चितवनका बजारमा झिलिमिली बत्तीको अभाव

चितवन – तिहारलाई झिलिमिली बत्तीको पर्व भनिन्छ । तिहारमा सहर देखि गाउँ सम्म बत्तीले झिलिमिली हुने गर्दछ । झिलीमिली बत्तीले तिहारलाई छुट्टै रौनकता दिन्छ । तर यस पटकको तिहारमा चितवनका बजारमा भने झिलिमिली बत्तीको अभाव देखिएको छ ।

कोभिडका कारण पर्याप्त मात्रामा बत्तीको आयात हुन नसक्दा त्यसको प्रत्यक्ष असर बजारमा देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष आयात घटेको हो ।

विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष डोलराज न्यौपाने यस पटकको तिहारमा झिलिमिली बत्तीको आयत कम हुँदा चितवनसहित देशैभर अभाव देखिएको बताउँछन् । तिहारका लागि ३-४ महिना अघि नै सामान आयात गर्नु पर्नेमा यस पटक कोभिडले सम्भव भएन । यसैको असर अहिले बजारमा देखिएको उनी बताउँछन् ।

“तिहारको लागि ३ -४ महिना अघी देखी सामान मगाउनु पर्ने हुन्छ । सामान मगाउने समयमा कोभिड र लकडाउन भएको हुँदा आयात हुन सकेन, उनी भन्छन्, यही कारण अहिले झिलिमिली बत्तीको अभाव भएको हो ।”

तिहारका लागि ९० प्रतिशत झिलिमिली बत्ती चिनबाट आयात हुने गर्दछ । भारतीय बजारबाट १० प्रतिशत सामान मात्र आउँछ । कोभिडका कारण ठुलो मात्रामा आयात गर्ने जोखिम उठाउन नसकिएको उनको भनाई छ । आयात न्युन हुँदा बजारमा मुल्य उच्च भएको उनी बताउँछन् ।

Forbes

बिद्युतिय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नारायण खरेल बजारमा ग्राहकको माग अनुसार झिलिमिली बत्तीको सहज उपलब्धता नभएको बताउँछन् । आयात घटेर बत्तीको अभाव हुँदा ग्राहकहरुको माग पुरा गर्न नसकिएको उनको भनाई छ ।

उनको नारायणगढको सहिद चोकमा खरेल इलेक्ट्रोनिक्स पसल छ । अघिल्ला बर्षहरुमा तिहारका लागि चिनबाट सामान आयात हुने गर्दथ्यो । यस पटक भने कोभिडका कारण आयात नभएको उनी बताउँछन् । उनले गत वर्ष १५ लाखको सामान बिक्री गरेका थिए । यस वर्ष भने १० लाखको हारहारिमा मात्रै बिक्री हुने अनुमान छ ।

नारायणगढको सहिदचोकस्थित सौर्य इलेक्ट्रोनिक्स पसलकी सञ्चालक समिता अर्याल बजारमा झिलिमिली बत्तीको अभाव भएको बताउँछिन् । मुल्य उच्च भए पनि आयात न्युन हुँदा ग्राहकहरुको मागलाई पुरा गर्न नसकेको बताउछिन् ।

यस वर्षको तिहारका लागि उनले २ लाखको मात्र सामान ल्याएकी छन् । त्यो पनि पुरा आइपुगेको छैन । आएका सामानको पनि मुल्य उच्च छ । यस वर्ष झिलिमिली बत्तीहरुमा ५० प्रतिशतसम्म मुल्य वृद्धि भएको उनी बताउँछन् ।

“पहिले ४० रुपैयाँमा बेच्ने सामनको मुल्य अहिले खरिदमै ८० रुपैयाँ पर्न गएको छ । सबै सामानको मुल्य डबल बढेर आएको छ, उनले भनिन्, मुल्य उच्च हुँदा आयात भने न्युन छ । यसले व्यापारमा समस्या परेको छ ।” गत वर्ष तिहारमा तीन लाखको झिलिमिली बत्ती बिक्री गरेकी उनी यस वर्ष आयत कम हुँदा बिक्री पनि कम हुने अनुमान गरेको बताउछिन् ।

पूर्वी चितवन रत्ननगर नगरपालिका टाँडीस्थित बकुलर चोकमा जय श्री हरिहर बिजुली पसल सञ्चालन गर्दै आएका धुर्ब राज लामिछानेले यस वर्ष बजारमा रंगिन बत्तीको अभाव भएको बताउँछन् । बजारमा सामान अभाव हुँदा हानथाप नै हुने गरेको उनी बताउँछन् ।

“बजारमा सामनको अभाव छ । सबै व्यापारिको हानथाप छ, उनी भन्छन्, पसलमा सामान ल्याउन सकिएको छैन । ग्राहकले खोजे जती दिन सकिएको छैन ।” उनले पनि पसलमा यस बर्ष २ लाखको मात्र सामान ल्याएका छन् । गत वर्ष यही समयमा १० लाखको सामान ल्याएर बिक्री गरेको उनी सुनाउँछन् ।

गत वर्षको तुलनामा यस वर्ष बत्तीको आयात ६५ प्रतिशतले घटेको उनी बताउँछन् । आयात घटेकै कारण मुल्य पनि ५० प्रतिशतले आकाशिएको उनको बुझाई छ ।

परम्परागत पाला र मैनबत्तिको प्रयोग घट्दै गएपछी पछिल्लो समय झिलिमिको माग बढ्दै गएको छ । माटाका पाला, मैनबत्ती, केराको सुप्लामा बालिने कपासको बत्तीले गाउँसहर झिलिमिली हुने गर्दथ्यो । तर अहिले रंगिचंगी विद्युतीय बत्तीको प्रयोग नै बढ्दो छ ।
टिकाउ र सहज उपलब्ध हुने भएकाले झिलिमिली बत्तीको माग बढी हुने गरेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु