोन्सन एण्ड जोन्सन ३८ हजार ६७० जनाले लगाएका छन् । यो खोप एक मात्रा मात्रै लगाउने गरिन्छ । यस्तै १ हजार ८६७ जनाले फाईजर बायोएनटेक पहिलो मात्रा तथा १ हजार ७५७ जनाले पूर्ण मात्रा लगाएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु