मौरीपालनमा आकर्षित चितवनका किसान : थोरै लगानी, राम्रो आम्दानी

चितवन – भरतपुर महानगरपालिका २८ मेघौलीका बालकृष्ण अर्यालले २ दशक भन्दा बढी समय विदेशमा बिताए । रोजगारीका लागि भारतमा १५ र कतारमा सात वर्ष बित्यो । तर कमाई सोचेको जस्तो भएन।

विदेशी भूमिमा मरिमेट्दै काम गर्दा पनि कमाई अपेक्षित नभएपछि उनी स्वदेश फर्किने निर्णयमा पुगे । आफ्नै देशमा, आफ्नै माटोमा पसिना बगाउने निर्णय गरे । यसका लागि उनले रोजे मौरी पालन । कम लगानी र सानो क्षेत्रमा नै सजिलै मौरी पाल्न सक्ने भएपछि उनले यसैमा हात हाले ।

चितवनमा मौरी पालनमा राम्रो सम्भावना छ भन्ने उनलाई थाहा थियो । साथी भाईले मौरी पालन गरिरहेको पनि उनले प्रत्यक्ष देखेका थिए । त्यसैले उनलाई मौरी पालनप्रति आकर्षित गर्‍यो । २०७३ सालमा उनले बिएमएसएम मौरी फार्म खोले ।

उनले १६ हजार लगानीमा २ घार मौरी किनेर मौरी पालन सुरु गरे । थोरै लगानीबाट सुरु गरेको मौरी पालनबाट राम्रै फाईदा हुने देखेपछि उनले विस्तारै लगानी बढाउदै गए । ४५ वर्षिय अर्यालले अहिले ३० घार मौरी पालेका छन् ।

मौरीलाई तोरी, रुदिलो र चिउरी चुसाएर वर्षमा ६ पटकसम्म मह काट्छ्न । जसबाट वार्षिक सात क्विन्टलसम्म मह उत्पादन हुने गरेको उनी बताउँछन् । अहिले सबै खर्च कटाएर वार्षिक चार लाखसम्म मुनाफा हुन्छ ।

Forbes

व्यवस्थित तरिकाले मौरी पालन गर्न सके राम्रो आम्दानीको स्रोत बन्ने उनी बताउँछन् । “ध्यान दिएर व्यवस्थित तरिकाले मौरी पालन पेशामा लाग्यो भने राम्रो आम्दानी गर्न सकिन्छ, उनी भन्छन्, थोरै लगानीबाट पनि राम्रो कमाई गर्न सकिन्छ ।”

पूर्वी चितवनको खैरहनी नगरपालिका ४ का ५५ वर्षीय देव बहादुर बस्नेतले पनि मौरी पालन व्यवसाय सुरु गरेको १३ वर्ष भइसक्यो । उनले २०६५ सालमा ५० हजार लगानी गरेर १० घारबाट मौरी पालन सुरु गरेका थिए । अहिले उनी यही पेशाबाट राम्रो आम्दानी गर्छन् ।

थोरै लगानीमा राम्रो आम्दानी हुने देखेपछि उनी मौरी पालनमा लागेका थिए । खैरहनी ४ का वडा अध्यक्ष तथा नेपाल मौरीपालन महासंघका सदस्य समेत रहेका उनले अहिले करिब ४ कट्ठा जग्गामा २ सय ५८ घार मौरी पालेका छन् । उक्त घरबाट उनी वर्षमा आठ पटकसम्म मह निकाल्छन् ।

मौरी चरन जती राम्रो भए त्यती नै धेरै मह उत्पादन हुने उनी बताउँछन् । “राम्रो मौसम र चरनको राम्रो व्य्वस्था हुँदा वर्षमै ५ देखि ८ पटकसम्म मह निकाल्न सकिन्छ,” उनी भन्छन् ।

उनले वार्षिक ७५ क्विन्टल मह उत्पादन गर्छन् । यसबाट सबै खर्च कटाएर वार्षिक १५ लाख आम्दानी हुने उनी बताउँछन् । मौसमले साथ दिए र किरा नलागेको खण्डमा महको उत्पादन बढ्ने हुँदा आम्दानी पनि राम्रै हुने उनी बताउँछन् ।

उत्पादित मह पोखरा, काठमाडौं बिराटनगर, पर्सा, लगाएतका जिल्लामा बिक्री गर्छन् । उनले मौरी फार्ममा ३ जना कर्मचारी समेत राखेका छन् ।

रत्ननगर नगरपालिका १५ का ४२ वर्षीय रोशन पण्डित २५ बर्ष देखि मौरीपालनमा व्यवसायमा नै रमाइरहेका छन् । उनी १८ वर्षको सानै उमेरमा यो पेशामा लागेका हुन् । एसएलसी उतिर्ण भए लगत्तै उनी यो पेशामा लागेका थिए ।

रहरै रहरमा मौरी पालनमा लागेका उनी अहिले व्यवसायिक मौरी पालक किसान भएका छन् । गाउँमा अरुले राखेका मौरीका घार देखेर उनी रहरै रहरमा यो पेशामा लागेका थिए । उनी तोरी, चिउरी, रुदिलो, फापर र लिची चुसाएर पाँच प्रकारका मह उत्पादन गर्छन् । “गाउँमा अरुले मौरी पालेको देखेर, बाटो हिडदा घारहरु देखेर रहर रहरमै मौरी पाल्न सुरु गरे, उनी भन्छन्, तर अहिले व्यवसायिक रुपमै राम्रो मह उत्पादन हुन्छ । यतिका लामो समय मौरी पालन गर्छु र राम्रो आम्दानी गर्छु भनेर पहिला सोचेकै थिईन । गर्दा गर्दै राम्रै हुँदै गयो ।”

उनले १४ सयको लगानिमा २ घारबाट मौरी पालन सुरु गरेका थिए । अहिले उनले १५० घारमा मौरी पालन गरेका छन् । उनी वर्षमा ६ देखि ७ पटकसम्म मह निकाल्छन् । जसबाट वार्षिक ५० क्विन्टल मह उत्पादन हुन्छ । यसबाट सबै खर्च कटाएर वार्षिक १२ देखि १५ लाखसम्म आम्दानी हुन्छ । उनले उत्पादन गरेका मह चितवनसँगै, पोखरा र काठमाडौं पठाउँछन् ।

नेपाल मौरीपालक महासंघका अध्यक्ष रोशन पण्डितले मौरीपालनप्रति चितवनका किसानको मोह बढेको बताउँछन् । सानै क्षेत्रमा पनि थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सकिने भएकोले मौरीपालनप्रति किसानको आकर्षण बढेको उनको बुझाई छ ।

मौरीपालनमा पाउने अनुदान र तालिमले किसान थप आकर्षित भएको उनको भनाइ छ ।चितवनमा चार सय ५० भन्दा बढी मौरीपालक किसान छन् । जिल्लाभर १५ हजार भन्दा बढी मौरी घार रहेका छन् । जसबाट वार्षिक ६ सय मेट्रिक टन भन्दा बढी मह उत्पादन हुने गर्दछ ।

चितवनमा उत्पादित महको बजारमा माग उच्च छ । तर भारतबाट आयात हुने महका कारण भने यहाँका किसानलाई असर गरिरहेको छ । भारतबाट आयात हुने कम गुणस्तरका महमा कारण स्थानीय स्तरमा उत्पादित महले बजार मुल्य राम्रो पाउन नसकेको किसानहरुको गुनासो छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु